क्यानडेली प्रधानमन्त्रीले भने, 'अमेरिकासामु झुक्दैनाैं'

प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले संघीय निर्वाचनमा जित हात पारेको छ ।

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

Canadian Prime Minister said, 'We will not bow down to America'

काठमाडौँ — क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले क्यानडा कहिल्यै पनि अमेरिका सामु नझुक्ने बताएका छन् । संघीय निर्वाचनमा उनकाे लिबरल पार्टी विजयी भएलगत्तै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले आफ्नो भूमि, स्रोतसाधन, पानी र देश नै चाहिरहेको बताउँदै उनले भने 'त्यस्तो कुरा कहिल्यै र कदापि हुन दिने छैनौं ।' उनले यसअघिका चुनावी भाषणमा जस्तै यसपाला पनि अमेरिका र क्यानडाको सम्बन्धमा पछिल्लो समय देखा परेको बदलाहरुबारे पनि बोले । केन्द्रीय बैंकका पूर्वगभर्नर कार्नीले यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वले क्यानडामाथि ‘अँध्यारा दिन’को सुरूवात गरेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने कर वृद्धिका विषयमा उनले बारम्बार सार्वजनिक धारणा राख्दै आएका छन् ।सोमबार सम्पन्न निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले संघीय निर्वाचनमा जित हात पारेको छ ।

कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभ्रले भने आफ्नो संसदीय सिटसमेत गुमाएका छन् । राजधानी ओटावास्थित आफ्नै निर्वाचन क्षेत्रको सिट गुमाउनु पोइलिएभ्रको राजनीतिको ओरालो यात्राका रुपमा बुझिएको छ । जबकी केही महिना अघिसम्म उनी क्यानडाका भावी प्रधानमन्त्री बन्ने निश्चित उम्मेदवार मानिएका थिए । ट्रम्पले अमेरिका फस्ट भनेर चुनावी नारा तय गरेजस्तै पियर पोइलिएभ्रले चुनावमा क्यानडा फस्ट भन्ने नारा अघि सारेका थिए ।

कान्तिपुर

Link copied successfully