इस्लामाबाद — पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर)ले गत साता भारतसँग भएको सैन्य झडपमा पाकिस्तानकी सेना र वायु सेनाका ११ जना मारिएको जनाएको छ ।
मंगलबार जारी गरिएको आईएसपीआरको बयान अनुसार भारतसँग लडाइँका क्रममा एक स्क्वाड्रन लिडरसहित वायु सेनाका पाँच जना जवान मारिएको र ६ जना अन्य सैनिक पनि मारिएको बताएको छ ।
यी सबैको मृत्यु मे १० को भारतीय आक्रमणमा परी भएको हो । बयानअनुसार ६ देखि ७ मे को राति भारतको आक्रमणमा परी सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ । १२१ जना घाइते भएका छन् ।
घाइतेहरुमा पनि १० बालबालिका र २७ जना महिला रहेका छन् । चार दिनको लडाइँपछि भारत र पाकिस्तानले शनिबार युद्धविरामको घोषणा गरेका थिए ।
