गाजा — इद उल फित्रको पहिलो दिन गाजापट्टीमा इजरायली सेनाको आक्रमणमा ६४ जनाको मृत्यु भएको छ । जसमा बालबालिकासमेत मारिएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) ले एक हप्ता अघि रफाह नजिक इजरायली गोलाबारीमा परेका आफ्ना आठ स्वास्थ्यकर्मी, पाँच नागरिक सुरक्षा कर्मचारी र एकजना संयुक्त राष्ट्रसंघीय कर्मचारीको शव फेला पारेको छ।
अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासंघ (आईएफआरसी) ले उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई सन् २०१७ यता संसारभर आफ्ना उद्धारकर्मीहरूविरुद्धको सबैभन्दा घातक हमला भनेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म कम्तीमा ५०,२७७ जना मारिएका छन् भने १ लाख १४ हजार ९५ जना घाइते भएका छन् । गाजाको सरकारी सञ्चार कार्यालयले करिब दुई महिनाअघि मृतक संख्या ६१ हजार ७०० नाघेको उल्लेख गर्दै अझै पनि हजारौं व्यक्ति भग्नावशेषमा हराइरहेको जनाएको छ।
गतवर्ष अक्टोबर ७ मा हमासको आक्रमणमा इजरायलमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो।
