मलेसियामा ग्यास पाइपलाइन विस्फोट, ११२ जना घाइते

चैत्र २०, २०८१

एजेन्सी

Gas pipeline explosion in Malaysia, 112 injured

क्वालालम्पुर — मलेसियाको सरकारी ऊर्जा फर्म पेट्रोनासद्वारा सञ्चालित ग्यास पाइपलाइनमा मंगलबार आगलागी हुँदा कम्तीमा १ सय १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६३ जनालाई अस्पताल भर्ना गरिएको अग्नि नियन्त्रण विभागले जनाएको छ । तीमध्ये अधिकांश जलेका, सास फेर्न समस्या भएका तथा चोटपटक लागेको जनाइएको छ । विस्फोटका कारण कम्तीमा ४९ घरमा क्षति पुगेको अग्नि नियन्त्रकले बताएका छन् । कम्तीमा ८२ जनालाई उद्धार गरिएको छ । 

राजधानी क्वालालम्पुरनजिकै भएको घटनाका कारण धेरै मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका समाचार संस्थाले जनाएका छन् । सेलांगोर राज्यका अग्नि नियन्त्रण निकायको विज्ञप्तिअनुसार इद मनाउने क्रममा लागेको आगो ग्यास पाइपलाइन चुहावटका कारण लगभग ५ सय मिटरसम्म फैलिएको हो । 

प्रभावित पाइपलाइनको भल्भ बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार प्रत्यक्षदर्शीहरूले आगो कैयौं किलोमिटर टाढासम्म देखिएको बताएका छन् । 

सेलांगोर विपद् व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद नजवान हलिमीले राज्य समाचार एजेन्सी बर्नामालाई बताएअनुसार कम्पुङ क्वाला सुंगाई बारु गाउँका मानिसहरू घरमा फसेका र केहीलाई उद्धार गरिएको छ । ‘अचानक हामीले ठूलो आवाज सुन्यौं र त्यसपछि अस्तव्यस्तता छायो,’ आगलागी भएको ठाउँ नजिकै बस्ने एक बासिन्दालाई उद्धृत गर्दै द स्टार अखबारले जनाएको छ । ‘हामी तुरुन्तै घरबाट निस्कियौं र अन्य स्थानीय बाहिर निस्किरहेको देखेका छौं,’ एक स्थानीयले भने ।

एजेन्सी

Link copied successfully