अस्ट्रेलिया — अस्ट्रेलियामा शनिबार संसदीय निर्वाचन हुँदै छ । यस निर्वाचनमा अहिलेको सत्तारुढ दल लेबर र प्रतिपक्षी दल लिबरल कोअलिसनको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचनमा सबै दलले जनताकेन्द्रित विभिन्न कार्यक्रमलाई आफ्नो मुख्य एजेन्डाका रुपमा प्रस्तुत गरेका छन् ।
अस्ट्रेलियाको तल्लो र माथिल्लो संसद गरी जम्मा २ सय २६ सिटका लागि मतदान हुँदै छ । तल्लो सदनमा जम्मा १ सय ५१ जना निर्वाचित हुने प्रावधान छ भने सिनेटमा ७६ जना चुनिनेछन् । अहिले सरकारमा रहेको दल लेबरले आफ्नो सरकारलाई अझ कम्तीमा ३ वर्षको कार्यकालका लागि चुन्न आग्रह गर्दै केही सातअघिदेखि नै चुनावी प्रक्रियालाई तीव्रता दिइसकेको छ ।
अर्कोतिर लिबरल कोअलिसनले लेबरको सरकारले जनताको मत जित्न नसकेको दाबीसहित आफूलाई निर्वाचित गराउन आग्रह गर्दै आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । यस वर्ष अस्ट्रेलियाको निर्वाचनमा स्वास्थ्य, बढिरहेको महँगी नियन्त्रण, आवास, अध्यागमन, चाइल्ड केयर, मानसिक स्वास्थ्य लगायतका विषय मुख्य एजेन्डाका रुपमा दलले अघि सारेका छन् । अस्ट्रेलियामा हरेक तीन वर्षमा संघीय निर्वाचन हुने गरेको छ ।
अस्ट्रेलियामा लेबरलाई अध्यागमनका विषयमा लिबरलका तुलनामा केही खुकुलो नीति ल्याउने दलका रुपमा चिनिन्छ । यद्यपि पछिल्लो समय वर्तमान लेबर सरकारले अध्यागमनसम्बन्धी विभिन्न नियम परिमार्जनसहित कडाइ गरिसकेको छ । यसका साथै अस्ट्रेलियामा हरेक नागरिकले नि:शुल्क रुपमा चिकित्सक जाँच पाउनका लागि दुवै दलले अर्बौं डलर बराबरका थप कार्यक्रमको घोषणासमेत गरिसकेका छन् । लेबरले यस कार्यका लागि थप ८ दशमलव ५ बिलियन डलरको घोषणा गरेको छ भने लिबरल कोअलिसनले समेत लेबरको उक्त कार्यक्रम बराबर नै स्वास्थ्यमा थप खर्च गर्ने बताएको छ । लेबरले आफू निर्वाचित भएमा हरेक वर्ष कर्मचारीलाई १ हजार डलर करमा छुट दिने घोषणा गरेको छ भने लिबरलले एक पटकलाई १ हजार २ सय डलरको कर छुट दिने जनाएको छ । यसैगरी गाडीमा प्रयोग हुने तेलमा छुट दिने लगायतका विभिन्न कार्यक्रमसमेत अघि सारेको छ ।
लेबरले अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ व्यवस्थित र नियन्त्रित बनाउने बताएको छ तर अहिलेसम्म ठोस कार्यक्रम सार्वजनिक गरिसकेको छैन । लिबरलले भने वार्षिक संख्यालाई १ लाख ६० हजारबाट १ लाखमा झार्ने उल्लेख गरेको छ । यसैगरी वार्षिक रुपमा दिइने स्थायी बसोबासका अनुमतिलाई १ लाख ८५ हजारबाट दुई वर्षका लागि १ लाख ४० हजारमा झार्ने र त्यसपछि क्रमिक रुपमा बढाएर १ लाख ६० हजार पुर्याउने जनाएको छ । त्यसका साथै लिबरलले विद्यार्थीको भिसा आवेदन शुल्कलाई पुन: बढाउने जनाएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अझ कडा नियम ल्याउने बताइए पनि त्यसको खाका भने सार्वजनिक गरिसकेको छैन ।
अस्ट्रेलियामा अहिले सत्तारुढ दल लेबरबाट ७७ जना निर्वाचित छन् भने विपक्षी दल लिबरल कोअलिसनको ५३ जना सांसद छन् । १३ जना स्वतन्त्र सांसद छन् भने अन्य साना दलका सांसद छन् । यसैगरी सिनेटमा सत्तारुढ दलका २५, विपक्षी दलका ३०, ग्रिन पार्टीका ११, स्वतन्त्र ४ र अन्य साना दलका सांसद छन् ।
अघिल्लो निर्वाचनमा सत्तारुढ दल लिबरल कोअलिसनले नराम्रो हार बेहोरेसँगै यसपटक पुन: आफ्नो सरकार निर्माणका लागि उक्त दल लागिपरेको छ । विपक्षी दलका नेता पिटर डट्टन र सत्तारुढ दल लेबरका नेता तथा प्रधानमन्त्री एन्थोनी अल्बानिजी केही सातादेखि हरेक राज्यका विभिन्न क्षेत्रमा पुगेर आफ्नो एजेन्डा जनतासमक्ष पुर्याउने प्रयास गरिरहेका छन् ।
नेपाली पनि उम्मेदवार
यसपटक नेपाली मूलका युवा विनोद पौडेलसमेत सिड्नीको म्याकाथर निर्वाचन क्षेत्रबाट लिबरलको तर्फबाट संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् ।
अघिल्लो निर्वाचनमा माइकल फ्रिल्यान्डरसँग सोही निर्वाचन क्षेत्रमा हार बेहोरेका उनी यसपटक निर्वाचित हुनेमा आशावादी छन् । लिबरल कोअलिसनको नीति लेबरको भन्दा राम्रो रहेका कारण आफू निर्वाचित हुने उनको दाबी छ ।
उनलाई जिताउनका लागि नेपालीले पहिल्यैदेखि चुनावी प्रचारप्रसारमा साथ दिइरहेका छन् । यदि उनले निर्वाचनमा जित हासिल गरेमा नेपाली मूलका पहिलो सांसदका रुपमा प्रतिनिधित्व गर्नेछन् ।
