वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् । ट्रम्पले खासगरी चिनियाँ आयातलाई लक्ष्य गरी आयात कर आक्रमण सुरू गरेयता विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव बढेको छ । चीन र अमेरिका दुवै देशले प्रतिशोधात्मक कर वृद्धिको उपायलाई अपनाएका कारण विश्वको अर्थतन्त्र नै प्रभावित बनेको छ ।
‘जस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ । अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमिकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनका लागि कर छूटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।
ट्रम्प प्रशासनका अधिकारीहरूले ९० दिनका लागि दिइएको कर छूटको गलत अर्थ लगाइएको बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुमा नयाँ कर लगाउने दिशामा छलफल गरिरहेको छ । ‘चीन मात्र होइन, अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्ने सबै कर वृद्धिको जोखिमबाट टाढा छैनन्,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भने ।
यसअघि चीनको वाणिज्य मन्त्रालयले शुक्रबारको कदम ‘सानो मात्र भएको’ बताएको छ । ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्ने चीनको भनाइ छ । अमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ कर छुट दिएको थियो । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य लगायतका विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो । सेमिकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।
नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादन बनाउने एप्पललाई फाइदा पुग्नेछ । ‘हामी आगामी राष्ट्रिय सुरक्षा कर अनुसन्धानमा सेमिकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स आपूर्ति श्रृंखला हेरिरहेका छौं,’ ट्रम्पले भने ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले सेमिकन्डक्टर कर ‘एक वा दुई महिनाभित्र’ लागू हुने बताएका छन् । यद्यपि उनले फर्मास्युटिकल उत्पादन ‘पारस्परिक’ करभन्दा बाहिर रहन सक्ने बताएका छन् । दुई साताअघि ट्रम्पले दर्जनौं व्यापारिक साझेदारमाथि चर्को आयात शुल्कको घोषणा गरेका थिए । तर उनले ९० दिनका लागि भने उक्त आयात शुल्क स्थगन गरेका छन् । तर चीनलाई भने उक्त छूटबाट बाहिर राखिएको छ ।
अमेरिकी प्रशासनले चीनसँग सम्झौता हुनेमा आशावादी रहेको बताएको छ । तर अमेरिकी अधिकारीहरूले यसका लागि बेइजिङले पहिले सम्पर्क गर्नुपर्ने बताएका छन् । तर ट्रम्पका व्यापार प्रतिनिधि जेमिसन ग्रीरले आइतबार सीबीएस ‘फेस द नेसन’ मा कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच वार्ताका लागि तत्काल कुनै योजना नभएको बताएका छन् ।
