सादा जीवन रुचाउने व्यक्तिको छवि बनाएका उनले सामाजिक समावेशितालाई प्राथमिकता दिन्थे भने विपन्न वर्गलाई ध्यान दिन नसक्ने सरकारको कडा आलोचना गर्थे
काठमाडौँ — परम्परागत मान्यतालाई चुनौती दिँदै विश्वभरका क्याथोलिक चर्चको धारणा परिवर्तन गर्न सफल पोप फ्रान्सिसको सोमबार निधन भएको छ । रोमन क्याथोलिक चर्चको आध्यात्मिक नेताका रूपमा १२ वर्ष बिताएका पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको हो ।
पोप फ्रान्सिसले इस्टरका अवसरमा आइतबार शुभचिन्तकलाई अभिवादन गर्न भ्याटिकन बाहिर ह्वीलचेयरमा उपस्थित भएर धेरैलाई चकित पारेका थिए । त्यसको २४ घण्टा नबित्दै उनको निधन भएको हो । फ्रान्सिसको सोमबार स्थानीय समयानुसार बिहान ७ः३५ बजे कासा सान्टा मार्टा भवनस्थित निवासमा निधन भएको भ्याटिकनले जनाएको छ ।
‘आज बिहान ७ः३५ बजे रोमका विशप फ्रान्सिस पिताको घर फर्किनुभयो । उहाँको सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित थियो,’ अपोस्टोलिक चेम्बरका क्यामरलेन्गो कार्डिनल केभिन फारेलको जारी विज्ञप्तिमा उल्लेख छ, ‘उहाँले हामीलाई खासगरी गरिब र सीमान्तकृतहरूको पक्षमा निष्ठा, साहस र विश्वव्यापी प्रेमका साथ बाँच्न सिकाउनुभयो । प्रभु यशुको सच्चा चेलाका रूपमा उहाँको उदाहरणीय कार्यका लागि हामी पोप फ्रान्सिसको आत्मालाई परमेश्वरको असिम दयालु प्रेममा समर्पित गर्दछौं ।’
फ्रान्सिस फोक्सोको निमोनियाका कारण गम्भीर बिरामी परेका थिए । पाँच साता अस्पतालमा बिताएर उनी २३ मार्चमा डिस्चार्ज भएका थिए । त्यसपछि आराम गरिरहेका फ्रान्सिस इस्टरका अवसरमा आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेका थिए । त्यस क्रममा उनले परम्परागत ‘उर्बी एट ओर्बी’ (सहर र विश्वका लागि) विचारको स्वतन्त्रता र सहिष्णुताका लागि आह्वान गरेका थिए ।
पोप फ्रान्सिसको जन्म खोर्खे मारिओ बेर्गोग्लियोका रूपमा अर्जेन्टिना पुगेका इटालीका आप्रवासी परिवारमा भएको थियो । उनका आमाबाबु फासिवादबाट जोगिन पुर्ख्यौली देश इटाली छाडेर भागेका थिए । आमाबाबुका पाँच सन्तानमध्ये जेठा उनी बाल्यकालमै निमोनियाका कारण गम्भीर बिरामी भएका थिए । जसका कारण शल्यक्रिया गरेर उनको फोक्सोको एउटा भाग नै हटाउनुपरेको थियो । त्यसपछि उनले बाँकी जीवनभर संक्रमणको सामना गर्नुपर्यो ।
फ्रान्सिस रोमन क्याथोलिक चर्चको सर्वोच्च पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी हुन् । फ्रान्सिस सन् २०१३ मा पोपमा चयन भएको निर्णयले धेरैलाई आश्चर्यचकित बनाएको थियो । उनी दक्षिणी गोलार्द्ध (उत्तर–दक्षिण अमेरिका) बाट पहिलो पटक पोप चयन भएका थिए । सन् ७४१ मा सिरियामा जन्मेका पोप ग्रेगोरी तृतीयको निधनपछि गैरयुरोपेली व्यक्ति विशप अफ रोम चयन भएका थिएनन् ।
त्यसैगरी उनी सेन्ट पिटरको आसन सम्हाल्ने पहिलो जेजुएट पनि हुन् । रोमले ऐतिहासिक रूपमा नै जेजुएटहरूलाई शंकाको दृष्टिले हेर्ने गर्दथ्यो । फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट १६ औंले सन् २०१३ मा स्वेच्छाले पद त्यागेका थिए । उनी झन्डै ६ सय वर्षको अवधिमा स्वेच्छाले पद त्याग गर्ने पहिलो पोप थिए । त्यसपछि करिब एक दशकसम्म भ्याटिकन गार्डेन्समा दुई अवधि पोप रहेका थिए । उनी सन् १९९२ मा ब्युनस आयर्सका सहायक विशप र २००१ मा आर्कविशप बनेका थिए ।
पोपका रूपमा १२ वर्षको अवधिमा उनले थुप्रै नयाँ र नौला कामको सुरुवात गरे । सादा जीवन रुचाउने व्यक्तिको छवि बनाएका उनले ‘इकोनमी क्लास’ को टिकटमा हवाईयात्रा गर्थे । त्यसका साथै उनले प्रायः पादरीहरूले लगाउने जस्तो कालो गाउन नै लगाउने गर्थे ।
उपदेशहरूमा उनले सामाजिक समावेशितालाई प्राथमिकता दिन्थे र विपन्न वर्गलाई ध्यान दिन नसक्ने सरकारको कडा आलोचना गर्थे । पोपका रूपमा उनले इसाई धर्मअन्तर्गतका एंगिल्कन, लुथरन र मेथडिस्ट समूहसँग पनि काम गरे । उनले इजरायल र प्यालेस्टिनी नेतालाई शान्तिका लागि आह्वान गर्न प्रोत्साहित गरे ।
सन् २०२३ मा दक्षिण सुडानको धार्मिक यात्रा गरेका फ्रान्सिसले त्यहाँका नेतालाई द्वन्द्व अन्त्य गर्न आग्रह गरेका थिए । युक्रेन युद्ध भने उनले रुसलाई उक्साएको भन्ने रुसीको दाबीलाई स्वीकार गरे । तर रुस–युक्रेन युद्ध उदेकलाग्दो र क्रूर भएको भन्दै अन्त्य हुनुपर्ने बताए ।
राजनीतिक रूपमा भने उनले फोक्ल्यान्डमाथि दाबी गर्ने अर्जेन्टिना सरकारको समर्थन गरेका थिए । स्पेनी भाषा बोल्ने ल्याटिन अमेरिकीका रूपमा उनले अमेरिकी सरकारले क्युबासँग ऐतिहासिक सहमति गर्न चाहेका बेला मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरेका थिए ।
स्वैच्छिक मरण, मृत्युदण्ड, गर्भपतन, मानवअधिकार र पादरीको ब्रह्मचार्यका विषयमा भने उनले कुनै सम्झौता गरेनन् । यौनिकताका आधारमा चर्चले कसैलाई विभेद गर्न नहुनेमा उनी प्रस्ट थिए । तर समलिंगी जोडीले धर्मसन्तान ग्रहण गर्दा बालबालिकाविरुद्ध विभेद हुने उनको तर्क थियो । उनले ‘ईश्वरको योजना नष्ट गर्ने प्रयास’ भन्दै समलिंगीबीचको सम्बन्धलाई भने विवाह भन्न अस्वीकार गरेका थिए ।
कोभिड महामारीका बेला फ्रान्सिसले भाइरस फैलनबाट रोक्न सेन्ट पिटर्स स्क्वाएरमा उनको नियमित धार्मिक भेला बन्द गरेका थिए । त्यसका साथै उनले कोभिडविरुद्ध खोप लगाउने कार्य विश्वव्यापी दायित्व भएको बताउँदै उच्च मानवीय र नैतिक जिम्मेवारी प्रदर्शन गरेका थिए ।
समग्रमा उनी विश्वका सबैभन्दा लोकप्रिय सार्वजनिक व्यक्तित्वमध्ये एक बने । उनी नियमित रूपमा आवाजविहीनहरूको पक्षमा बोले, उपभोक्तावाद र व्यक्तिवादको विरोध गरे र अन्यायपूर्ण आर्थिक संरचनाहरू मानवअधिकारको उल्लंघन भएकामा जोड दिए । पोपका रूपमा भने उनले केही चुनौतीको पनि सामना गर्नुपर्यो । केहीले उनलाई बाल यौनशोषणसम्बन्धी मुद्दा टुंगो लगाउन नसकेको आरोप लगाए । उनको कार्यकालमा चर्चविरुद्ध लागेका बाल यौनदुराचारका आरोपले प्रमुखता पाए । उनले ढाकछोपका विरुद्ध ठोस कारबाहीको आह्वान गरे पनि बाल यौनदुराचारी पादरीबारे जानकारी नदिने विशपलाई सजाय दिन पर्याप्त कदम नचालेकामा आलोचना खेपे ।
अर्जेन्टिनाका क्रूर सैन्य शासनको नेतृत्व गर्ने जर्नेलको विरोध नगरेको र अर्जेन्टिनामा चलेको युद्धका बेला दुई पादरी अपहरणको घटनामा संलग्नता रहेको आरोप पनि लाग्यो । सन् १९७६ देखि १९८३ सम्म चलेको उक्त रक्तपातयुद्ध युद्धमा सैयौं मानिस मारिनुका साथै बेपत्ता भएका थिए । हजारौंलाई याताना दिइएको थियो ।
बेपत्ता पारिएका ती दुई पादरी पछि अचेत र अर्धनग्न अवस्थामा फेला परेका थिए । यातना दिइएका पादरीलाई चर्चले गरिब बस्तीमा काम गर्ने अनुमति दिएको थियो । तर उनले त्यो जानकारी सरकारी अधिकारीलाई नदिएको अभियोग लागेको थियो । तर उनले ज्यान जोगाउन देश छाडेर भाग्न खोज्ने धेरै मानिसलाई सघाएका थिए ।
पोप फ्रान्सिसको निधनमा विभिन्न देश तथा अन्तर्राष्ट्रिय समुदायले दुःख व्यक्त गरेका छन् । अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्पेन, आयरल्यान्ड, पोल्यान्ड, जर्मनी, न्युजिल्यान्ड, इजरायल, इजिप्ट, भारत तथा युरोपेली संघका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य नेताहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
(एजेन्सीको सहयोगमा)
