जेरुसलेम — इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ४८ घण्टामा कम्तीमा ९२ जनाको ज्यान गएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १५ जना महिला र बालबालिका छन् ।
अस्पताल कर्मचारीहरूका अनुसार मारिएकामध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए । दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिइरहेका थिए । इजरायलले नै मानवीय क्षेत्रको रूपमा तोकेको उक्त स्थानमा सयौँ विस्थापित बस्दै आएका थिए ।
पछिल्लो समय इजरायलले बन्धक रिहाईका लागि हमासलाई दबाब दिन आक्रमणमा तीव्रता दिएको छ । प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेसँगै गाजामा युद्ध चर्केको हो । ७ अक्टोबरको आक्रमणमा १ हजार २ सय जना मारिएका थिए । त्यसका साथै हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेका थिए ।
अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ । हमास र इजरायलबीच १९ जनवरीमा युद्धविराम सम्झौता लागू भएको थियो । युद्धविरामको अवधिमा हमासले ३३ इजरायली र ५ थाईलाई बन्धक मुक्त गरिसकेको छ ।
त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी रिहा भएका छन् । इरान–समर्थित समूह हमासको नियन्त्रणमा अझै ५९ जना बन्धक छन् । तीमध्ये नेपाली युवा विपिन जोशीसहित २४ जना जीवित रहेको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
हमासको आक्रमणसँगै इजरायलले सुरू गरेको जवाफी कारबाहीमा ५१ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । १ लाख १६ हजारभन्दा बढी मानिस घाइते भएका मन्त्रालयले जनाएको छ ।
युद्धले गाजाको करिब ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ भने करिब ६० प्रतिशत भौतिक संरचना नष्ट भएको छ । इजरायलले गाजामा ६ साताका लागि सबै खाना र मानवीय सामान ढुवानीमा प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसंघलगायत सहायता समूहहरूले इजरायलले गाजामा नाकाबन्दी गरेकोमा चेतावनी दिएका छन् ।
