कसरी छानिन्छन् नयाँ पोप ?

वैशाख ९, २०८२

एजेन्सी

How is the new pope chosen?

काठमाडौँ — पोप फ्रान्सिसको निधन भएसँगै आइरिस-अमेरिकी कार्डिनल केभिन फारेल भ्याटिकनका कार्यवाहक प्रमुखको जिम्मेवारी पाएका छन् । पोप फ्रान्सिस ‘पिताको घर फर्किएको’ घोषणा गरिएसँगै फारेल ‘क्यामरलेन्गो (पोपको मृत्यु वा राजीनामापछि भ्याटिकन चलाउने व्यक्ति)’ को भूमिकामा छन् । 

पोप फ्रान्सिसले २०१९ मा उनलाई उक्त भूमिकाका लागि मनोनित गरेका थिए । अब उनी अर्को पोप चयन नभएसम्मका लागि यस पदमा रहनेछन् । यसको अर्थ उनले पोप फ्रान्सिसको अन्त्येष्टि लगायतका शताब्दी पुरानो शोक कार्यक्रममा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । 

सेन्ट पिटरको उत्तराधिकारी मानिने पोपले क्याथोलिक चर्चको नेतृत्व गर्छन् । उनका विश्वभर १ अर्ब ४० करोड  अनुयायी छन् । क्याथोलिकहरूले पोपको सम्बन्ध सीधै येशू ख्रीष्टसँग जोडिने विश्वास गर्ने भएकाले उनी आध्यात्मिक मार्गदर्शनको प्रमुख स्रोत बन्छन् । बाइबलसँगै पोपका दिक्षाले चर्चको विश्वास र अभ्यासलाई आकार दिन मद्दत गर्छन् । प्रोटेस्टेन्ट र अर्थोडक्स ईसाईहरू जस्ता अन्य ईसाई सम्प्रदायले भने उनको अधिकारलाई मान्यता दिँदैनन् ।

पोप फ्रान्सिसको अन्तेष्टिपछि उत्तराधिकारी चयन गर्न कार्डिनलहरूको सम्मेलन बोलाइन्छ । पोपको निधनपछि कम्तीमा १५ र बढीमा २० दिनभित्र सम्मेलन सुरू हुनुपर्छ । ९० भन्दा बढी देशका २ सय ५० भन्दा बढी कार्डिनल छन्, तर सम्मेलनमा ८० वर्षसम्मका १ सय ३५ ‘कार्डिनल निर्वाचक’ ले फ्रान्सिसको उत्तराधिकारी छान्छन् । तीमध्ये युरोपका ५३, एसियाका २३, ,ल्याटिन अमेरिकाका २१ अफ्रिकाका १८, उत्तर अमेरिकाका १६ र ओसेनियाका ४ कार्डिनल छन् । 

कार्डिनलहरू सिस्टिन च्यापलमा भेला हुन्छन् । यो माइकलएन्जेलोका प्रसिद्ध भित्तेचित्रहरूले सजिएको रेनेसाँ कालीन अद्भुत स्थल हो । कुनै एक उम्मेदवारले मतको दुई तिहाई प्राप्त नगरेसम्म बिहान र दिउँसो दुई-दुई गरी दिनको चारपटक मतदान हुन्छ । 

निर्णयमा नपुगेको खण्डमा उनीहरूले तेस्रो दिन पछि प्रार्थनाका लागि विश्राम लिन सक्छन् । त्यसबेलादेखि प्रत्येक सात मतदानमा अर्को विश्राम लिन पाइन्छ । यदि ३३ चरणमा पनि पोप निर्वाचित भएनन् भने सबैभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच मतदान हुन्छ । 

सम्मेलन केही दिनसम्म चल्नु सामान्य हो । जुन १२६८ मा सुरू भएको इतिहासकै लामो सम्मेलन ९ वर्ष ९ महिनासम्म चलेको थियो । तर समयसँगै प्रक्रियालाई गति दिन धेरै नियम परिवर्तन गरिएपछि २० औं शताब्दीको सुरुवातदेखि नै सम्मेलनको औसत लम्बाइ ३ दिन भएको छ । त्यसयता १९२२ को सम्मेलन पाँच दिनसम्म चलेको थियो । पोप फ्रान्सिस र उनका पूर्ववर्ती पोप बेनेडिक्ट सोह्रौं दुवै दुई दिन पछि निर्वाचित भएका थिए ।

मतदान सफल नभएसम्म कार्डिनलले बाह्य विश्वसँग सम्पर्क गर्न पाउँदैनन्  । त्यहाँ चिकित्सक, समारोहका मास्टर, कुक र सफाई कर्मचारीले मात्र प्रवेश पाउँछन् । उनीहरू पनि सम्मेलनसँग सम्बन्धित सबै कुराको गोप्यता राख्न बाध्यकारी हुन्छन् । 

प्रत्येक सत्रको अन्त्यमा मतपत्र च्यापलको एक स्टोभमा जलाइन्छ र त्यसको धुँवा ६० फिट अग्लो चिम्नीबाट निस्कन्छ । मतदान असफल भएको खण्डमा कालो धुवाँ निस्कन्छ भने सेतो धुवाँले नयाँ पोप निर्वाचित भएको संकेत गर्छ । तर धुँवा कालो वा सेतो बनाउन भने रसायनको प्रयोग गरिन्छ । 

फ्रान्सिसको अन्त्येष्टि शनिबार 

सोमबार निधन भएका पोप फ्रान्सिसको अन्त्येष्टी सोमबार हुने भएको छ । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा स्ट्रोकका कारण निधन भएको थियो । ब्रोन्काइटिसको समस्या देखिएपछि उनलाई १४ फेब्रुअरीमा रोमस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । तर पछि उनका दुवै फोक्सोमा निमोनिया देखिएको थियो । उनी २३ मार्चमा अस्पतालबाट डिस्चार्ज भएका थिए । 

सोमबार निधन भएका पोपको शव सान्टा मार्टा आवासको चर्चमा राखिएको छ । बुधबारदेखि अन्तिम दर्शनका लागि सेन्ट पिटर्स बेसिलिकामा सारिने बताइएको छ । उनको अन्त्येष्टि मिसा भ्याटिकनको सेन्ट पिटर्स बेसिलिकामा हुनेछ । त्यहाँ फ्रान्सिसका पूर्ववर्तीहरूको पनि अन्त्येष्टि गरिएको थियो । 

अन्त्येष्टि कार्यक्रममा विभिन्न विश्व नेताहरूले भाग लिने जनाएका छन् । अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, स्पेनी राजा फेलिप छैटौं, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, पोलिस राष्ट्रपति आन्द्रेज डुडा, ब्राजिली राष्ट्रपति लुइज इनासियो लुला डि सिल्भा, अर्जेन्टिनी राष्ट्रपति हाभिएर मिलेइ, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, जर्मन चान्सलर ओलाफ स्कोल्ज लगायतका राष्ट्र तथा सरकार प्रमुखले सहभागी हुने जनाइसकेका छन् । त्यसका साथै उनलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न विश्वका १ अर्ब ४० करोड क्याथोलिकहरू विभिन्न सहरमा भेला हुने अपेक्षा गरिएको छ ।

एजेन्सी

Link copied successfully