कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीयको मृत्यु

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Three Indians killed in Pakistan Army firing in Kashmir

काठमाडौँ — पाकिस्तानी सेनाले प्रहार गरेको गोलीबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । 

समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको बताएका छन् । 

यता पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतीय आक्रमणमा दुई बच्चासहित सात जनाको मृत्यु भएको बताएका छन् । 

चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानलाई निशाना बनाइएको छ । भारतको आक्रमणलाई लिएर पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिएका छन् । उनले पाकिस्तानलाई यस आक्रमणको जवाफ दिने पूरा अधिकार भएको बताएका छन् । 

बुधबार बिहान भारतले पाकिस्तानका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ । 

अप्रेशन सिन्दूर नाम दिइएको आक्रमण जम्मू–कश्मीरको पहलगाममा २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully