आम्सटर्डम — गाजामा इजरायली आक्रमणणका कारण दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिरलाई यसवर्षको ‘वर्ल्ड प्रेस फोटो अफ द इयर’ घोषित गरिएको छ । प्यालेस्टिनी फोटोग्राफर समर अबु एलौफले न्युयोर्क टाइम्सका लागि खिचेको तस्बिरमा दुवै हात गुमाएका ९ वर्षीय बालक महमूद अजौरलाई देखाइएको छ । उनले मार्च २०२४ मा गाजा सहरमा इजरायलले गरेको हवाई आक्रमणका कारण हात गुमाएका हुन् ।
उपचारका क्रममा आफ्नो हात काटिएको महसुस भएपछि अजौरले आमालाई भनेका थिए, ‘म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु ?,’ विश्व प्रेस फोटो संगठनले जारी गरेको विज्ञप्तिमा एलौफले त्यो अजौरकी आमासँगको कुराकानीको सबैभन्दा कठिन कुरा भएको उल्लेख गरेका छन् ।
प्रतिष्ठित फोटो पत्रकारिताको ६८ औँ संस्करणको विजेता १ सय ४१ देशका ३ हजार ७ सय ७८ फोटोग्राफरका ५९ हजार ३ सय २० आवदेनबाट चयन गरिएको हो । ‘यो एउटा शान्त फोटो हो जसले चर्को स्वरमा बोल्छ । यसले एउटा बालकको अवस्था प्रतिबिम्बित गर्छ, पुस्तौँसम्म प्रभाव पार्ने व्यापक युद्धको पनि,’ वर्ल्ड प्रेस फोटोका कार्यकारी निर्देशक जौमाना एल जेइन खोरीले भनेका छन् ।
मार्च २०२४ मा इजरायली आक्रमणबाट भाग्दा अजजोर घाइते भएको संगठनले विज्ञप्तिमा जनाएको छ । ‘उनी आफ्नो परिवारलाई अगाडि बढ्न आग्रह गर्न फर्किएपछि, एउटा विस्फोटले उनको एउटा हात चुँडियो र र अर्को कामै नलाग्ने भयो,’ वर्ल्ड प्रेस फोटोले भनेको छ ।
निर्णायक समितिकी अध्यक्ष लुसी कोन्टिसेल्लोले ‘यो तस्बिरले बालकको जीवन बुझिन्छ र फोटो पत्रकारिताले के गर्न सक्छ भन्ने देखाउने’ बताइन् । कोन्टिसेल्लो फ्रान्सेली पत्रिका ले मोन्डेको साप्ताहिक पत्रिकाकी फोटोग्राफी विभागकी निर्देशक हुन् ।
विजेता फोटोग्राफर अबु इलुफलाई डिसेम्बर २०२३ मा गाजाबाट निकालिएका थिए । त्यसयता उनी कतारको राजधानी दोहामा बस्दै आएका छन् । प्यालेस्टिनी समूह हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेसँगै गाजामा युद्ध चर्केको हो । ७ अक्टोबरको आक्रमणमा १ हजार २ सय जना मारिएका थिए । त्यसका साथै हमासले २ सय ५१ जनालाई बन्धक बनाएर लगेका थिए ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयताका इजरायली आक्रमणमा ५१ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । १ लाख १६ हजारभन्दा बढी मानिस घाइते भएका मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताका आयोजकहरूले आप्रवासन र जलवायु परिवर्तनका मुद्दाहरूलाई प्रकाश पार्ने दुई वर्ल्ड प्रेस फोटो फाइनलिस्टको नाम पनि समावेश गरेका छन् । गेट्टी इमेजेजका लागि जोन मुरद्वारा खिचिएको कालो फोटोमा चिनियाँ आप्रवासीले अमेरिका–मेक्सिको सीमा पार गरेपछि आगोमा ज्यान तताइरहेको देखाइएको छ । त्यस्तै, मुसुक नोल्टेको पानोस पिक्चर्स, बर्था फाउन्डेसनका लागि खिचेको तस्बिरमा ब्राजिलको अमेजन क्षेत्रमा सुकेको नदी किनारामा खाना बोकिरहेको एक युवकलाई देखाइएको छ ।
वर्ल्ड प्रेस फोटो फाउन्डेसनले क्षेत्रीय विधाका विजेता पनि चयन गरेको छ । मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा गुमाए पनि शारिरिक सुगठन प्रतियोगिता जितेका तामाले सफालुको तस्बिर अफ्रिकाको एकल विधामा उत्कृष्ट बनेको छ ।
त्यस्तै, लेबनानको राजधानी बेरूतमा गरिएको ड्रोन आक्रमण हेरिरहेका स्थानीयको तस्बिर एसिया, चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पलाई गोली प्रहार गरिएको तस्बिर अमेरिका, रुसी आक्रमणपछि विस्थापित युक्रेनी बालिकाको तस्बिर युरोप विधामा उत्कृष्ट घोषित भएका छन् ।
