दक्षिण कोरियामा डढेलो : मृत्यु हुनेको संख्या २७ पुग्यो

चैत्र १४, २०८१

एजेन्सी

Fires in South Korea: Death toll reaches 27

काठमाडौँ — दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन्।

कोरियाली सञ्चार माध्यमहरूका अनुसार, मार्च २१ मा सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो सुरु भएको डढेलोपछि उइसोङ काउन्टीमा फैलिएको हो। तीव्र र सुख्खा हावाका कारण डढेलो आन्डोङ, चेङ्गसोङ, योङयाङ र योङदेओक लगायतका छिमेकी काउन्टीतिर फैलिएको विभिन्न समाचार एजेन्सीहरूले जनाएका छन् ।

दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो मानिएको यो डढेलोले एक हप्ताभित्रै ३६ हजार हेक्टरभन्दा बढी क्षेत्र प्रभावित पारेको छ। यसले सयौँ भवन नष्ट हुनुका साथै झण्डै ३७ हजार मानिसलाई विस्थापित गराएको छ। कोरियाली समाचार संस्था योन्हापका अनुसार, यो डढेलो जलवायु परिवर्तनको ‘कठोर वास्तविकता’लाई उजागर गर्ने घटना बनेको छ।

‘हामी अहिले राष्ट्रिय रूपमा गम्भीर परिस्थितिमा छौँ। अहिलेसम्मकै छिटो फैलिएको वन डढेलोका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ,’ कार्यवाहक राष्ट्रपति हान डक–सु ले एक सरकारी बैठकमा भने। उनले वृद्ध नागरिकहरूको मृत्यु चिन्ताजनक रहेको उल्लेख गर्दै विशेष गरी नर्सिङ अस्पतालमा रहेका व्यक्तिहरू बढी प्रभावित भएको बताएका छन्।

डढेलो निभाउनका लागि सेनाले हवाई इन्धन उपलब्ध गराएको छ, जसले अग्निनियन्त्रक हेलिकप्टरहरूलाई हिमाली क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न मद्दत पुर्‍याइरहेको छ। बिहीबार बिहानसम्म अधिकारीहरूले ९ हजारभन्दा बढी जनशक्ति र करिब १२० हेलिकोप्टर परिचालन गरेको सरकारको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

कोरियाका विपद् व्यवस्थापन प्रमुखका अनुसार यो डढेलो दक्षिण कोरियाको इतिहासकै ‘सबैभन्दा ठूलो’ हो। यसअघि अप्रिल २०२० मा लागेको ठूलो डढेलोले पूर्वी तटमा २३ हजार ९१३ हेक्टर जंगल जलाएको थियो।

अधिकारीहरूले मृत्यु भएका सर्वसाधारणबारे विस्तृत जानकारी नदिए पनि ती मुख्यतः ६० र ७० वर्ष उमेर समूहका रहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएका केही डढेलोहरू मानवीय लापरबाहीका कारण भएको अनुमान गरिएको छ। केही व्यक्तिहरूले पारिवारिक चिहान वरपर झार हटाउन आगो लगाउँदा वा वेल्डिङको काम गर्दा लागेको झिल्कोले डढेलो लागेको हुन सक्ने भनिएको छ।

एजेन्सी

Link copied successfully