अस्ताए 'विश्वकै गरिब राष्ट्रपति' होसे मुहिका

भनिन्छ, 'मुहिका आफू गरिबै रहे, उरुग्वेलाई धनी बनाए ।'

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Astae 'World's Poorest President' Hosea Muhika

काठमाडौँ — उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । पेपे नामले चर्चित उनी ८९ वर्षका थिए । पूर्वगुरिल्लासमेत रहेका मुहिका आफ्नो साधारण जीवनशैलीका कारणले 'विश्वकै सबैभन्दा गरिब राष्ट्रपति'का रूपमा समेत चिनिन्थे ।  उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति बनेका थिए । 

उरुग्वेका राष्ट्रपति यामाण्डु ओरसीले मुहिकाको निधनबारे जानकारी दिँदै एक्समा लेखेका छन्, 'तपाईंले हामीले जे दिनुभयो, त्यसका लागि र नागरिकप्रति तपाईंको गहिरो मायाका लागि धन्यवाद ।' मुहिकाको मृत्युको कारण नखुलाइए पनि उनी केही समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित थिए । 

५ वर्षे कार्यकालमा मुहिकाले राष्ट्रपति भवनमा नबसेर आफ्नै घरमा बसेर कार्यभार सम्हालेका थिए । उनी दुई कोठावाला घरमा बसे । उनी आफ्नो पारिश्रमिकको ९० प्रतिशत हिस्सा दान दिन्थे । पत्नीसँग मिलेर उनले फूलखेतीसमेत गरे । राष्ट्रपति हुँदासमेत कुवाबाट पानी भरेको र लुगा धोएका तस्बिरहरू सार्वजनिक भएका थिए । सादगीपूर्ण जीवनका पक्षपाती र उपभोक्तावादको कट्टर आलोचक थिए मुहिका । उनकै पालामा मनोरञ्जनात्मक उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने मुलुक बनेको थियो उरुग्वे । 

Astae 'World's Poorest President' Hosea Muhikaमोन्टेभिडियोको मध्यमवर्गीय परिवारमा हुर्किएका मुहिका राजनीति, पुस्तक र खेतमा काम गर्ने रुचि आमाबाट आएको बताउँथे । युवावयमा उनी उरुग्वेको परम्परागत राजनीतिक शक्ति नेसनल पार्टीमा आबद्ध थिए । सन् १९६० को दशकमा उनले तुपामारोस राष्ट्रिय मुक्ति आन्दोलन(एमएलएन-टी) बनाउन मुख्य भूमिका खेले । उक्त वामपन्थी सहरी गुरिल्ला समूहले आक्रमण, अपहरण र दुश्मनको सफाया अभियान चलायो । मुहिका भने आफूले कहिल्यै पनि कसैको हत्या नगरेको बताउँदै आएका थिए ।

क्युबाली क्रान्ति र अन्तर्राष्ट्रिय समाजवादबाट प्रभावित एमएलएन-टीले उरुग्वे सरकारविरुट गुप्त प्रतिरोधी अभियान चलाएको थियो । त्यसक्रममा मुहिका चार पटक पक्राउ परे । सन् १९७० मा उनलाई ६ पटक गोली लागेर पनि बाँच्न सफल भएका थिए ।  उनी दुई पटक जेलबाट समेत भागे । एक पटक  एमएलएन-टीका अन्य १०५ बन्दीसँग उनी सुरुङबाट भागेका थिए ।

सन् १९७३ मा सैनिक 'कु' का क्रममा उनलाई समेत बन्धक बनाइएको थियो । त्यसक्रममा उनी करिब १४ वर्ष जेलसमेत बसे । झन्डै एक दशकको सैनिक शासनपछि उरुग्वेमा १९८५ मा प्रजातन्त्र पुन:स्थापना भएको थियो । जेलमा रहेका बेला आफूमा पागलपन सवार भएको मुहिका बताउँथे । उनकै अनुसार बन्दीजीवनका क्रममा उनी कमिलासँग समेत कुरा गर्थे । जेलबाट छुट्दाको समय जीवनको सबैभन्दा खुसीको क्षण भएको उनी बताउँथे । 'राष्ट्रपति हुने कुरा त त्यो क्षणसँग तुलनै हुँदैन,' उनी भन्थे ।

Astae 'World's Poorest President' Hosea Muhikaजेलबाट छुटेको केही समय उनी उरुग्वेको ततल्लो सदन 'च्याम्बर अफ रिप्रेजेन्टेटिभ्स' र माथिल्लो सदन 'सिनेट' का सदस्यसमेत भए । सन् २००५ मा उनी वामपन्थी गठबन्धन 'ब्रोड फ्रन्ट' को सरकारमा मन्त्री बने । उनी सन् २०१० मा ७४ वर्षको उमेरमा राष्छ्रपति बनेका थिए । ल्याटिन अमेरिकी देशहरू ब्राजिलमा लुला डी सिल्भा, भेनेजुएलामा ह्युगो चाभेजजस्ता वामपन्थी नेताहरू राष्ट्रपति बन्दा मुहिकाको सत्तारोहणलाई समेत महत्त्वपूर्ण राजनीतिक घटनाका क्रममा हेरिएको थियो ।

राजनीतिक टिप्पणीकारहरूको भनाइमा मुहिकाले आफ्नै शैलीमा सरकार चलाए । कैयौं पटक त उनले व्यवहारिकता र साहसको परिचय दिए । उनको प्रशासनमा उरुग्वेको अर्थतन्त्र ५.४ प्रतिशत औसत वार्षिक दरले बढ्यो । उरुग्वेमा गरिबी र बेरोजगारी कम गर्न पनि उनले उल्लेख्य भूमिका खेले ।

Astae 'World's Poorest President' Hosea Muhikaभनिन्छ, 'मुहिका आफू गरिबै रहे, देशलाई धनी बनाए ।' उनकै कार्यकालमा त्यसैगरी सामाजिक सुधारका कानुनहरू जस्तै गर्भपतनलाई वैधानिकता, समलिंगी विवाहलाई मान्यताजस्ता प्रावधानले पनि उरुग्वेले वैश्विक ध्यान तान्न सफल भएको थियो । प्राय: क्याजुयल ड्रेसमा देखिने मुहिका आफैं १९८७ मोडेलको नीलो रंगको फक्सवागन बिटल चलाएर हिँड्थे ।

उनलाई सबैले संसारकै सबैभन्दा गरिब राष्ट्रपति भनिए पनि उनी भने अस्वीकार गर्थे । उनी भन्ने गर्थे, 'मलाई सबैभन्दा गरिब राष्ट्रपति भन्ने गर्छन् । तर म होइन । गरिब ती हुन जसले अझ बढी चाहन्छन् । उनीहरू अन्त्यहिन दौडमा छन् ।'  सन् २०२० मा उनले राजनीतिबाट सन्न्यास लिए पनि उरुग्वेमा भने उनी चर्चित व्यक्तिकै रूपमा थिए । गत वर्षको नोभेम्बरमा उनले बीबीसीसँगको अन्तर्वार्तामा भनेका थिए, 'हामीलाई थाहा छ कि मृत्यु अकाट्य छ । सायद यो जिन्दगीको नुनजस्तै छ ।'

-बीबीसीलगायत अन्तर्राष्ट्रिय समाचार माध्यमको सहयोगमा

कान्तिपुर

Link copied successfully