अमेरिका–चीन व्यापार युद्ध : चीनको जवाफी भन्सार ८४ प्रतिशत, ट्रम्पले पुर्‍याए १२५ प्रतिशत

ट्रम्पको भन्सार नीतिको प्रतिवादमा युरोपेली देशहरूको अप्रिल १५ देखि अमेरिकी वस्तुमा थप भन्सार लगाउने तयारी

चैत्र २८, २०८१

एजेन्सी

US-China trade war: China's retaliatory tariffs of 84 percent, Trump's 125 percent

बेइजिङ — चीनले अमेरिकी सामानको आयातमा जवाफी भन्सार शुल्क ८४ प्रतिशत लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा भन्सार शुल्क १२५ प्रतिशत पुर्‍याएका छन् ।

ट्रम्पले  बुधबार बिहानदेखि लागू हुनेगरी चिनियाँ वस्तुमा १०४ प्रतिशत भन्सार शुल्क घोषणा गरेका थिए । त्यसको जवाफमा चीनले पनि अमेरिकी वस्तुमा भन्सार शुल्क घोषणा गरेको थिए । लगत्तै ट्रम्पले भन्सार शुल्क झन् बढाएका हुन् । यसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई थप उग्र बनाएको छ ।

ट्रम्पको ‘प्रतिशोधी’ भन्सार शुल्क बुधबार बिहानदेखि लागू भएको थियो । यसमा चीनका सामग्रीलाई सबैभन्दा बढी शुल्क लगाइएको थियो । यी दुई देशबीच व्यापारमा एकअर्कालाई जवाफ दिने खेल चलिरहेको छ, जसमा बेइजिङले वासिङ्टनले ल्याउने हरेक नयाँ भन्सार शुल्कको कडा विरोध गर्दै आएको छ ।

बुधबारदेखि चीन र अमेरिकाबीचको व्यापार युद्धले नयाँ मोड लिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार नीतिको युरोपेली देशहरूले पनि प्रतिवाद गर्ने तयारी गरिरहेका छन् । युरोपेली युनियनले अप्रिल १५ देखि अमेरिकी

सामग्रीमा थप भन्सार लगाउने तयारी गरेको बताइएको छ । चीनको भन्सार शुल्क आयोगले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले चीनमाथि भन्सार शुल्क बढाउनु गल्तीमाथि गल्ती भएको बताएको छ । ‘यसले चीनको वैधानिक अधिकार र हितमा गम्भीर आघात पुर्‍याएको छ र नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले थप भन्सार शुल्क लगाएमा ‘अन्तसम्म लड्ने’ चीनले यसअघि नै चेतावनी दिएको थियो ।

बुधबार ट्रम्पले चिनियाँ आयातमा थपिएको शुल्क मूल रूपमा ३४ प्रतिशत बिन्दुले बढाउने तयारी गरेको थियो । तर बेइजिङले यो टकरावबाट पछि नहटेपछि राष्ट्रपतिले थप ५० प्रतिशत बिन्दु थपिदिए । पछिल्लो चरणको वृद्धिअघि नै ट्रम्पले चीनमाथि २० प्रतिशत भन्सार शुल्क लगाइसकेका थिए ।

यी महाशक्ति अर्थतन्त्रहरूबीचको ‘आर्थिक द्वन्द्व’ले विश्वव्यापी सेयर बजारमा पनि उतारचढाव ल्याएको छ । एसियाली र युरोपेली बजारहरू प्रायः तल झरेका छन् भने अमेरिकी सेयरहरूमा मिश्रित प्रभाव देखिएको छ ।

‘यो यति हास्यास्पद बन्दै गएको छ कि विश्वको झन्डै आधा हिस्सा ओगट्ने, करिब ५० ट्रिलियन डलरको वैश्विक जीडीपी बनाउने दुई ठूला अर्थतन्त्रबीच यस्तो टकराव भइरहेको छ भनेर विश्वास गर्नै गाह्रो छ । अझ सम्पूर्ण विश्वविरुद्धको भन्सार युद्ध त परको कुरा हो,’ ब्लिक्ली फाइनान्सियल ग्रुपका प्रमुख लगानी अधिकृत पिटर बुकवरले एक अनुसन्धान नोटमा लेखेका छन् ।

भन्सार शुल्क वृद्धिका अतिरिक्त, चीनको वाणिज्य मन्त्रालयले १२ अमेरिकी कम्पनीहरूको निर्यातलाई पनि नियन्त्रित गर्न आदेश दिएको छ । ती कम्पनीलाई सैन्य र नागरिकस्तरमा प्रयोग हुने दोहोरो वस्तुहरू आपूर्ति नगर्न चिनियाँ कम्पनीहरूलाई आदेश दिइएको छ । यस्तै थप ६ अमेरिकी फर्महरूलाई ‘अविश्वसनीय संस्था सूची’मा राख्दै तिनलाई चीनमा व्यापार गर्न वा नयाँ लगानी गर्न प्रतिबन्ध लगाएको छ । यसका साथै अमेरिकाको पछिल्लो भन्सार शुल्कविरुद्ध विश्व व्यापार संगठन (डब्लूटीओ) मा उजुरी दायर गरेको छ ।

अमेरिकाको ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले चीनको पछिल्लो कदमलाई ‘प्रतिशोधी’ बताउँदै चीन भन्सार सम्झौताका लागि वार्तामा आउन नचाहनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले चीनलाई ‘अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा सबैभन्दा खराब अपराधी’को संज्ञा दिएका छन् । 

ईयूको बुधबारको घोषणा गत महिना अमेरिकाले सबै स्टिल र आल्मुनियम आयातमा भन्सार शुल्कमा तीव्र वृद्धिको जवाफमा आएको हो । ‘यी प्रतिकारहरू कुनै पनि समयमा निलम्बन गर्न सकिन्छ, यदि अमेरिकाले निष्पक्ष र सन्तुलित वार्ताबाट समाधान गर्न सहमत भएमा,’ युरोपेली आयोगले भनेको छ ।

एजेन्सी

Link copied successfully