हमलामा संलग्न तीन संदिग्धको पहिचान
काठमाडौँ — जम्मु–कश्मीरको पहलगाममा मंगलबार भएको आतंककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । पहाडको टुप्पोमा अवस्थित ‘मिनी स्विट्जरल्यान्ड’ का रूपमा परिचित स्थानमा पर्यटकहरू रमाइरहेका बेला मंगलबार आतंककारीले आक्रमण गरेका थिए ।
आक्रमणमा बुटवलका युवा सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको थियो । मारिनेमध्ये एक जना संयुक्त अरब इमिरेट्सका नागरिक छन् । अन्य मृतकहरू भारतको उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिस राज्यका पर्यटक हुन् ।
आक्रमणमा १७ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । आक्रमणपछि केही घाइतेलाई उपचारका लागि सुरुमा घोडामा बोकाएर लैजानुपरेको थियो । सुरक्षा बलहरू घटनास्थलमा आइपुग्नुअघि सबै आक्रमणकारीहरू भाग्न सफल भए । तिनीहरूको खोजी अभियान सुरु गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितका विश्व नेताहरूले घटनाको भर्त्सना गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले आतंकवादविरुद्ध लड्न आफ्नो देशले भारतलाई ‘सबै सहयोग’ गर्ने बताएका छन् । त्यस्तै, मौरिससका प्रधानमन्त्री नवीन रामगुलामले ‘आतंकवादविरुद्धको लडाइँमा एकताबद्ध रहेको’ बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणलगत्तै श्रीनगर पुगेका भारतीय केन्द्रीय गृहमन्त्री अमित साहले बुधबार घटनास्थलको अवलोकन गरेका छन् । मंगलबार नै कश्मीरको ठूलो सहर श्रीनगर पुगेका साहले सुरक्षा अवस्थाबारे आपत्कालीन बैठक राखेका थिए ।
साउदी अरबमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि भ्रमण छोट्याएर बुधबार बिहानै भारत फर्केका छन् । मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा हमलाको कडा शब्दमा निन्दा गरेका छन् । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपाल, अस्ट्रेलिया र मौरिससका प्रधानमन्त्रीसँग वार्ता गरेको उल्लेख छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले आक्रमणको निन्दा गर्दै ‘आतंकवादप्रति भारतको शून्य सहनशीलता नीति’ रहेको बताए । आक्रमणप्रति भारतका विपक्षी नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् । उनीहरूले प्रधानमन्त्री मोदीको सरकारमाथि गम्भीर सुरक्षा कमजोरीको आरोपसमेत लगाएका छन् ।
कंग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीले कश्मीरमा सामान्य अवस्था पुनःस्थापित भएको ‘खोक्रो दाबी’ गर्नुको सट्टा सरकारले घटनाको जवाफदेहिता लिनुपर्ने उनको भनाइ छ । कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले कश्मीरमा पर्यटकमाथि गरिएको आतंकवादी आक्रमण ‘मानवतामाथिको कलंक’ भएको बताए ।
राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले घटनालाई ‘पछिल्ला वर्षहरूमा सर्वसाधारणप्रति लक्षित सबैभन्दा ठूलो आक्रमण’ भनेका छन् । यो क्षेत्रका उपराज्यपाल मनोज सिन्हाले घटनास्थलमा सेना र प्रहरी परिचालन भएको बताएका छन् । घटनापछि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको र त्यस क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनलाई सुरक्षाकर्मीले जाँच गरिरहेका छन् ।
दक्षिणी राज्य तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले आक्रमणको निन्दा गर्दै यसलाई अन्तस्करणलाई हल्लाउने बर्बर कार्य’ भनेका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले आफ्नो राज्यका तीन पीडितको शव फिर्ता ल्याउन सबै कदम चालिरहेको बताएकी छन् ।
मंगलबारको आक्रमणप्रति भारतीय सेलेब्रिटीहरूले पनि सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । शाहरुख खान, अक्षय कुमार, आलिया भट्ट, विक्की कौशललगायतका अन्य कलाकारले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा हत्याको निन्दा गरेका छन् । ‘जब यस्ता घटना हुन्छन्, यसले हाम्रो साझा मानवतालाई नै असर गर्छ,’ भट्टले लेखेकी छन् । युवराज सिंह, सचिन तेन्दुलकर र शुभमन गिलजस्ता भारतीय क्रिकेटरले पनि त्रासदीमा शोक व्यक्त गरेका छन् ।
को हुन् आक्रमणकारी ?
भारतीय अधिकारीहरूले जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि आक्रमण गर्ने तीन संदिग्धको पहिचान गरेका छन् । भारतीय अधिकारीले घटनामा बाँच्न सफल भएकाको सहयोगमा तीन संदिग्धको स्केचसमेत तयार पारेका छन् ।
आक्रमणकारीहरू आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको अधिकारीहरूलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले जनाएको छ । पीटीआईका अनुसार उनीहरूको उपनाम मुसा, युनुस र आसिफ हो ।
आक्रमणकारीहरू जम्मुको किस्तवाडबाट सीमा पार गरेर दक्षिण कश्मीरको कोकरनाग हुँदै बैसरन पुगेको बताइएको छ । भारतीय अधिकारीहरूका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी) को छाया संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ ।
मुस्लिम समुदायको बाहुल्य भएको यो क्षेत्रमा साढे तीन दशकदेखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनामा केही कमी आएको थियो । जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकमाथि यस्तो ठूलो आक्रमण विरलै भएका थिए ।
भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेज गरेसँगै जम्मु–कश्मीरमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । तर हिंसाका घटना भने हुँदै आएका छन् । जम्मु–कश्मीरमा पछिल्लो पटक जुन २०२४ मा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दु धर्मावलम्बी चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा ९ जना मारिएका थिए ।
भारतले केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकमाझ जम्मु–कश्मीरका पहलगामसहितका क्षेत्रको प्रवर्द्धन गरिरहेको छ । सरकारी तथ्यांकहरूका अनुसार गत वर्ष ३५ लाख पर्यटकले जम्मु–कश्मीरको भ्रमण गरेका थिए ।
