काठमाडौँ — भारतीय आक्रमणमा सेनाका ११ जना मारिएको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स(आईएसपीआर) ले गत भारतको आक्रमणमा एक जना स्क्वाड्रन लिडरसहित वायुसेनाका ५ जनासहित ११ सैनिक मारिएको जनाएको हो ।
आईएसपीआरका अनुसार सबै जना मे १० मा मारिएका हुन् । सेनातर्फ ७८ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
त्यस्तै मे ६ र ७ मा भएको भारतीय आक्रमणमा ७ महिला र १५ बालबालिकासहित ४० जना मारिएको पनि पाकिस्तानी सेनाले जनाएको छ । त्यस्तै १२१ जना घाइते छन् ।
४ दिनको संघर्षपछि गत शनिबार भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको हो । भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल(सीआईएसएफ) का अनुसार द्वन्द्वमा भारतका ८ सुरक्षाकर्मी मारिएका छन् ।
' अप्रिल २२ मा जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो । त्यसपछि भारतले पाकिस्तानी भूमिमाथि आतंकवादी क्याम्पमा भन्दै अपरेसन सिन्दूर चलाएको थियो ।
