पाकिस्तानमा भारतको आक्रमण : अहिलेसम्म के–के भयो ?

वैशाख २४, २०८२

एजेन्सी

India's attack on Pakistan: What happened so far?

काठमाडौँ — बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ । 

केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन् । 

यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ । 

अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन । १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलोपटक भारतका तीनै तहका सुरक्षा निकायले संयुक्त रुपमा काम गरिरहेका छन् । जसमा भारतीय सेना, नेभी र एअरफोर्स रहेका छन् । 

चीफ अफ डिफेन्स स्टाफ अनिल चौहानले दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् । भेटमा सुरक्षाका विषयमा चर्चा भएको थियो । 

इस्लामाबादमा सबै स्कुल–कलेज बन्द

पाकिस्तानको राजधानी इस्लामाबादमा सबै सरकारी र निजी स्कुल र कलेज बन्द गरिएको छ । यद्दपि पाकिस्तान सरकारले सबै निर्धारित परीक्षा तय भएकै समयमा हुने बताएको छ । 

यस्तै पाकिस्तानी सेनाले एलओसी र अन्तर्राष्ट्रिय सीमामा लगातार फायरिङ गरिरहेको छ । जम्मू–कश्मीरको केही क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परी ६ जना भारतीय नागरिकको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । 

यता पञ्जाबको सीमामा बीएसएफ हाई अलर्टमा रहेको छ । पाकिस्तानका तर्फबाट कुनै पनि गतिविधि भए त्यसको जवाफ दिन बीएसएफ तयार रहेको बताइएको छ । 

पाकिस्तानको एयर स्पेस बन्द

भारत पाकिस्तानबीचको ताजा अवस्थालाई मध्यनजर गर्दै पाकिस्तानले एयर स्पेसमा कुनै पनि फ्लाइट उडेका छैनन्  । यता भारतले पनि बढ्दो तनावलाई मध्यनजर गर्दै पाकिस्तानको सीमासँग जोडिएका राज्यमा उडान रद्द गरेको छ । 

भारतले सात राज्यका ११ एयरपोर्ट्समा फ्लाइट्स अप्रेशन बन्द गरेको छ । श्रीनगर,जम्मू, लेह, चन्डीगढ, बीकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगरमा सबै उडान रोकिएका छन् । यी विमानस्थल पाकिस्तानको सीमाबाट नजिक पर्छन् ।

एजेन्सी

Link copied successfully