वासिङटन — यमनस्थित विद्रोही समूह हुथीविरुद्धको सैन्य कारबाहीको रणनीतिक योजनाबारे परिवारका सदस्यसँग गरेको च्याट बाहिरिएपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथ विवादमा तानिएका छन् ।
हेगसेथले यमनमा गर्न लागिएको अमेरिकी हवाई आक्रमणबारेका विवरण समाजिक सञ्जाल सिग्नलको समूहमा सार्वजनिक गरेका थिए । सिबिएस न्युजका अनुसार उक्त समूहमा उनकी पत्नी, भाइ र व्यक्तिगत वकिल सदस्य थिए ।
१५ मार्चमा पठाइएका सन्देशमा हुथीलक्षित आक्रमण गर्ने जिम्मेवारी दिइएको ‘एफ/ए-१८’ होर्नेट्सको उडान तालिका समावेश थियो । उक्त समूहमा हेगसेथकी पत्नी जेनिफर रहेकी छन् । फक्स न्यूजकी पूर्व निर्माता जेनिफर हाल रक्षा विभागको कुनै आधिकारिक भूमिकामा छैनन् ।
यसअघि वाल स्ट्रिट जर्नलले जेनिफर आधिकारिक विदेश यात्राहरूमा रक्षामन्त्रीसँग सामेल भएको र अन्तर्राष्ट्रिय नेताहरूसँग उच्च-स्तरीय बैठकमा भाग लिएको समाचार सार्वजनिक गरेको थियो । त्यसपछि उनको कडा आलोचना भएको थियो ।
त्यस्तै च्याट समूहमा हेगसेथका भाइ फिल हेगसेथ र रक्षामन्त्रीका लामो समयदेखिका व्यक्तिगत वकिल टिम पार्लाटोर पनि रहेका छन् । दुवै जना पेन्टागनमा पदमा रहेका भए पनि दुवैलाई रणनीतिक सैन्य योजनाबारे अग्रिम जानकारी आवश्यक नपर्ने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसअघि हेगसेथ सदस्य रहेको अर्को सिग्नल समूहमा गोप्य योजना सार्वजनिक भएको थियो । उक्त समूहमा ‘द एट्लान्टिक’का प्रमुख सम्पादक जेफ्री गोल्डबर्ग पनि सदस्य थिए । त्यसलगत्तै वरिष्ठ अधिकारीहरूले संवेदनशील सैन्य जानकारी कसरी ह्यान्डल गर्छन् भन्ने विषयमा व्यापक चासो र चिन्ता उत्पन्न भएको थियो ।
