किन बढ्दैछ अमेरिका र ग्रीनल्यान्डबीच तनाव ? 

चैत्र १४, २०८१

बुद्धिसागर मरासिनी

Why is the tension between America and Greenland increasing?

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार डेनमार्कको स्वशासित टापु ग्रीनल्यान्ड अमेरिकाका लागि अत्यावश्यक भएको बताउँदै आएका छन् । ट्रम्पले जुनसुकै मुल्यमा ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्ने बताइरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले ग्रीनल्याण्ड भ्रमण गर्ने तालिका सार्वजनिक भयो ।

भेन्स र उनकी पत्नी उषाको भ्रमण तालिकाले ग्रीनल्याण्ड र अमेरिकाबीचको तनाव थप चर्कीएको छ । सार्वजनिक तालिका अनुसार उषाले ग्रीनल्याण्डको केही दिन बिताउने र त्यसक्रममा राजधानी नुक भ्रमण गर्ने तथा लोकप्रिय वार्षिक कुकुर दौड जस्ता सांस्कृतिक कार्यक्रममा भाग लिने घोषणा गरिएको थियो । 

भेन्स ग्रीनल्याण्ड भ्रमण गर्ने अमेरिकाकै उच्चपदस्थ अमेरिकी अधिकारी भएपनि उनको पत्नीको भ्रमण र लामो तालिकाले ग्रीनल्याण्ड र डेनमार्कलाई रुष्ट बनाएको हो । ग्रीनल्याण्डका कार्यवाहक सरकार प्रमुख मुट एगेडले भ्रमणले ‘उत्तेजना’ फैल्याउने प्रतिक्रया दिए । 

ग्रीनल्याण्ड र डेनमार्कको विरोधपछि भने उनीहरूको भ्रमण तालिकामा हेरफेर गरिएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले भेन्स र उषाले उत्तर-पश्चिमी तटमा रहेको अमेरिकी पिटुफिक अन्तरिक्ष आधार शिविरको निरिक्षणका लागि ग्रीनल्याण्डमा एक दिन मात्र बिताउने जनाएको छ । 

डेनमार्कले भेन्स र उषाको ग्रीनल्याण्ड भ्रमणमा गरिएको परिवर्तनको स्वागत गरेको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले उक्त निर्णय ‘धेरै सकारात्मक’ भएको र अमेरिकी अधिकारीको आफ्नै आधार क्षेत्रको भ्रमण ‘कोहीविरुद्ध नभएको’ बताएका छन् । 

Why is the tension between America and Greenland increasing?अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र पत्नी उषा ।

संसोधित कार्यतालिकाले भेन्सविरूद्ध स्थानीयले गर्ने विरोध प्रदशर्नको जोखिम पनि कम भएको छ । पछिल्लो समय ग्रीनल्याण्डमा अमेरिकाविरुद्ध भएका प्रदर्शनहरूमा सयौं मानिसले भाग लिएका छन् । प्रदर्शनका सहभागीले ‘अन्तर्राष्ट्रिय सम्झौताको सम्मान गर’, ‘यान्की घर जाऊ’ लगायतका प्लेकार्डहरू बोक्ने गरेका बीबीसीले जनाएको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावी अभियानदेखि हालसम्म ग्रीनल्याण्ड कब्जा गर्ने आफ्नो धम्की जारी राखेका छन् । ‘ग्रीनल्याण्ड हामीले पाउनु पर्छ,’ बुधबार ट्रम्पले दोहोर्‍याएका छन्, ‘हामीलाई हाम्रो र अन्तर्राष्ट्रिय सुरक्षाका लागि यो चाहिन्छ ।’ 

दुई सातअघि ग्रीनल्याण्डका प्रमुख राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ट्रम्पको ‘अस्वीकार्य व्यवहार’ को निन्दा गरेका थिए । प्रधानमन्त्री मुट बी एगेडेले ग्रीनल्याण्डबासीलाई अनादर नगर्न ट्रम्पलाई चेतावनी नै दिएका थिए । ‘ग्रीनल्याण्ड कहिल्यै पनि संयुक्त राज्य अमेरिकाको हुनेछैन र हामी ग्रीनल्याण्डबासीहरू कहिल्यै अमेरिकी हुनेछैनौं । हामीलाई अनादरपूर्ण व्यवहार नगर्नुहोस् । अब त अति भयो,’ उनले फेसबुकमा लेखेका थिए । आफ्नो पार्टीले चुनाव जितेपछि ग्रीनल्याण्डको अर्को नेता हुने सम्भावना रहेका जेन्स-फ्रेडरिक निल्सनले अमेरिकी नेताको भ्रमणले ‘सम्मानको कमी’ भएको देखिएको बताएका छन् । Why is the tension between America and Greenland increasing?

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘पे–पाल’ का सहसंस्थापक केन होवेरीलाई डेनमार्कका लागि अमेरिकी राजदूतमा नियुक्त गर्ने घोषणा गर्दै ग्रिनल्यान्डको ‘स्वामित्व आवश्यक’ भएको बताएका थिए । ‘राष्ट्रिय सुरक्षा र संसारभरको स्वतन्त्रताका लागि अमेरिकाले ग्रिनल्यान्डको पूर्ण स्वामित्व र नियन्त्रण आवश्यक भएको महसुस गरेको छ,’ ट्रम्पले भनेका थिए । ट्रम्पको भनाइ सार्वजनिक भएसँगै ग्रीनल्यान्डका प्रधानमन्त्री म्युट एगेडले ‘ग्रीनल्याण्ड बिक्रीका लागि नभएको र बिक्रीका लागि उपलब्ध नहुने’ बताएका थिए । 

त्यसअघि ट्रम्पले यसअघि सन् २०१९ अगस्टमा पनि ग्रिनल्यान्ड ‘किन्न’ चाहेको बताएका थिए । ट्रम्प ग्रिनल्यान्डको प्राकृतिक स्रोतप्रति आकर्षित भएको बताइएको थियो । तर डेनमार्कका तत्कालीन प्रधानमन्त्री मेट फ्रेडरिक्सनले ‘ग्रिनल्यान्ड बिक्रीका लागि नभएको’ जवाफ दिएकी थिइन् । उनी २०१९ जुनदेखि निरन्तर डेनमार्कको प्रधानमन्त्री छिन् । 

ट्रम्पको भनाइ ‘वाहियात’ भएको फ्रेडरिक्सनको प्रतिक्रियापछि ट्रम्पले डेनमार्कको राजकीय भ्रमण रद्द गरेका थिए । जबकि डेनमार्ककी रानी मार्गरेट द्वितीयको निमन्त्रणामा २०१९ सेप्टेम्बर २ का लागि ट्रम्पको डेनमार्क भ्रमण तय थियो । ट्रम्पले भ्रमण रद्द गरेपछि भने फ्रेडरिक्सनले माफी मागेकी थिइन् । तर त्यसको केही घण्टामा नै ट्रम्पले उनलाई ‘निकै खराब र अप्रिय’ भनेका थिए । 

क्यानडाको आर्कटिक द्वीप समूहको पूर्वमा पर्ने ग्रिनल्यान्ड आर्कटिक र एट्लान्टिक महासागरको बीचमा अवस्थित अवस्थित विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड ‘भूमध्यसागरको मोती’ भनेर चिनिन्छ । २१ लाख ८४ हजार वर्ग किमि क्षेत्रफलको ग्रीनल्यान्डको राजधानी नुक डेनमार्कको राजधानी कोपेनहेगनबाट भन्दा अमेरिकाको न्युयोर्कबाट नजिक छ । Why is the tension between America and Greenland increasing?

ग्रिनल्यान्डमा लगभग ५६ हजार ८ सय मानिस बस्छन् । ग्रीनल्यान्डका बासिन्दा पूर्ण रूपमा डेनमार्कका नागरिक हुन् । ग्रीनल्याण्ड कोपनहेगनबाट नुक ३ हजार ५ सय ३४ किमि र न्युयोर्कबाट २ हजार ९ सय ७७ किमिको दूरीमा छ । 

ग्रीनल्याण्ड सन् १७२१ देखि डेनमार्कको भूभागका रूपमा छ । यसले आफ्नो घरेलु मामिला आफैं सञ्चालन गर्छ । तर विदेश र रक्षा नीतिका निर्णय भने कोपेनहेगनमा गरिन्छ । दोस्रो विश्वयुद्धदेखि अमेरिकाले लामो समयदेखि त्यहाँ सुरक्षा चासो र सैन्य उपस्थिति राख्दै आएको छ । ग्रीनल्याण्डको उत्तर-पश्चिममा अवस्थित पिटुफिक अन्तरिक्ष बेसले क्षेप्यास्त्र चेतावनी, हवाई प्रतिरक्षा र अन्तरिक्ष निगरानी अभियानलाई समर्थन गर्दछ ।

सन् २००९ देखि ग्रीनल्याण्डबासीलाई डेनमार्कबाट स्वतन्त्र घोषणा गर्न सक्ने अधिकार छ । ग्रीनल्यान्डको स्वशासनसम्बन्धी डेढ दशकअघिको ऐनले जनतालाई स्वतन्त्रताको विकल्पसहित आत्मनिर्णयको अधिकार दिएको छ । सन् २०२३ अप्रिलमा ग्रीनल्यान्डको संसद्ले संविधानको मस्यौदा तय गरिसकेको छ । यसलाई केहीले स्वतन्त्रतातर्फको प्रमुख कदमका रूपमा व्याख्या गर्ने गरेका छन् । Why is the tension between America and Greenland increasing?

उत्तरी अमेरिका महादेशको भाग भए पनि ग्रिनल्यान्ड सन् १९६८ देखि राजनीतिक र सांस्कृतिक रूपमा युरोप (खासगरी नर्वे र डेनमार्क) सँग निकट छ । ग्रीनल्यान्ड खनिज, तेल र प्राकृतिक ग्यासमा धनी छ । तर अर्थतन्त्र माछा मार्ने व्यवसाय र डेनमार्कले दिने वार्षिक अनुदानमा भर पर्ने भएकाले ग्रीनल्यान्डको विकासको गति भने सुस्त छ । ग्रीनल्यान्डको उत्तरपश्चिम तटीय क्षेत्रमा अमेरिकी अन्तरिक्ष फौजको पिटुफिक हवाई आधार शिविर छ । जसका कारण ग्रीनल्यान्ड अमेरिकी सेना र यसको बलिस्टक क्षेप्यास्त्र चेतावनी प्रणालीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।

अमेरिकाका पूर्वराष्ट्रपति ह्यारी ट्रुम्यानले एक पटक ग्रीनल्यान्ड खरिदको प्रस्ताव गरेको समेत ट्रम्पले दोहोर्‍याएका छन् । ट्रुम्यानले सन् १९४६ मा १० करोड अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव गरेका थिए । जुन हालको करिब १ अर्ब ४० करोड डलर बराबर हो । तर प्राकृतिक स्रोत र कूटनीतिक महत्त्वका हिसाबमा भने यसको आजको मूल्य दसौं गुणा बढी हुने अनुमान छ । Why is the tension between America and Greenland increasing?

अमेरिकाले सन् १८०३ मा १ करोड ५० लाख डलरमा लुजियाना क्षेत्र खरिद गरेको थियो । त्यस्तै, सन् १८६७ मा रुससँग ७२ लाख डलरमा अलास्का किनेको थियो । सन् १९१६ मा अमेरिकाले डेनिस वेस्ट इन्डिज (यूएस भर्जिन आइल्यान्ड) डेनमार्कसँग २ करोड ५० लाख डलरमा किनेको थियो । अमेरिकाले सन् १९४६ मा स्पेनसँग किनेको फिलिपिन आइल्यान्ड भने पछि त्यागेको थियो ।

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully