रुसी प्रतिबन्ध हटाउने समाचार झूटो : मार्को रुबियो

वैशाख १३, २०८२

एजेन्सी

News of lifting Russian sanctions is fake: Marco Rubio

वासिङ्टन — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन सम्झौतासँग सम्बन्धित रुसमाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भएको भनी अमेरिकी मिडियामा हालै आएको एक रिपोर्टको खण्डन गरेका छन् । रुबियोले पोलिटिकोमा प्रकाशित समाचार ‘स्पष्ट रूपमा झूटो’ भएको बताएका छन् ।

पोलिटिको प्रकाशन ‘पत्रकारिता दुरुपयोग’ भएको दाबी गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो स्पष्ट रूपमा झूटो हो । स्टिभ विटकफ (अमेरिकी मध्यपूर्व विशेषदूत) र म दुवैले युक्रेनसँगको सम्झौताको हिस्साका रूपमा रुसविरुद्धको प्रतिबन्ध हटाउनेबारे कुनै वार्ता गरेका छैनौं । यो पत्रकारिताको दुरुपयोग हो ।’ पोलिटिकोले ‘काल्पनिक कथालाई पूर्ण रूपमा फिर्ता लिनुपर्ने’ उनको भनाइ छ । 

यसअघि स्रोत उद्धृत गर्दै पोलिटिकोले ह्वाइट हाउसले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने छलफलको एक हिस्साका रूपमा रुसको ‘नोर्ड स्ट्रिम–२’ प्राकृतिक ग्यास पाइपलाइन र युरोपमा सम्भावित अन्य रुसी सम्पत्तिमाथिको प्रतिबन्ध हटाउनेबारे छलफल गरिरहेको समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा रुसको प्राकृतिक ग्यास क्षेत्रलाई पश्चिमी युरोपसँग जोड्ने मुख्य पाइपलाइनमध्ये एकमा हाल लगाइएको प्रतिबन्ध हटाउने विषयमा अमेरिकी नीतिमा तीव्र परिवर्तन हुने उल्लेख छ । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरुमा ती प्रतिबन्ध हटाएका थिए । तर रुसले २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेसँगै ती प्रतिबन्ध पुनः लागू गरेका थिए । 

पोलिटिकोले उद्धृत गरेको स्रोतका अनुसार ह्वाइट हाउसका विशेषदूत स्टिभ विटकफले रुसविरुद्ध लगाइँदै आएका प्रतिबन्धहरू कम गर्न वकालत गर्दै आएका छन् । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता विटकफ 

तीन पटक रुसको भ्रमण गरिसकेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गरिसकेका विटकफले आगामी साता फेरि रुसको भ्रमण गर्दै छन् । 

हालै उनले रुससँगको वार्ताको एक हिस्साका रूपमा रुसमाथि लगाइएको अमेरिकी ऊर्जा प्रतिबन्धबारे विस्तृत सूची संकलन गर्न निर्देशन दिएका छन् । ‘नर्ड स्ट्रिम–१’ र ‘नर्ड स्ट्रिम–२’ बाल्टिक सागर हुँदै जर्मनीमा ग्यास ढुवानी गर्न निर्माण गरिएका दुई पाइपलाइन हुन् । तीमध्ये ‘नर्ड स्ट्रिम–१’ को ग्यास आपूर्ति २०२२ सेप्टेम्बरमा भएको विस्फोटका कारण अवरुद्ध भएको थियो । यसबारे अनुसन्धानमा जारी छ । तर केही रिपोर्टले युक्रेनी नागरिकहरूको सम्भावित संलग्नताको सुझाव दिएका छन् ।

एजेन्सी

Link copied successfully