अस्ट्रेलियाली संसदीय निर्वाचनमा विनोद पौडेल पुनः भिड्दै

वैशाख १६, २०८२

नारायण खड्का

Vinod Poudel again contesting in the Australian parliamentary elections

अस्ट्रेलिया — नेपालीको जनसंख्या बढेसँगै अस्ट्रेलियाको केन्द्रीय, राज्य र स्थानीय राजनीतिमा नेपालीको प्रभाव र पकड बढ्दै गएको छ । यस पटकको केन्द्रीय निर्वाचनमा नेपालीमूलका युवा विनोद पौडेल प्रमुख प्रतिपक्षी दल लिबरलका तर्फबाट संसदीय उम्मेदवारका रूपमा निर्वाचन लडिरहेका छन् ।

पौडेलले निर्वाचनमा जित हासिल गरेमा नेपालीमूलका तर्फबाट अस्ट्रेलियाली संसद्मा प्रतिनिधित्व गर्ने पहिलो सांसद बन्नेछन् । अस्ट्रेलियामा संसदीय निर्वाचन यही मे ३ तारिख शनिबार हुँदै छ । 

अहिले अस्ट्रेलियामा अनुमानित २ लाखभन्दा बढी नेपाली बसोबास गरिरहेका छन् । जसमध्ये यहाँ नागरिकता लिएका नेपालीको संख्यासमेत उल्लेख्य रूपमा बढिरहेकाले अस्ट्रेलियाका ठूला राजनीतिक दलको रोजाइमा नेपाली पर्न थालेका हुन् । पौडेल संघीय निर्वाचनमा संसदीय उम्मेदवार हुने पहिलो नेपाली भने होइनन् । यसभन्दा पहिले पश्चिम अस्ट्रेलियाबाट भुवन खड्का, सिड्नीबाटै प्रमेज श्रेष्ठले अस्ट्रेलियाका ठूला पार्टीका तर्फबाट निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका थिए । यसका साथै न्यु साउथ वेल्सस्थित राज्यको संसदीय निर्वाचनमा सिड्नीका एलेक्स कार्की लेबर उम्मेदवारका रूपमा केलिभिल निर्वाचन क्षेत्रबाट, ज्योसना पौडेल क्याम्पेलटाउन क्षेत्रका लागि लिबरल उम्मेदवारका रूपमा उठेका थिए भने स्नेहा केसी क्यानबेराबाट उम्मेदवार बनेकी थिइन् । अहिलेसम्म कसैले जित हासिल नगरे पनि अस्ट्रेलियाली राजनीतिमा नेपालीमूलका मानिसको उपस्थिति र पकड पछिल्लो समयमा बाक्लिँदै गएको छ । 

सिड्नीमा बसोबास गर्ने पौडेल यस पटक विपक्षी दल लिबरलका तर्फबाट म्याकाथर निर्वाचन क्षेत्रका लागि उम्मेदवार बनेका छन् । उनी यस पटक विजयी हुनेमा ढुक्क मात्र छैनन्, अस्ट्रेलियाली राजनीतिमा पहिलो नेपालीमूलको राजनीतिज्ञका रूपमा उदाउनेमा विश्वस्त छन् । हुन त पौडेल यही निर्वाचन क्षेत्रमा अघिल्लो पटकको निर्वाचनमा समेत उम्मेदवार बनेका थिए तर उनले विजय हासिल गर्न सकेनन् । उक्त निर्वाचन क्षेत्रमा अघिल्लो दुई कार्यकालदेखि नै निरन्तर विजयी बनिरहेका माइकल फ्रिल्यान्डरसँग करिब १७ हजार भोट अन्तरले पराजित भएका थिए । तर अहिलेको अवस्था तीन वर्षअघिको भन्दा फरक रहेको र आफूले जित हासिल गर्ने सम्भावना रहेको पौडेलले सुनाए । 

अहिलेसम्म कसैले पनि जित हासिल गर्न नसकेको भए पनि नेपालीमूलकाहरूले राजनीतिमा यो अवसर पाउनुलाई नेपालीको पकड बढ्दै गएका रूपमा विश्लेषण गरिएको छ । सन् २०१९ को निर्वाचनमा श्रेष्ठले तत्कालीन सत्तारूढ दल लिबरलबाट सिड्नीको बार्टन निर्वाचन क्षेत्रमा टिकट पाएका थिए । तर उनले पनि आदिवासी नेतृ लिन्डा बर्नीसँग करिब १४ हजार मतान्तरले पराजय भोगेका थिए । त्यसैगरी नेपालीमूलका युवा भुवन खड्काले तेस्रो ठूलो पार्टी ग्रिनबाट संसदीय निर्वाचन लडेका भए पनि जित हासिल गर्न सकेनन् । 

सन् २००० को सुरुवातदेखि बाक्लिएको नेपालीको प्रभाव करिब ३ दशकको अवधिमा नै यो अवस्थामा आइपुग्नुलाई अस्ट्रेलियमा ठूलो सामाजिक सफलताका रूपमा लिइएको छ । संघीय निर्वाचनमा मात्र नभएर अस्ट्रेलियाका विभिन्न राज्यका काउन्सिलमा समेत नेपालीले पकड बनाइरहेका छन् । विशेष गरेर नेपालीमूलका महिलाले यहाँका काउन्सिलमा सदस्यका रूपमा आफूलाई उभ्याउन सफल बनिसकेका छन् । अहिले दक्षिण अस्ट्रेलियामा रेणुका लामा, सिड्नीमा भद्र वाइबा र सुकृति भट्ट काउन्सिल सदस्यका रूपमा निर्वाचित भइसकेका छन् । 

पीआरपछि यहाँको नागरिकता लिएर मतदानको अधिकार लिने नेपालीमूलका मतदाताको संख्या बढेसँगै यहाँका प्रधानमन्त्री, प्रिमियर, विपक्षी दलका नेताहरूले नेपालीलाई विभिन्न विषयमा बधाई तथा शुभकामना दिने क्रमसमेत बढ्न थालेको छ । नेपाली नयाँ वर्ष, दसैंतिहार लगायतका पर्वको अवसर पारेर शुभकामना दिने क्रम सामान्य बन्न थालिसकेको छ । यसको मुख्य उद्देश्य नेपालीमूलका नागरिकसँग सम्बन्ध स्थापित गर्ने मात्र नभएर मतदातालाई आफूतिर आकर्षित गर्नेसमेत रहेको हुन्छ । 

एक दशकअघि यहाँको केन्द्रीय सरकारको सल्लाहकार सुझाव समितिमा रहेर काम गरिसकेका महेन्द्र लम्साल नेपालीको पकड र महत्त्व यहाँको राजनीतिमा बढ्नु अनौठो नभएको सुनाउँछन् । जनसंख्या बढेसँगै सम्बन्ध विस्तार हुनु र यहाँको राजनीतिक दलको प्राथमिकतामा बिस्तारै पर्नु सामान्य भएको उनको भनाइ छ । 

अर्कोतिर हरेक दिन एकाबिहानैदेखि मतदातासँग भोट माग्न हिँडिरहेका पौडेल भने यहाँका ठूला राजनीतिक दलले नेपालीमूलका युवालाई विश्वास गर्नु यहाँ रहेका नेपालीमात्र नभएर समग्र नेपालकै लागि गर्वको विषय भएको सुनाउँछन् । उनी आफूले जितेसँगै सबै समुदायका लागि काम गर्ने र नेपाल तथा अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध विस्तारमा पुर्‍याउन सक्ने सबै योगदान दिने सुनाउँछन् । 

क्यानबेरास्थित नेपाली राजदूत चित्रलेखा यादवसमेत नेपालीको बढ्दो राजनीतिक पकड र उपस्थितिलाई सकारात्मक र उल्लेखनीय भएको बताउँछिन् । उनी त नेपालीमूलका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने विचार व्यक्त गर्छिन् । ‘हाम्रो विचार र आस्था अलग हुन सक्छ तर अस्ट्रेलियाली राजनीतिमा प्रवेश पाउन सक्ने यो अवसरलाई सबैले मनन गरेर उम्मेदवारलाई सहयोग गर्नुपर्छ,’ उनले पहिलो नेपालीमूलको नागरिकलाई अस्ट्रेलियाको संसद्जस्तो स्थानमा प्रतिनिधित्व गर्ने अवसर आएको र यो नै महत्त्वपूर्ण भएको सुनाइन् । 

नारायण खड्का खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully