काठमाडौँ — भारतीय अभिनेता, निर्देशक मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा बिहान ४ बजे आफ्नो अन्तिम सास फेरेका हुन् । उनी लामो समयदेखि मुटुसम्बन्धी साथै अन्य विभिन्न स्वास्थ्यमा समस्यासँग जुधिरहेका थिए ।
मनोज कुमारको वास्तविक नाम हरिकृष्ण गोस्वामी हो । सन् १९३७ जुलाई २४ मा अहिलेको पाकिस्तानमा जन्मिएका थिए । भारत पाकिस्तान विभाजनपछि उनको परिवार दिल्ली सरेको थियो ।
उनले 'रोटी कपडा और मकान', शहीद, क्रान्तिजस्ता देशभक्तिका फिल्महरुमा अभिनय गरेका छन् । उनले अभिनय गरेको 'शहीद' फिल्मबाट लोकप्रियता बटुलेका थिए । 'रोटी कपडा और मकान' र 'क्रान्ति' जस्ता चलचित्रहरू मार्फत बलिउडमा उनले अलग्गै पहिचान बनाएका थिए । उनले देशभक्तिका फिल्महरुबाट धेरै नै लोकप्रियता पाए । त्यसैले उनलाई ‘भारत कुमार’को नामबाट चिनायो ।
उनले पद्यमश्री, दादासाहेब फाल्के पुरस्कार लगायतका बिभिन्न पुरस्कारबाट सम्मानित भएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई 'भारतीय सिनेमाको आइकन' भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
