भारतद्वारा पाकिस्तानमा आक्रमण, ९ आतंकवादी ठेगानामा निशाना, ३० को मृत्यु

वैशाख २४, २०८२

एजेन्सी

India attacks Pakistan, targets 9 terrorist addresses, kills 30

काठमाडौँ — पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । 

‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । 

पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । 

बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो । 

पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ । 

पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक्टर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीका अनुसार भारतले २४ वटा मिसाइल प्रहार गरेको छ । एएनआईका अनुसार उक्त अप्रेशन सिन्दूरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले मनिटरिङ गरेका थिए । 

भारतीय सेनाले पाकिस्तानी सैन्य ठेगानालाई निशाना नबनाइएको बताएको छ ।

एजेन्सी

Link copied successfully