पहलगाम घटनाका मृतकको सम्झनामा शोकसभा

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Mourning meeting in memory of the dead of Pahalgam incident

काठमाडौँ — जम्मु–कश्मीरको पहलगाममा गत मंगलबार भएको आतंककारी आक्रमणमा परी ज्यान गुमाएका २६ निर्दोष नागरिकको सम्झनामा काठमाडौंस्थित भारतीय दूतावासले शनिबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

उक्त आक्रमणमा एक नेपाली नागरिकको समेत मृत्यु भएको थियो । श्रद्धाञ्जली सभामा भारत–नेपालका उच्चस्तरीय प्रतिनिधि तथा राजनीतिक नेता उपस्थित थिए ।

‘हाम्रो साझा प्रतिबद्धता, शान्ति र सहअस्तित्वको मार्गमा यस्ता क्रूरतापूर्ण घटनाले कमजोर पार्न सक्दैन,’ सभाको उद्घाटन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भने, ‘हामी दुवै देश मिलेर आतंकवादलाई रोकेर आम नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्नेछौं ।’ उक्त शोक सभामा नेपालकी परराष्ट्रमन्त्री आरजू राणा देउवा, नेताहरू शेखर कोइराला, एनपी साउद, पूर्वपरराष्ट्र मन्त्री महन्थ ठाकुरसहित सुरक्षा र कानुनी मामिलाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । 

‘कार्यक्रममा पाकिस्तानी सेनाप्रमुखको अभिव्यक्तिले आतंकवाद उक्साउने, क्षेत्रीय तनाव बढाउने मात्र नभई आतंकवादलाई पनि प्रोत्साहन गर्छ,’ नेपालस्थित भारतीय दूतावासले भनेको छ । सभामा भारतीय दूतावासले उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्दै आतंकवादविरुद्धको साझा संघर्षमा नेपालसँगको स्थायी साझेदारी जारी रहने विश्वास व्यक्त गरेको थियो । परराष्ट्रमन्त्री राणा र राजदूत श्रीवास्तवले आपसी समझदारी, मानवअधिकार संरक्षण र शान्ति स्थापना पहललाई अझ तीव्रता दिने प्रतिबद्धता पनि दोहोर्‍याए ।

कान्तिपुर

Link copied successfully