दोहा — पश्चिम एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार कतारको राजधानी दोहा पुगेका छन् । डोनाल्ड ट्रम्पलाई बोकेको विमान दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
एयर फोर्स वानबाट ओर्लेलगत्तै ट्रम्पले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीसँग हात मिलाए । ट्रम्प २१ औं शताब्दीमा कतारको भ्रमण गर्ने दोस्रो अमेरिकी राष्ट्रपति हुन् । यसअघि सन् २००३ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले कतारको भ्रमण गरेका थिए ।
खाडी क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा रहेको कतार ट्रम्पको पहिलो कुटनीतिक भ्रमणको प्राथमिकतामा परेको हो । उनले कतारी शेख अल-थानीसहित शीर्ष कतारी अधिकारीहरूसँग श्रृंखलाबद्ध बैठकहरू गर्ने बताइएको छ । दुई पक्षबीचको बैठकमा सैन्य सहयोग र क्षेत्रीय सुरक्षा एजेन्डा शीर्ष स्थानमा रहने अपेक्षा गरिएको छ ।
कतार इजरायल र हमासबीच विगतमा भएको युद्धविराम र शान्ति स्थापनाको प्रयासका लागि प्रयासरत एक प्रमुख मध्यस्थकर्ता हो । ट्रम्पको भ्रमणको क्रममा गाजा युद्धविराम प्रयासहरू पनि प्रमुखताका साथ प्रस्तुत हुने अनुमान लागिएको छ ।
साउदी अरबको राजधानी रियादबाट दोहाको यात्राका क्रममा ट्रम्पले पत्रकारसँग रूसी समकक्षी भ्लादिमिर पुटिन टर्कीए गएको खण्डमा युक्रेन वार्ताका लागि त्यहाँ जान इच्छुक रहेको बताएका छन् । ‘मलाई थाहा छ कि उनी म त्यहाँ भएको चाहन्छन्, र त्यो सम्भावना छ । यदि हामीले युद्ध अन्त्य गर्न सक्यौं भने म यसबारे सोच्नेछु,’ ट्रम्पले भने । 
बिहीबार टर्कीएमा हुने रूस-युक्रेन शान्ति वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भाग लिने अपेक्षा गरिएको छ ।
ट्रम्प चार दिने पश्चिम एसिया भ्रमणका क्रममा मंगलबार सायदी अरबको राजधानी रियाद पुगेका थिए । त्यहाँ उनले साउदी अरबसँग १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरे । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ ।
सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् । त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ ।
त्यस्तै, भ्रमणकै क्रममा सिरियामाथिको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरेका ट्रम्पले सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गरेका छन् । भेटका क्रममा ट्रम्पले अल-शारालाई इजरायलसँग सम्बन्ध सुधार्ने अब्राहम सम्झौतामा हस्ताक्षर गर्न र सिरियाली भूभागबाट सबै विदेशी आतंकवादीलाई लखेट्न सुझाव दिएका छन् ।
