पटना — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पहलगाममा गरिएको आतंककारी आक्रमणमा संलग्नहरू विश्वको कुनै पनि कुनामा गए पनि नछाड्ने चेतावनी दिएका छन् ।
‘म सारा विश्वलाई भन्छु, भारतले हरेक आतंकवादी र उनीहरूका समर्थकलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ,’ आक्रमणपछिको पहिलो सम्बोधनमा मोदीले भने, ‘हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनामा खोज्नेछौँ ।’
बिहार राज्यमा विकास परियोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले आक्रमणको योजना बनाउने र घटना घटाउनेलाई तिनीहरूको कल्पनाभन्दा बाहिरको सजाय दिइने बताए । ‘तिनीहरूले निश्चय नै यसको सजाय भुक्तान गर्नेछन् । एक अर्ब ४० करोड भारतीयको इच्छाशक्तिले यी आतंकवादीको मेरुदण्ड तोड्नेछ । आतंकवाद दण्डित हुने नै छ,’ उनले भने । न्याय सुनिश्चित गर्न हरेक प्रयास गर्ने मोदीको भनाइ छ ।
मंगलबार पहलगामनजिकैको ‘मिनी स्विट्जरल्यान्ड’ का रूपमा परिचित बैसरन उपत्यकामा पर्यटकहरू रमाइरहेका बेला आतंककारीले आक्रमण गरेका थिए । आक्रमणमा बुटवलका युवा सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको थियो । घटनामा १७ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतले बुधबार इस्लामाबादलाई ‘सीमापारि आतंकवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृंखलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाइसकेको छ । तर पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको र उक्त आक्रमण भारतको घरेलु समस्या रहेको बताएको छ ।
आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी) को छाया संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ । मुस्लिम समुदायको बाहुल्य भएको जम्मू-कश्मीर क्षेत्रमा साढे तीन दशकदेखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनामा केही कमी आएको थियो । जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकमाथि यस्तो ठूलो आक्रमण विरलै भएका थिए ।
भारत सरकारले सन् २०१९ मा कश्मीरको आंशिक स्वायत्तता खारेज गरेसँगै जम्मु–कश्मीरमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ । तर हिंसाका घटना भने हुँदै आएका छन् । जम्मु–कश्मीरमा पछिल्लो पटक जुन २०२४ मा सर्वसाधारण लक्षित आक्रमण भएको थियो । हिन्दु धर्मावलम्बी चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा ९ जना मारिएका थिए ।
भारतले केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकमाझ जम्मु–कश्मीरका पहलगामसहितका क्षेत्रको प्रवर्द्धन गरिरहेको छ । सरकारी तथ्यांकहरूका अनुसार गत वर्ष ३५ लाख पर्यटकले जम्मु–कश्मीरको भ्रमण गरेका थिए ।
