काठमाडौँ — यमनको राजधानी साना नजिकैका क्षेत्रमा पछिल्लो रात गरिएका अमेरिकी हवाई आक्रमणमा कम्तीमा ६८ जनाको ज्यान गएको छ । यी आक्रमणहरू हुथी समूहका मिसाइल र ड्रोन लक्षित रहेको अमेरिकाले दाबी गरेको छ ।
गत अप्रिल १८ मा रस इसा इन्धन बन्दरगाहमा लक्षित अमेरिकी आक्रमणमा पनि ७४ जनाको मृत्यु भएको थियो भने १ सय ७१ जना घाइते भएका हुथी समूहले जनाएको छ । जुन अहिलेसम्मकै सबैभन्दा घातक हमला मानिएको छ । बन्दरगाहमा इन्धन आपूर्ति बन्द गर्न र हुथीहरूको आर्जन स्रोत रोक्न आक्रमण गरिएको अमेरिकी सेनाले जनाएको छ ।
यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकी सेनाले एक महिनादेखि सैन्य अभियान चलाइरहेको छ । उक्त अभियानमा हालसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् भने त्यसमा सयौं हुथी लडाकु र नेताहरू मारिएको अमेरिकी सेनाको केन्द्रीय कमान्डले जनाएको छ । यद्यपि मारिनेको नाम भने सार्वजनिक गरिएको छैन ।
अमेरिकाका अनुसार, हुथी समूहले रेड सागरमा हुने अन्तर्राष्ट्रिय व्यापारिक जलयातायात र इजरायलमाथि हमला गरी क्षेत्रीय सुरक्षामा खतरा पैदा गरिरहेको छ । अमेरिकाले आफ्नो ‘स्वतन्त्र नौवहन अधिकार’ कायम राख्न र हुथीहरूको आक्रमणलाई रोक्न आफूले दबाब बढाइरहेको दाबी गरेको छ । त्यसैगरी, अमेरिकाले इरानलाई हुथी लडाकुलाई निरन्तर समर्थन गरिरहेको आरोप लगाएको छ । उसको केन्द्रीय कमान्डको वक्तव्यमा भनिएको छ, ‘इरानको समर्थनबिना हुथीहरूले निरन्तर हमला गर्न सक्दैनन् ।’
अमेरिकाले यो सैन्य अभियान रेड सागरमा रहेका ‘यूएसएस ह्यारी एस ट्रुम्यान’ र अरब सागरमा रहेका ‘यूएसएस कार्ल भिन्सन’ नामका दुई विमानवाहक युद्धपोतहरूबाट सञ्चालन गरिरहेको छ ।
सन् २०२२ मा यूएईको अबुधाबी नजिक हुथीहरूले गरेको मिसाइल र ड्रोन हमलाबाट तीन जनाको मृत्यु भएपछि हुथी र अमेरिका समर्थित गठबन्धनबीचको संघर्ष चर्किएको हो । युद्धले लामो समयदेखि यमनलाई मानवीय संकटमा पारेको छ । यहाँका लाखौं नागरिक खाद्य, पानी र स्वास्थ्य सेवाको अभावमा छन् ।
