युक्रेन — युक्रेनको शहर क्रीभये रिहमा भएको रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
युक्रेनी अधिकारीहरुका अनुसार आक्रमण गरिएको शहरमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुर्किएका थिए । आक्रमणमा अन्य कैयौं घाइते भएको बताइएको छ ।
राष्ट्रपति जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा मारिनेमध्ये बालबालिकासमेत रहेको बताएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमण गरिएको मिसाइल ब्यालेस्टिक हो ।
केही घण्टाअघि राष्ट्रपति जेलेन्स्कीले एक्समा एक पोस्ट गर्दै आक्रमणमा १६ जनाको मृत्यु भएको र जसमा ६ जना बालबालिका रहेको बताएका थिए । तर अहिले यो संख्या बढेर १८ पुगेको हो ।
घटनास्थलका तस्बिर अनुसार दश तले घर यो आक्रमणबाट क्षतिग्रस्त बनेको छ । रुसको रक्षा मन्त्रालयले भने युक्रेनी सेनाका कमाण्डर र पश्चिमी देशका इन्स्ट्रक्टर्सहरु एक रेस्टुराँमा छलफल गरिरहेका बेला निशाना बनाइएको र ८५ जनाको मृत्यु भएको दाबी गरेको छ ।
यद्दपि यो दाबी पुष्टि हुने कुनै प्रमाण भने दिइएको छैन । युक्रेनी सेनाले भने रुसले आफ्ना मानव अपराध लुकाउन भ्रम फैलाइरहेको बताएको छ ।
