भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको 'आतंक'

यस पटक सरकारले नै मिडियाका खबरको 'फ्याक्ट चेक' गरिदिएको छ । सरकार भनिरहेको छ कि- यो सही होइन, वास्तविकता यो हो ।

वैशाख २७, २०८२

उपेन्द्रराज पाण्डेय

India-Pakistan Conflict: TV Channel's 'Terror'

काठमाडौँ — 'पाकिस्तान पर फाइनल हमला सुरु', 'पाकिस्तान की राजधानी इस्लामाबाद पर कब्जा', 'आधा पाकिस्तान तबाह', 'जम्मू एयरपोर्ट से उडें भारत के फाइटर प्लेन', 'पाकिस्तान में घुसी भारतीय सेना' । पहलगाम घटनापछि भारत-पाकिस्तान द्वन्द्व चर्किँदै जाँदा भारतीय मूलधार भनिने टेलिभिजन च्यानलले चलाएका हेडलाइन हुन् यी । दुई छिमेकी मुलक भारत र पाकिस्तानबीच तनाव र शत्रुता बढ्दै गएको छ ।

तर युद्धभन्दा चर्को सुनिँदैछन् भारतीय टेलिभिजनहरू । त्यसो त पाकिस्तानी सञ्चारमाध्यम पनि उस्तै अफवाह फैलाउन उद्दत छन् । दुवैतर्फका सेना र विदेश मन्त्रालयले गर्ने नियमित ब्रिफिङ भरपर्दा र शान्त देखिन्छन् । तर मूलधार भनिने मिडियाले साइरन बजाउँदै पस्कने सनसनीपूर्ण समाचारले सर्वसाधारणलाई त्रसित मात्र बनाइरहेको छ ।

कुनैबेला पत्रकार रवीश कुमारले भनेका थिए, 'टेलिभिजन हेर्न छाड्नुहोस् ।' सन् २०१९ मा उनले भनेका थिए, 'यदि तपाईँ आफ्नो नागरिकता बचाउन चाहनुहुन्छ भने न्युज च्यानल हेर्न बन्द गरिदिनुहोस् । यदि तपाईँ लोकतन्त्रमा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् ।' एनडीटीभी छाडेर रवीश कुमार अफिसियल नामक युट्युब चलाएका रवीशले अहिले पनि उस्तै सन्देश दिएका छन् । उनी भन्छन्, 'टीभी नहेर्नुस्, सम्झना छैन कहिले भनेको थिएँ तर टीभी नहेर्नुस् ।'  हुन पनि टीभीले युद्धले नबढाएको ब्लड प्रेसर बढ्ने गरी बनावटी समाचार प्रसारण गरिरहेका छन् । 

India-Pakistan Conflict: TV Channel's 'Terror'

दुवै देशका मिडिया र सोसल मिडियामा एकपछि अर्को आक्रमणका झुट फैलाइएका छन् । जसले गर्दा सर्वसाधारणमा त्रास उत्पन्न भएको छ । वासिंटन पोस्टसँगको कुराकानीमा दक्षिण एसियाली मामिला विज्ञ माइकल कुगेलम्यान भन्छन्, सरकारतिर ढल्किएका भारतीय मिडियाहरूले ठूलो संख्यामा फर्जी खबर चलाएका छन् ।'  उनको यो भनाइ स्वाभाविक नै हो किनकि भारतमा प्रभावकारी र मूलधारका भनिने हिन्दी च्यानलहरूले नयाँदिल्लीले कराची बन्दरगाह ध्वस्त पारेकोदेखि इस्लामाबाद कब्जा गरेकोसम्म खबर चलाए । त्यति मात्र होइन केही मिडियाले पाकिस्तानी सेना प्रमुख असिम मुनिर पक्राउ पर्न सक्नेसमेत हल्ला फैलाए । अधिकांशले पत्याउनै नसक्ने खालका सूचना सम्प्रेषण गरेर झुट फैलाएको कुगलम्यानको टिप्पणी छ । 

त्यति मात्र होइन पाकिस्तान र भारत दुवैतर्फका मिडिया र सोसल मिडियामा भिडियो गेमका फुटेज पोस्ट गरेर अहिलेको द्वन्द्वका भिडियो भनेर दाबी गरिएको छ । जसको तथ्य जाँच अल्ट न्युजका सम्पादक मोहम्मद जुबैरले गरेका छन् । 

India-Pakistan Conflict: TV Channel's 'Terror'

यस पटक सरकारले नै मिडियाका खबरको फ्याक्ट चेक गरेको छ । सरकारले भनिरहेको छ कि, यो सही होइन वास्तविकता यो हो । मूलधारका भनिने भारतीय टेलिभिजनबाट 'इन्फर्मेसन'भन्दा बढी 'मिसइन्फर्मेसन'को बाढी देखिन्छ । फेक न्युजको बाढीकै कारण रक्षा मन्त्रालयले सबै च्यानल, डिजिटल प्लाटफर्म र सर्वसाधारणलाई एडभाइजरी नै जारी गरेको थियो । संवेदनशील र स्रोतमा आधारित भन्दै समाचार प्रसारण गर्दा सैन्य अभियान र व्यक्तिकै ज्यान जाने खतरा हुन सक्ने उक्त एडभाइजरीमा उल्लेख छ ।

कारगिल युद्ध, २६/११ मुम्बई आक्रमण, कन्दाहार अपहरण जस्ता घटनामा समयभन्दा पहिले वा अनियन्त्रित रिपोर्टिङ गर्दा चुनौती उत्पन्न भएको उदाहरण पनि मन्त्रालयले उल्लेख गरेको छ । यसअघि पनि भारतले युद्धको सामना गरेकै थियो । तर त्यतिबेला यस प्रकारले अफवाह नफैलाइएको अर्का पत्रकार औनिन्द्‍यो चक्रवर्तीको भनाइ छ । चक्रवर्ती लामो समय एनडीटीभीमा काम गरेर अहिले 'देसी डेमोक्रेसी' नामक युट्युब च्यानल चलाउँछन् । 'सम्पादन गरेर ठीक्क पारिए पनि कारगिल युद्धका दौरान ९० प्रतिशत स्टोरी विदेश मन्त्रालयको ब्रिफिङपछि मात्र प्रसारण हुन्थ्यो ।' 

India-Pakistan Conflict: TV Channel's 'Terror'

भ्रामक सूचनासहित अतिराष्ट्रवादी लाइनसहित मिडियाले समाचार सम्प्रेषण गरिरहेका छन् । मूलधारकै मिडियाले भ्रामक र नाटकीय समाचार प्रसारण गरिरहेका बेला भारत सरकारले भने ८ हजारभन्दा बढी एक्स (ट्विटर) एकाउन्ट ब्लक गर्न आदेश दिएको छ ।' द वायर'का अनुसार जसमा केही पत्रकार, मिडिया संस्थान र मानवअधिकारमाथि रिपोर्टिङ गर्ने एकाउन्ट छन् । 

पाकिस्तानी भूमिबाट भएको गोलीबारीमा मारिएका मौलवी कारी मोहम्मद इकबाललाई भारतीय टेलिभिजनले आतंकवादीको संज्ञा दिए । तर यसलाई स्थानीय र प्रहरीले खण्डन गर्न पर्‍यो। ४६ वर्षीय इकबाल जम्मू-कश्मीरका पुंछ जिल्लाको मदरसा जिया उल उलूममा शिक्षक थिए । एबीपी र जी न्युजजस्ता राष्ट्रिय च्यानलले 'मिट्टी में मिला मोस्ट वान्टेड आतंकी', 'मारा गया कारी मोहम्मद इकबाल' जस्ता हेडलाइन चलाए ।

India-Pakistan Conflict: TV Channel's 'Terror'

तर प्रहरीले यस समाचारलाई निराधार र भ्रामक बताएको छ । प्रहरीको बयानमा भनिएको छ, 'मृतक मौलाना मोहम्मद इकबाल स्थानीय समुदायमा एक सम्मानित धार्मिक व्यक्ति थिए र कुनै पनि आतंकवादी संगठनसँग उनको कुनै पनि सम्बन्ध थिएन । यस्तो संवेदनशील घटनाको गलत रिपोर्टिङले अनावश्यक भय उत्पन्न हुन्छ । साथै मृतकको गरिमा र शोक संतप्त परिवारको भावनाप्रति पनि अनादर हुन्छ ।' यस्ता झुटा खबर फैलाउने मिडिया संस्थान, पत्रकार र कोही व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने पनि प्रहरीको बयानमा उल्लेख छ । 

'द वायर' का संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले पनि भारतीय च्यानलहरूले भारतीय जलसेनाले कराची बन्दरगाह ध्वस्त गरेकोदेखि इस्लामाबाद कब्जा गरेकोसम्मका अफवाह फैलाएको बताउँछन् । 'वायर'लाई समाचार प्रकाशनकै कारण सरकारले शुक्रबार करिब १५ घण्टा ब्लक गरेको थियो । आफूहरूले संवैधानिक उत्तरदायित्व बहन गर्दै सत्य र तथ्यपरक समाचार प्रकाशन गरिरहेको वरदराजन बताउँछन् । 

India-Pakistan Conflict: TV Channel's 'Terror'

पत्रकार मात्र होइन, नेताहरूले पनि सर्वसाधारणलाई भ्रामक खबरबाट बच्न आग्रह गरिरहेका छन् । राष्ट्रिय जनता दलका नेतासमेत रहेका बिहारका पूर्वउपमुख्यमन्त्री तेजस्वी यादव भन्छन्, 'मिडियाका साथीहरूसँग हाथ जोडेर विनम्र प्रार्थना छ कि राष्ट्रिय सुरक्षासँग सम्बन्धित मामिलामा रिपोर्टिङ गर्दा भारत सरकारको दिशानिर्देश र नियमलाई अनुपालन गर्दै संवेदनशीलता, सावधानी र जिम्मेवारीको परिचय दिनुहोस । केही च्यानलले भ्युजकै लागि एनिमेटेड भिडियो र एआईको सहयोगमा फरक पत्रकारिता गरिरहेका छन् ।' 

India-Pakistan Conflict: TV Channel's 'Terror'

पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएपछि भारतले बुधबारदेखि 'अपरेसन सिन्दूर' चलाएको छ । दुई देशबीचको द्वन्द्वमा दुवैतर्फ मानवीय क्षतिसमेत भएको छ । बिहीबार मध्यरातिसम्म पाकिस्तानतर्फ ३१ र भारततर्फ १६ को मृत्यु भएको आधिकारिक जानकारी दिइए पनि त्यसपछिको संख्या के/कति छ भन्नेबारे भने अद्यावधिक गरिएको छैन । 

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully