हमासले इजरायली-अमेरिकी बन्धक रिहा गर्ने

वैशाख २९, २०८२

एजेन्सी

Hamas to release Israeli-American hostages

जेरुसलेम — प्यालेस्टिनी समूह हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासका रूपमा इजरायली-अमेरिकी बन्धक एडान अलेक्ज्यान्डरलाई रिहा गर्ने बताएको छ ।

हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व (पश्चिम एसिया) भ्रमण अगाडि उनको रिहा गर्ने बताएको हो । ट्रम्पले मंगलबारदेखि उक्त क्षेत्रको भ्रमण गर्दैछन् । बीबीसीका अनुसार हमासले अलेक्ज्यान्डरको रिहाइसँगै मानवीय सहायताका लागि बाटो खुला हुने सम्झौतालाई सहज बनाउने उद्देश्य पनि राखिएको उल्लेख गरेको छ । 

गाजा ७० दिनदेखि इजरायली नाकाबन्दीमा छ । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार प्यालेस्टिनी सशस्त्र समूहले कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्ता गरिरहेका छन् । 

इजरायली प्रधानमन्त्रीको कार्यालयले भने कुनै पनि युद्धविरामका लागि प्रतिबद्ध नभएको बताएको छ । तर अलेक्ज्याण्डरको रिहाइका लागि ‘सुरक्षित कोरिडोर’ का लागि प्रतिबद्ध रहेको कार्यालयले जनाएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले लडाइँ तीव्र बनाउने तयारी अझै जारी रहेको र हमासमाथि सैन्य दबाबका कारण अलेक्ज्याण्डरको रिहाइ सम्भव भएको बताएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत अलेक्ज्याण्डरको रिहाइको पुष्टि गर्दै ‘सद्भावनामा चालिएको कदम’ भनेका छन् । तेल अभिभमा जन्मिएका तर अमेरिकाको न्यु जर्सीमा हुर्केका २१ वर्षीय अलेक्ज्याण्डरलाई प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा गाजा आक्रमणलगत्तै बन्धन बनाएको थियो । त्यतिबेला उनी गाजाको सिमामा रहेको एक एलिट इन्फन्ट्री युनिटमा सेवा गरिरहेका थिए । 

आक्रमणपछि बन्धक बनाइएका २ सय ५१ जनामध्ये ५९ जना अझै पनि अझै हमासको नियन्त्रणमा छन् । तीमध्ये एक नेपाली विपिन जोशीसहित २४ जना जीवित रहेको इजरायली प्रधानमन्त्रीको कार्यलयले जनाएको छ । बन्धक बनाइएकामा ५ जना अमेरिकी नागरिक रहेको र अलेक्ज्याण्डर मात्र जीवित रहेको विश्वास गरिन्छ ।

इजिप्ट र कतारले पनि संयुक्त विज्ञप्ति जारी गर्दै हमासले अलेक्ज्याण्डरलाई रिहा गर्न सहमति जनाउनु ‘वार्ताको टेबलमा फर्कनेतर्फ उत्साहजनक कदम’ भएको बताएका छन् । कतारमा अमेरिकासँगको वार्तासँग परिचित एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार ट्रम्पको आगमनअघि हमासको घोषणा सद्भावना संकेतको रूपमा गरिएको हो । 

अलेक्ज्याण्डरको परिवारले ५ सय ८३ दिन गाजामा बन्धकका रूपमा बिताएपछि एडान घर फर्किरहेको बताउँदै ‘कल्पना गर्न सकिने सबैभन्दा ठूलो उपहार पाएको’ जनाएका छन्  । 

एजेन्सी

Link copied successfully