अमेरिकासँगको तनावबीच चीनद्वारा नयाँ व्यापार दूत नियुक्त

वैशाख ३, २०८२

एजेन्सी

China appoints new trade envoy amid tensions with US

बेइजिङ — अमेरिकी ‘भन्सार अवरोध र व्यापार धम्की’ ले विश्वव्यापी आर्थिक व्यवस्थामा गम्भीर प्रभाव पारिरहेको अधिकारीहरूले बताएसँगै चीनले अप्रत्याशित रूपमा नयाँ व्यापार दूत नियुक्त गरेको छ । 

बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि तथा वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नेछन् । यसअघ उनी चीनका पूर्वसहायक वाणिज्यमन्त्री तथा विश्व व्यापार संगठनका राजदूत थिए । 

चीनको पेकिङ विश्वविद्यालय र जर्मनीको युनिभर्सिटी अफ ह्याम्बर्गबाट कानुनमा डिग्री हासिल गरेका लीलाई वाङ सौवेनको उत्तराधिकारीका रूपमा चयन गरिएको हो । वाङले सन् २०२० मा चीन र अमेरिकाबीचको व्यापार सम्झौतासम्बन्धी वार्तामा भाग लिएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा लगाएको भारी करका कारण वासिङटनसँगको बढ्दो व्यापार युद्धमा बेइजिङ पछि हट्न अस्वीकार गरिरहेका बेला व्यापार वार्ताको नेतृत्वका लागि लीलाई छानिएको हो । 

चीनले पहिले नै सुस्त रहेको अर्थतन्त्रमा देखिने चुनौतिका लागि राजस्वको प्रमुख स्रोत निर्यातमा पर्ने प्रभावको लागि तयारी गरिरहेको छ । बेइजिङले बुधबार जनवरीदेखि मार्चसम्मको अवधिमा आफ्नो जीडीपी अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ । 

यो तथ्यांक आफैमा अपेक्षा गरिएको भन्दा बढी हो । तर यसले अमेरिकी भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १४५ प्रतिशत बनाउनुअघिको अवधिलाई प्रतिबिम्बित गर्दछ । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको पछिल्लो निर्णयले आगामी दिनमा आर्थिक पीडा निम्तले चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन् ।

वासिङ्टन र बेइजिङ दुवैले वार्ताका लागि खुला रहेको बताएका छन्, तर अहिलेसम्म त्यसका लागि कुनै कदम चालेका छैनन् । अब भने वार्ता भएको खण्डमा ५८ वर्षीय लीले प्रमुख भूमिका खेल्नेछन् । उनले पहिले जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उप-स्थायी प्रतिनिधिको रूपमा काम गरेका थिए र वाणिज्य मन्त्रालयमा धेरै प्रमुख पदहरू सम्हालिसकेका छन् ।

एजेन्सी

Link copied successfully