जर्मनीको एएफडी पार्टीको बचाउमा उत्रिए भेन्स र रुबियो

वैशाख २०, २०८२

एजेन्सी

Vance and Rubio came to the defense of Germany's AfD party

वासिङटन/बर्लिन — अमेरिकी उपराष्ट्रपति र विदेशमन्त्रीको कडा आलोचनापछि जर्मनीको विदेश कार्यालयले अल्टरनेटिभ फर डचल्याण्ड (एएफडी) पार्टीलाई दक्षिणपन्थी अतिवादीको रूपमा वर्गीकृत गर्ने निर्णयको बचाउ गरेको छ ।

शुक्रबार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले जर्मन कर्मचारीतन्त्रले बर्लिन पर्खाल पुनर्निर्माण गरिरहेको आरोप लगाएका थिए । त्यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एएफडीलाई अतिवादी पार्टीको संज्ञा दिएका थिए । एएफडी जर्मनीको गठबन्धन सरकारको मुख्य सहयोगी दल हो । 

एक असामान्य कदममा जर्मनीको विदेश कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी विदेशमन्त्री रुबियोलाई सिधै जवाफ दिएको छ । ‘हामीले हाम्रो इतिहासबाट सिकेका छौं कि दक्षिणपन्थी अतिवादलाई रोक्न आवश्यक छ,’ कार्यालयले लेखेको छ । 

अमेरिकी विदेशमन्त्री रुबियोले जर्मनीको राजनीतिक दलमाथिको निगरानी बढाउन अनुमति दिने घरेलु गुप्तचर एजेन्सीले गरेको वर्गीकरणको आलोचना गरेका हुन् । पछि उपराष्ट्रपति भेन्सले पनि सामाजिक सञ्जाल प्लेटफर्ममा उक्त कदमको आलोचना गरेका थिए । 

‘जर्मनीले भर्खरै आफ्नो जासुसी संस्थालाई विपक्षीहरूको निगरानी गर्न नयाँ शक्ति दियो,’ रुबियोले विदेश मन्त्रालयको आधिकारिक एक्स हेन्डलमा लेखेका छन्, ‘त्यो लोकतन्त्र होइन, यो भेषमा अत्याचार हो ।’ त्यस्तै उनले ‘हालैको चुनावमा दोस्रो स्थान हासिल गरेको लोकप्रिय एएफडी नभइ उसैले विरोध गरेको घातक खुला सीमा आप्रवासन नीति भएको’ उनको भनाइ छ । 

अन्तरिम राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा भर्खरै नियुक्त भएका रुबियोले अमेरिकी सहयोगीले ‘मार्ग उल्टाउनु पर्ने’ बताएका छन् । तीन घण्टा भन्दा लामो सवाल जवाफपछि जर्मन विदेश कार्यालय पछि हटेको थियो । 

‘यो लोकतन्त्र हो । यो निर्णय हाम्रो संविधान र कानूनको शासनको रक्षा गर्न गरिएको गहन र स्वतन्त्र अनुसन्धानको परिणाम हो । अन्तिम निर्णय स्वतन्त्र अदालतहरूले गर्नेछन्,’ कार्यालयले लखेको छ, ‘हामीले हाम्रो इतिहासबाट सिकेका छौं कि दक्षिणपन्थी अतिवादलाई रोक्न आवश्यक छ ।’

गुप्तचर संस्था बुन्डेसम्ट फर भेर्फासंग्स्चुट्ज (बीएफभी) ले पहिले नै एएफडीलाई तीन पूर्वी राज्यहरूमा दक्षिणपन्थी अतिवादीको रूपमा वर्गीकृत गरिसकेको थियो । ती राज्यमा एएफडीको लोकप्रियता सबैभन्दा बढी छ । तर पछिल्लो समय त्यो पहिचान सम्पूर्ण पार्टीमा विस्तार गरिएको छ । 

एएफडीले ‘समाजमा समान सहभागिताबाट केही जनसंख्या समूहलाई बहिष्कार गर्ने लक्ष्य राखेको छ,’ संस्थाले  विज्ञप्तिमा भनेको छ, ‘पार्टीले खासगरी मुस्लिम देशका नागरिकलाई जर्मन जनताको समान सदस्यको रूपमा मान्दैन ।’ नयाँ वर्गीकरणले अधिकारीलाई फोन अवरोध गर्न र जासुसमार्फत एएफडीको निगरानीका लागि अनुमति दिने बताइएको छ ।  

पार्टीका अध्यक्षद्वय एलिस वेडेल र टिनो चृपल्लाले उक्त निर्णय ‘स्पष्ट रूपमा राजनीति प्रेरित र जर्मन लोकतन्त्रमाथिको गम्भीर प्रहार’ भएको बताएका छन् । त्यस्तै पार्टीका संसदीय उपनेता बिट्रिक्स भोन स्टोर्चले उक्त आरोपले ‘एक अधिनायकवादी राज्य र एक तानाशाहीले आफ्ना दलहरूलाई कसरी व्यवहार गर्छ’ भन्ने प्रस्ट पारेको बताएका छन् । 

गत फेब्रुअरीमा भएको संघीय चुनावमा एएफडीले दोस्रो स्थान हासिल गरेको थियो । ६ सय ३० सदस्यीय संसदमा पार्टीले २०.८ प्रतिशत मतसहित १ सय ५२ सिट जितेको थियो । अमेरिकी उपराष्ट्रपति भेन्सले चुनावको ९ दिन अघि वेडेललाई म्युनिखमा भेटेका थिए । उनले एएफडीका लागि समर्थन देखाउन म्युनिख सुरक्षा सम्मेलनको मञ्च समेत प्रयो गरेका थिए । 

त्यसक्रममा भेन्स कर्मचारीतन्त्रले पार्टीलाई नष्ट गर्न खोजिरहेको बताएका थिए । ‘पश्चिमले बर्लिनको पर्खाल सँगै भत्कायो । र यो पुनर्निर्माण गरिएको छ - सोभियत वा रूसीहरूले होइन, तर जर्मन स्थापनाद्वारा,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

सन् १९६१ मा बनेको बर्लिन पर्खालले शीतयुद्धको समयमा लगभग ३० वर्षसम्म पूर्वी र पश्चिम बर्लिनलाई अलग गरेको थियो । नयाँ बर्गीकरणसँगै अर्को साता संसद वा बुन्डेस्ट्यागमा रूढिवादी नेता फ्रेडरिक मर्जलाई चान्सलरको रूपमा पुष्टि गर्न मतदान हुनुभन्दा अगाडि एएफडीलाई प्रतिबन्ध लगाउनुपर्ने माग पुन: उठेको छ । मर्जले मध्य-वामपन्थी सामाजिक डेमोक्रेट्स (एसपीडी) सँगको गठबन्धन सरकारको नेतृत्व गर्नेछन् ।

एसपीडी नेता लार्स क्लिङबेलले हतारमा कुनै निर्णय नगरिए पनि सरकारले एएफडीलाई प्रतिबन्ध लगाउने विषयमा विचार गर्ने बताएका छन् । उनी मर्ज नेतृत्वको सरकारमा उप-चान्सलर र अर्थमन्त्री बन्ने अपेक्षा गरिएको छ । ‘तिनीहरू फरक देश चाहन्छन्, तिनीहरू हाम्रो लोकतन्त्रलाई नष्ट गर्न चाहन्छन् । र हामीले यसलाई धेरै गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले बिल्ड अखबारसँग भनेका छन् । 

एजेन्सी

Link copied successfully