इन्डियन आइडल पवनदीप कार दुर्घटनामा गम्भीर घाइते

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Indian idol Pawandeep seriously injured in a car accident

काठमाडौँ — इन्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन कार दुर्घटनामा परेका छन् । सोमबार बिहान  ३:४० बजे उत्तर प्रदेशको अमरोहामा दुर्घटनामा परेका उनी गम्भीर घाइते भएका छन् ।

कारमा सवार उनीसँगै दुई जना पनि घाइते छन् । उनी सवार कार पूर्ण रुपमा ध्वस्त भएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकाले उनीहरूलाई तत्काल दिल्ली रेफर गरिएको छ । 

पवनदीप आफ्ना दुई साथीहरूसँग उत्तराखण्डबाट दिल्लीतर्फ हिँडिरहेको बेला उनीहरू सवार एमजी हेक्टर कार अचानक अनियन्त्रित भई सडकको छेउमा उभिएको केन्टर गाडीमा ठोक्किएको थियो ।

प्रारम्भिक जानकारी अनुसार, कार चलाइरहेका ड्राइभरलाई एक्कासि निद्रा लागेपछि यो दुर्घटना भएको हो। घटनास्थलमा तुरुन्तै उद्धार कार्य सुरु गरिएको थियो । सबै घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याइएको थियो । 

पवनदीप राजन उत्तराखण्डको चम्पावतका हुन् । सन् २०१५ मा ‘द भ्वाइस इन्डिया’ जितेपछि उनको साँगीतिक यात्रा सुरु भएको हो । त्यसपछि उनले ‘इन्डियन आइडल सिजन १२’ को उपाधि जिते ।

उनले ट्रफीसँगै कार र २५ लाख रुपैयाँ नगद पुरस्कार पनि जितेका थिए । पवनदीप केही वर्षअघि प्रस्तुतिका लागि नेपाल पनि आएका थिए । 

कान्तिपुर

Link copied successfully