तेहरान — इरानको राजी बन्दरगाहमा शनिबार भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ४६ पुगेको होर्मोजगन प्रान्तका संकट व्यवस्थापन निर्देशक मेहरदाद हसनजादेहलाई उद्धृत गर्दै इरना समाचार एजेन्सीले जनाएको छ ।
अधिकारीहरूले आगलागीमा एक हजारभन्दा बढी व्यक्तिहरू घाइते भएको बताएका छन् । हसनजादेहले अधिकांश घाइतेहरु उपचारपछि फर्किइएको तथा १३८ जना घाइतेहरू अझै अस्पतालमा उपचाररत रहेको उल्लेख गरेका छन् ।
इरानको सरकारी टेलिभिजनले आगलागीको फुटेज देखाउँदै आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि क्षतिको मूल्यांकन गरिने जनाएको छ । आगो निभाउनको लागि अग्निनियन्त्रण यन्त्र (दम्कल) तथा हेलिकोप्टर परिचालन गरिरहेको टेलिभिजन फुटेजमा देखाइएको छ ।
बन्दरगाहस्थित भन्सार कार्यालयले विस्फोटको स्पष्ट कारण एकिन नभए तापनि रासायनिक सामग्री भण्डारण डिपोमा आगलागी भएको हुन सक्ने जनाएको छ ।
इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् ।
सामाजिक सञ्जाल तथा सीसीटिभीमा देखाइएको भिडियोमा सानो आगो धुवाँका साथ घटना बिस्तारै सुरु भएको देखाइएको छ । गोदामको छेउमा केही कन्टेनरहरूबीचबाट सुरु भएको सानो आगोले ठूलो रुप लिएको देखाइएको छ ।
राष्ट्रपति मसूद पेजेस्कियनले अब्बासमा घाइतेहरूलाई भेट्न अस्पतालमै पुगेको जनाइएको छ । अधिकारीहरूले यस क्षेत्रका सबै विद्यालय तथा कार्यालय बन्द गर्न आदेश दिएका छन् भने बासिन्दाहरूलाई 'अर्को सूचना नभएसम्म' सुरक्षित रहन आग्रह गरिएको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाई–निकले यस क्षेत्रमा सैन्य इन्धन वा सैन्य प्रयोगका लागि कुनै आयात/ निर्यात नगरिएको बताएका छन् ।
रूसले आगो नियन्त्रणको लागि सहयोग गर्न विशेषज्ञहरू पठाएको छ ।
अधिकारीहरूले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका छन् भने बन्दरगाहको होर्मोजगन प्रान्तमा आइतबार देखि नै तीन दिनको शोक सुरु भएको छ ।
तेहरानमा आयोजित उच्चस्तरीय वार्ताका लागि ओमानमा इरानी र अमेरिकी प्रतिनिधिहरू भेटवार्ता गर्दै गर्दा विस्फोट भएको थियो ।
