नेपालद्वारा जलवायु परिवर्तनका प्रभावबारे विश्वको ध्यानाकर्षण

वैशाख १८, २०८२

लक्ष्मी लम्साल

Nepal draws the world's attention to the effects of climate change

बेइजिङ — नेपालले चीनको बेइजिङस्थित विभिन्न देशका प्रतिनिधिमाझ विश्वव्यापी जलवायु परिवर्तनका प्रभाव र हिमाली क्षेत्रको संरक्षणका लागि ध्यानाकर्षण गराएको छ ।

‘सिल्क रोड सिटिज अलाइन्स’ को सहयोग तथा चोङचिङ कृषि समूह, वान च्याङ वु च्ये इन्टरनेसनल कल्चरल एक्सचेन्ज लगायतका संस्थाहरूको सहभागितामा बेइजिङस्थित नेपाली दूतावासले मंगलबार एउटा बृहत् सेमिनारको आयोजना गरेर जलवायु परिवर्तनका प्रभावबारे ध्यानाकर्षण गराएको हो । 

कार्यक्रममा चीनका लागि सामाजिक प्रतिनिधि लिउ चनमिन, चीनका लागि जर्मन राजदूत प्याट्रिसिया हिलदेगार्ड फ्लोर, चीनस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सिद्धार्थ चटर्जीलगायतका विभिन्न देश तथा क्षेत्रका प्रतिनिधिका साथै चीन तथा नेपालमा कार्यरत नेपाली र विदेशी वैज्ञानिक, विज्ञहरूको सहभागिता थियो ।

सेमिनारमा भिडियो सन्देश प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सगरमाथा संवाद आयोजना गरेर जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन लागेको जानकारी दिए । उनले हिमाली क्षेत्र विश्व जलस्रोत तथा पर्यावरणको भण्डार भएकाले यसको संरक्षणमा नेपालले गरेका प्रयास तथा सबै मुलुकको हातेमालोको आवश्यकता औंल्याए । भने, ‘हिमाल नेपालको मात्रै होइन, विश्वकै सम्पदा हुन् ।’

नेपाल, चीन, भुटान, भारतलगायत राष्ट्रहरू हिन्दुकुश हिमाली क्षेत्रबाट गाँसिएर पर्यावरणीय सभ्यतासँग अन्तरसम्बन्धित भएको भन्दै प्रधानमन्त्री ओलीले हिमाल र नदी साझा मानवीय भाग्य भएकाले सहकार्य गर्नुपर्ने र भावी पुस्ताको भविष्यका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले वातावरणीय प्रभावका कारण हिमाली क्षेत्रको अवस्था खस्किँदै गएकाले यसतर्फ ध्यानाकर्षण गराउन नेपाल चिन्तित भएको बताए । नेपालको प्रकृति संरक्षण कोषका विज्ञ मनीष पाण्डेले ‘जलवायु संकेतको प्रतिक्रिया नीति तथा सगरमाथा डायलग’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

चाइनिज एकेडेमी अफ साइन्स, इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्चका एसोसिएटेड प्रोफेसर डीबी कट्टेलले तेस्रो ध्रुवमा जलवायु तथा हिउँले ढाकिएका क्षेत्रको पछिल्लो विविधताबारेको प्रारम्भिक अन्वेषण प्रस्तुत गरे । उनको कार्यपत्रअनुसार हिउँको आवरण प्रवृत्तिमा उच्च भिन्नता छ भने पूर्वी हिमालयको उत्तरी र दक्षिणी ढलानहरूबीच क्षयदर उच्च छ ।

विश्वव्यापी तापमान बढ्दै गएको भन्दै उनले काराकोरम वरिपरि वर्षा बढ्दै गएको तर पूर्वी हिमालयको दुवै छेउमा ब्रह्मपुत्र बेसिनको वरपर घट्दै गएको चर्चा गरे ।

कार्यक्रममा प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असरसम्बन्धी प्रस्तुति दिएका थिए । विभिन्न देशका विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा जलवायु परिवर्तनका क्षेत्रमा स्थानीय तथा परम्परागत बुझाइ, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीतिको खाँचोजस्ता विषयमा विभिन्न राष्ट्रहरूबीच संवाद र सहकार्यमार्फत साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गर्नुपर्नेमा जोड दिइएको थियो ।

सेमिनारको दोस्रो सत्रमा नेपालको जलवायु क्षेत्रमा लगानी विषयक प्रस्तुति समावेश गरिएको थियो । ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी निरौला, क्वाङ्चौका लागि नेपाली महावाणिज्यदूत भरत खनाललगायतले जलवायु लगानीका विभिन्न पाटोबारे चर्चा गरे ।

कार्यक्रमस्थलमा वृक्षरोपण गरेर पर्यावरण संरक्षणका लागि रूखको भूमिकाबारेमा सन्देश दिइयो भने पेन्टिङ तथा निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरियो । साथै चाइना मिडिया ग्रुपले जलवायुसम्बन्धी तयार पारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको सीएमजी नेपाली सेवाकी प्रमुख लिउ वन सुमेघाले जानकारी दिइन् ।

लक्ष्मी लम्साल

Link copied successfully