चीनमा ट्यारिफ वृद्धिले महँगिन्छ आइफोन ?

ट्रम्पले चीनमाथिको भन्सार शुल्क १ सय ४५ पुर्‍याएपछि यूबीएस नामक एक लगानी बैंकका अनुसार चीनमा बनेका २ सय ५६ जीबी स्टोरेजका आइफोन १६ प्रो म्याक्सको मूल्य १ हजार १ सय ९९ अमेरिकी डलरबाट बढेर १ हजार ९ सय ९९ अमेरिकी डलर पुग्ने अनुमान

चैत्र ३०, २०८१

प्रविना पौडेल

Tariff increase in China makes the iPhone more expensive?

काठमाडौँ — संसारका सबैभन्दा लोकप्रिय ग्याजेटमा पर्ने फोन, ल्यापटप, ट्याब्लेट, स्मार्टवाचको मूल्य अत्यधिक महँगिन सक्ने सम्भावना बढेको छ । यस्ता ग्याजेट ठूलो मात्रामा चीनमा बनाइन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद व्यापार नीतिअनुसार चीनबाट अमेरिका लगिने सामानमा १ सय ४५ प्रतिशत भन्सार शुल्क लाग्ने बताएको छ ।

जसको असर एप्पल, आइफोनको मूल्य र बजारमा कस्तो असर पर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ । 

केही विश्लेषकका अनुसार यदि यो भन्सार शुल्कको खर्च उपभोक्तामाथि आइपर्‍यो भने अमेरिकामा आइफोनको मूल्य सयौं डलरले बढ्न सक्छ । ‘काउन्टरपोइन्ट रिसर्च’ नामक अनुसन्धान संस्थाका अनुसार अमेरिका आइफोनका लागि सबैभन्दा ठूलो बजार हो । उक्त रिपोर्टअनुसार, अमेरिकामा बिक्री हुने आइफोनको करिब ८० प्रतिशत हिस्सा चीनमा नै बनाइन्छन् भने बाँकी २० प्रतिशत भारतमा बनाइन्छन् ।

सामसुङजस्ता अन्य ठूला स्मार्टफोन कम्पनीसँगै एप्पलले पनि पछिल्लो समय चीनमा अत्यधिक भर नपर्ने गरी आपूर्ति शृंखलालाई विविध बनाउने प्रयास गर्दै आएको छ । भारत र भियतनामलाई नयाँ उत्पादन केन्द्रका रूपमा अगाडि ल्याउने योजना उनीहरूले बनाएका छन् । नयाँ भन्सार शुल्क लागू भएसँगै एप्पलले भारतमा आइफोनको निर्माण तीव्र रूपमा बढाउने प्रयास गरिरहेको रोयटर्सले जनाएको छ । रोयटर्सको रिपोर्टअनुसार, एप्पलले हालै ६ सय टनभन्दा बढी आइफोन भारतबाट अमेरिका पठाउन चार्टर्ड कार्गो फ्लाइट प्रयोग गरेको हो ।

राष्ट्रपति ट्रम्पले चीनबाहेकका अन्य देशमा ९० दिनका लागि भन्सार शुल्क रोकेको अवस्थामा भारतमा आइफोन उत्पादन बढाएर अमेरिकाले फाइदा लिन सक्ने देखिन्छ । एप्पलसँग भन्सार शुल्कको असरबारे प्रतिक्रिया मागेको भए पनि अहिलेसम्म कुनै जवाफ नआएको बीबीसीले जनाएको छ । ट्रम्प र उनका सल्लाहकारका अनुसार भन्सार शुल्कको मुख्य उद्देश्य अमेरिकाभित्रै उत्पादन बढाउन प्रेरित गर्नु हो । तर प्रविधि उद्योगमा भने भिन्नै तरिकाले काम हुन्छ । डिभाइसका पार्टपुर्जाहरू बनाउने र जोड्ने प्रक्रिया अर्थात ‘एसेम्ब्ली’का लागि विश्वभर फैलिएको आपूर्ति सञ्जालमा उद्योग निर्भर गर्दछ ।

यसका साथै, एसियामा छिटो र सस्तोमा उत्पादन गर्ने दक्ष कामदारहरू अमेरिका जस्ता देशहरूमा भेट्टाउन सजिलो छैन । जसकारण आपूर्ति शृंखला सार्नु सजिलो कुरा भने होइन । एप्पलले गत फेब्रुअरीमा अमेरिकाभित्र ५ सय अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । तर ‘वेडबुस सेक्युरिटिज’का विश्लेषक ड्यान आइभ्सका अनुसार, एसियामा रहेका सस्तो उत्पादन केन्द्रहरूबाट अमेरिका सार्न समय र खर्च धेरै लाग्छ । उनले गत अप्रिल ३ मा एक्समा लेखेका छन्, ‘वास्तविकता के हो भने, आपूर्ति शृंखलाको १० प्रतिशत मात्र एसियाबाट अमेरिका सार्न पनि हाम्रो अनुमानमा ३ वर्ष र ३० अर्ब डलर लाग्छ र यसले ठूलो अव्यवस्था ल्याउँछ ।’ 

एप्पलले भन्सार शुल्कको खर्च उपभोक्तामाथि पार्नेछ कि छैन वा अमेरिकाभित्र आइफोनको मूल्य बढाउने छ कि छैन भन्ने अहिलेसम्म खुलाएको छैन । केही विश्लेषकका अनुसार एप्पलले आफ्ना उत्पादनबाट धेरै मुनाफा कमाएको कारण एप्पल अन्य कम्पनीभन्दा अलि बढी सुरक्षित स्थितिमा छ । ‘फरेस्टर’का प्रमुख विश्लेषक दीपञ्जन चटर्जी भन्छन्, ‘आफ्ना उपकरणमा राम्रो नाफा हुने कम्पनी भएकाले एप्पलले भन्सार शुल्कका कारण बढेको केही खर्च छोटो अवधिका लागि ठूलो आर्थिक असर नपार्ने गरी सम्हाल्न सक्छ ।’ 

तर उनले यस्तो टिप्पणी गरे पनि एप्पलको बलियो ब्रान्ड र लोकप्रियताका कारण उसले केही खर्च उपभोक्तामाथि पार्दा पनि धेरै विरोध नआउने सम्भावना छ । एप्पलको ब्रान्डमा प्रतिस्पर्धीहरूभन्दा बढी निष्ठा छ र सानो मूल्यवृद्धिका कारण प्रयोगकर्ताहरू तुरुन्तै एन्ड्रोइडमा सर्ने सम्भावना कम रहेको विश्लेषकको दाबी छ । केही अनुमानअनुसार यदि सबै खर्च उपभोक्ताले तिर्नुपर्‍यो भने अमेरिकाभित्र आइफोनको मूल्य तीन गुणासम्म बढ्न सक्छ ।

ट्रम्पले चीनमाथिको भन्सार शुल्क १ सय ४५ पुर्‍याएपछि यूबीएस नामक एक लगानी बैंकका अनुसार, चीनमा बनेको २ सय ५६ जीबी स्टोरेज भएको आइफोन १६ प्रो म्याक्सको मूल्य १ हजार १ सय ९९ अमेरिकी डलरबाट बढेर १ हजार ९ सय ९९ अमेरिकी डलर पुग्नेछ । भारतमा बनेको १२८ जीबी स्टोरेज भएको आइफोन १६ प्रोको अनुमानित मूल्यवृद्धि तुलनात्मक रूपमा कम हुनेछ । जसको मूल्य ९ सय ९९ अमेरिकी डलरबाट करिब ५ प्रतिशत बढेर १ हजार ४६ हुने अनुमान छ ।

विश्लेषक ड्यान आइभ्स भन्छन्, ‘यदि आइफोन अमेरिकामै बनाउने हो भने, त्यसको मूल्य ३ हजार ५ सय अमेरिकी डलरसम्म पुग्न सक्छ ।’ अहिले पनि आगामी दिनमा के हुन्छ भन्नेमा धेरै अन्योल छ । एप्पलजस्ता कम्पनीले करको प्रतिक्रिया कसरी दिने हुन् भन्ने कुरा अझै प्रस्ट भएको छैन । अर्को आइफोन कति महँगो हुनेछ भन्ने कुरा थाहा पाउनका लागि सायद यो शरदयामसम्म कुर्नुपर्ने हुन सक्छ । तर यदि करका कारण फोनको मूल्य बढ्ने देखियो भने धेरै मानिसले अरू ब्रान्डको फोन वा पुराना, प्रयोग भइसकेका मोबाइलतर्फ ध्यान दिन सक्ने अनुमान छ ।

आइफोन अहिले पनि सबैभन्दा महँगो स्मार्टफोनमध्ये एक हो । तर गुगल र स्याम्सङ जस्ता ब्रान्डले उस्तै विशेषतासहितका फोन सस्तो मूल्यमा दिइरहेका छन् । अर्को विकल्प र सायद सबैभन्दा सस्तो उपाय भनेको नयाँ आइफोन किन्नेभन्दा पुरानो र सस्तो मोडेल रोज्नु हुन सक्छ ।

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully