अमेरिकामा विमान दुर्घटना, तीन जनाको मृत्यु

वैशाख ७, २०८२

सुदीप शिवाकोटी

Plane crash in US, three dead

अमेरिका — अमेरिकाको नेब्रास्कामा विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मध्यपूर्वी नेब्रास्का राज्यको स्थानीय समयअनुसार शुक्रबार व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिने सिसाना १८० मक मोडेलको सानो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार भएको दुर्घटनाबारे प्रहरीले शनिबार मात्र सार्वजनिक गरेको थियो । विमान नदीमा खसेर दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । ‘विमान प्लाट नदीको किनार यात्रा गरिरहेको बेला राति ८ बजेपछि फ्रेमन्ट सहरको दक्षिणतर्फ पानीमा खसेको थियो,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ । 

डज काउन्टी शेरिफ अफिसकी सर्जेन्ट ब्री र्फ्याङ्कले घटनाबारे पत्रकार सम्मेलन गर्दै घटना फ्रेमन्ट ओमाहाबाट करिब ४० माइल उत्तरपश्चिममा पर्ने र घटना भएको २४ घण्टाभित्रै विभिन्न उद्धार टोलीको सहयोगमा तीन जनाकै शव घटनास्थलबाट निकालिएको बताइन् ।

घटनाको अनुसन्धान भइरहेको र अनुसन्धान अधिकृतहरुले दुर्घटनास्थलको अवलोकन तथा विमानको प्रारम्भिक जाँच गरिसकेको संघीय उड्डयन प्रशासनले पनि जनाएको छ ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully