देहरादुनमा नौमती घन्काउँदै गोर्खाली

सेनाबाट अवकाश प्राप्त १२ जनाको टोली यति बेला देहरादुनका विभिन्न सभा समारोहदेखि चाडपर्वमा नौमती बजाउन पुग्ने गरेको छ

वैशाख ६, २०८२

भवानी भट्ट

Gorkhali singing Naumati in Dehradun

देहरादुन — भारत उत्तराखण्डको राजधानी देहरादुनमा बस्ने ६० वर्षीय केबी गुरुङले लामो समय हतियार चलाए । उनले ३० वर्ष नागा रेजिमेन्टका विभिन्न पदमा रही काम गरे । पुर्ख्यौली बागलुङ घर भएका गुरुङका तिनै हात अहिले नौमती बाजाका कर्नाल, भकुर, ढोलकी र झुम्कालगायतका बाजा बजाउन अभ्यस्त छन् । 

देहरादुनमा हुने विवाह, व्रतबन्ध, विभिन्न किसिमका चाडपर्व र कार्यक्रममा गुरुङको टोली नै नौमती बाजासहित पुग्छ । सबै जना एकनासको ड्रेसमा सजिएर उपस्थित हुन्छन् । ‘हाम्रो संस्कृति हो, यसलाई जगेर्ना गर्ने काम पनि हाम्रै हो,’ गुरुङले भने, ‘उमेर हुँदा सेनामा काम गर्‍यौं, अब संस्कृति जगेर्नामा लागिरहेका छौं ।’ गुरुङजस्तै नौमती बजाउने टोली अधिकांश अवकाश प्राप्त सैनिक नै छन् । 

विभिन्न रेजिमेन्टबाट अवकाश पाएका उनीहरू विभिन्न माध्यमबाट बाजा बजाउन सिकेर यसमा लागेका हुन् । कसैले कर्नाल बजाउन सिके, कसैले ढोलकी त कसैले भकुर । नजानेकाले युट्युब हेरेर पनि सिकेको गुरुङ बताउँछन् । ‘हामीले नेपालबाटै सामग्री ल्याएर बाजा बजाउन सिकेका हौं,’ देहरादुनमै बसोबास गर्नै ६६ वर्षीय गेसबहादुर गुरुङले भने, ‘यहाँ विभिन्न कार्यक्रम हुँदा हामीलाई आफ्नो मौलिक बाजा खड्कियो, त्यसपछि सबैले पहल गरेर विभिन्न सामग्री ल्यायौं र बजाउन पनि सिक्यौं ।’ अहिले विवाह, व्रतबन्धदेखि विभिन्न किसिमका चाडपर्व र मेला महोत्सवमा नौमती बजाउन उनको टोली पुग्ने गरेको छ । 

गेसबहादुरले लामो समय नागा रेजिमेन्ट रानीखेतमा काम गरे । १० वर्षअघि ५६ वर्षको उमेरमा अवकाश पाएपछि उनी नौमती बाजा बजाउने काममा लागेका हुन् । देहरादुनमा बसोबास गर्ने गोर्खालीहरूले विभिन्न खालका पर्वहरू मनाउने गर्छन् । ती पर्वका बेला सबै जना भेला भएर नौमती बजाउने गर्छन् । दसैंतिहारका बेला नालापानी किल्लामा मेला लाग्छ । उक्त मेलामा पनि यो टोली बाजासहित पुग्ने गरेको छ । 

Gorkhali singing Naumati in Dehradun

नौमती बजाउने १२ जनाको टोलीमा अवकाश प्राप्त सैनिक छन् । उनीहरू देहरादुनभरि पुग्ने गरेका छन् । ‘हामीहरूले यहीँ बजाउन सिक्यौं, अहिले यहीँ अरूलाई पनि सिकाउँदै छौं,’ क्याप्टेन शेरबहादुर पुनले भने, ‘हामीलाई त अलिअलि थाहा थियो, हाम्रा बालबच्चालाई नौमती बाजाबारेमा केही थाहा थिएन, अहिले उनीहरूले पनि यी बाजाका बारेमा थाहा पाएका छन् ।’

बुबा–बाजेका पालामा देहरादुन पुगेका उनीहरू आफ्नो परम्परागत संस्कृति जगेर्नामा लागेका छन् । तर अबको पुस्तालाई भने यसतर्फ खासै चासो छैन । त्यही भएर अवकाश प्राप्त सैनिकहरू एउटै चिन्तामा छन्, ‘हामीपछि नौमती कसले बजाउँछ ?’ उनीहरूका छोराछोरीहरू विभिन्न पेसा व्यवसायमा छन् । अधिकांश सेनामै भर्ती भएका छन् । उनीहरूलाई बाजागाजाप्रति कुनै रुचि छैन । विभिन्न कार्यक्रमका बेला देखे पनि सिक्ने इच्छा कसैले नगर्दा चिन्ता हुने गरेको शेरबहादुर बताउँछन् । ‘हामीले जेनतेन सिकेर बजाइरहेका छौं, यसपछि यति पनि देख्न पाइँदैन,’ उनले भने ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully