अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई ५१ औं राज्य बन्न आह्वान गरिरहेका बेला २८ अप्रिलमा संसदीय चुनाव हुन लागेको हो ।
काठमाडौँ — अमेरिकासँग तनाव बढिरहेका बेला क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले मध्यावधि चुनाव घोषणा गरेका छन् । जस्टिन ट्रुडोको राजीनामापछि लिबरल पार्टीका कार्नीले ९ दिनअघि क्यानडाको प्रधानमन्त्रीमा शपथ लिएका थिए । उनले क्यानडामा २८ अप्रिलमा चुनाव गराउने घोषणा गरेका छन् ।
डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको पद सम्हालेसँगै क्यानडासँग तनाव चर्किएको छ । ट्रम्पले छिमेकी क्यानडासँग व्यापार युद्ध मात्र चर्काएका छैनन्, क्यानडालाई ५१ औं अमेरिकी राज्य बन्न आह्वान गर्दै आइरहेका छन् । एक महिनापछिको चुनावमा यी मुद्दा मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ ।
राष्ट्रपति ट्रम्पले लगाएको आयात शुल्कले आर्थिक अस्थिरता निम्त्याउने र क्यानडालाई मन्दीतर्फ धकेल्न सक्ने विज्ञहरूको अनुमान छ । ट्रम्पले २ मार्चमा क्यानाडेली सामानमा २५ प्रतिशत कर लगाएका थिए । त्यस्तै १२ मार्चमा ट्रम्पले अमेरिका भित्रने सबै आल्मुनियम र स्टील आयातमा २५ प्रतिशत आयात शुल्क लगाएपछि क्यानाडेली आयातकर्तालाई असर गरेको छ ।
ट्रम्प प्रशासनले क्यानडामाथि २ अप्रिलमा थप विश्वव्यापी कर लगाउने योजना अघि सारेको छ । अमेरिकी निर्णयको बदलामा क्यानडाले हालसम्म करिब ४२ अर्ब अमेरकी डलर बराबरका अमेरिकी सामानमा कर लगाइसकेको छ ।
आगामी चुनाव भने मुख्यत: लिबरल र कन्जरभेटिभ दलबीच नै हुने देखिएको छ । विभिन्न सर्वेक्षणहरूले पिएर पोलिएभको पार्टी सन् २०२३ को मध्यदेखि अगाडी रहेको देखाएका थिए । तर पछिल्ला दिनका सर्वेक्षणले भने कार्नी नेतृत्वको लिबरल र पोलिएभ नेतृत्वको कन्जरभेटिभबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् ।
यसअघिको चुनावमा क्यानाडेली संसद् हाउस अफ कमन्समा लिबरले १ सय ५३ सिट जितेको थियो । कन्जरभेटिभ १ सय २० सिटमा विजयी भएका थिए । ब्लक क्वेबेकोइस ३३, एनडीपी २४ र ग्रिन पार्टी २ सिटमा विजयी भएका थिए ।
मतसर्वेक्षणमा एक वर्षदेखि कन्जर्भेटिभ २० अंगले अगाडी थियो । तर केही सातायता आश्चर्यजनक रूपमा नतिजा उल्टिएको देखिन्छ । औचपारिक रूपमै निर्वाचन अभियान सुरू भएकाले चुनावी नतिजा जुनसुकै दलको पक्षमा पनि जानसक्ने देखिन्छ ।
मुख्य प्रतिस्पर्धी ठानिएका दुई नेताहरूले आइतबार आफ्नो पहिलो चुनावी र्यालीसमेत आयोजना गरेका छन् । सेन्ट जोन्स, न्युफाउन्डल्याण्ड र ल्याब्राडोरमा आयोजित कार्यक्रममा कार्नीले अमेरिकी आयात करको खतरा रहेको बताए । अमेरिकासँगको व्यापार युद्धमा पनि हक्कीमा जस्तै क्यानडाले जित्ने उनको भनाइ छ ।
त्यसअघि ओटावाको कार्यक्रममा बोल्दै कार्नीले ट्रम्पसँग व्यवहार गर्न स्पष्ट, सकारात्मक जनादेश आवश्यक रहेको भन्दै मतदाता रिझाउने प्रयास गरे । ‘राष्ट्रपति ट्रम्पका अनुचित व्यापार कार्य र हाम्रो सार्वभौमिकतामाथिको उनको धम्कीका कारण हामी हाम्रो जीवनकालको सबैभन्दा महत्त्वपूर्ण संकटको सामना गरिरहेका छौं,’ उनले भनेका छन्
त्यस्तै, आइतबार साँझ टोरन्टोमा आयोजित र्यालीमा पोलिएभले परिवर्तनका लागि कार्नीको पार्टी असफल रहेको दाबी गरेका छन् । लिबरल पार्टीले १० वर्षभन्दा लामो समयदेखि उस्तै वाचा दोहोर्याइरहेको र तोडिरहेको बताए ।
कार्नीले पोलिएभलाई ‘अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पजस्तै’ भन्छन् भने पोलिएभले कार्नीलाई ‘क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोजस्तो’ भन्छन् ।
प्रतिस्पर्धामा को-को ?
क्यानाडामा मतदाताले प्रधानमन्त्रीका लागि सिधै मतदान गर्दैनन् । संसद्मा सबैभन्दा धेरै सदस्य जित्ने पार्टीको नेता स्वत: प्रधानमन्त्री बन्छन् । आगामी चुनावी प्रतिस्पर्धा मुख्यत: चार दलबीच हुने देखिन्छ ।
लिबरल, कन्जरभेटिभ, न्यु डेमोक्रेट (एनडीपी) र ब्लक क्वेबेकोइस । ब्लक क्वेबेकोइसले फ्रान्सेली भाषी प्रान्त क्युबेकमा आफ्नो क्षेत्रीय हितमा केन्द्रित भएर उम्मेदवार उठाउने गरेको छ । यसबाहेक ग्रीन पार्टी र पिपुल्स पार्टी अफ क्यानडा पनि चुनावी दौडमा छन् ।
मार्क कार्नी, लिबरल पार्टी
६० वर्षीय कार्नी क्यानडाका वर्तमान प्रधानमन्त्री हुन् । उनले ९ दिनअघि मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । मार्च सुरूमा भएको चुनावमा लिबरल पार्टीले ८५ प्रतिशत भन्दा बढी मतका साथ कार्नीलाई जस्टिन ट्रुडोको उत्तराधिकारी चयन गरेको हो ।
उत्तरपश्चिमी क्षेत्रको फोर्ट स्मिथमा जन्मिएका कार्नी एडमन्टन, अल्बर्टामा हुर्किएका हुन् । उनले हार्वार्ड र अक्सफोर्ड विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गरेका छन् । कार्नीले आफ्नो छोटो कार्यकालको अधिकतम सदुपयोग गर्दै बेलायतका प्रधानमन्त्री कियर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंसँग भेट गरिसकेका छन् ।
कार्नी क्यानडा र बेलायतमा धेरैका लागि परिचित व्यक्तित्व हुन् । यसअघि उनी बैंक अफ क्यानडा र बैंक अफ इंग्ल्याण्डका गभर्नर थिए । वित्तीय विशेषज्ञ कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कडा अडान लिएका छन् । उनले अमेरिकी आयात शुल्कविरुद्ध बदला लिने वाचा गर्दै क्यानडा कहिल्यै पनि अमेरिकाको ५१ औं राज्य नबन्ने बताएका छन् ।
तर कार्नीको राजनीतिक परीक्षण भने भएको छैन । कार्नी क्यानडामा कहिल्यै सार्वजनिक पदमा निर्वाचित भएका छैनन् । यस हिसाबले आगामी चुनाव उनको पहिलो हुनेछ । त्यसका साथै फ्रेन्च भाषा पनि कमजोर भएकाले कार्नीले क्यानडाको फ्रान्सेली भाषी सम्पदा संरक्षणको पक्षमा रहेका क्युबेक प्रान्तका मतदाता रिझाउन मुस्किल हुने देखिन्छ ।
लिबरलले चुनाव हार्यो भने कार्नी क्यानडाको इतिहासमा सबैभन्दा छोटो कार्यकाल प्रधानमन्त्री रहँदै पदबाट बाहिरिनुपर्ने हुन सक्छ ।
पिएर पोलिएभ, कन्जरभेटिभ पार्टी 
अल्बर्टाको क्यालगरीका ४५ वर्षीय पोलिएभ करिब दुई दशकदेखि क्यानाडाको राजनीतिमा सक्रिय छन् । उनी पहिलोपटक २५ वर्षको उमेरमा हाउस अफ कमन्समा निर्वाचित भएका थिए । त्यसयता उनले क्यानडामा कम कर र चुस्त सरकारको पक्षमा निरन्तर वकालत गर्दै आएका छन् ।
राजनीतिमा उनी द्वन्द्वात्मक शैलीका कारण पनि परिचित छन् । पछिल्ला वर्षहरूमा उनले लिबरल पार्टी र पूर्वप्रधानमन्त्री ट्रुडोमाथि आक्रमण गर्दै आएका थिए । ट्रुडोका विनाशकारी नीतिले क्यानडामा जीवनस्तर बिग्रेको उनको आरोप छ ।
आफ्नो दलले सरकार बनाएको खण्डमा देशको अवस्था सामान्य हुने उनको दाबी छ । पछिल्लो समय धेरै क्यानाडेलीहरू आवास संकट, स्थिर ज्याला र उच्च जीवनयापनका विषयमा चिन्तित रहेका बेला उनका एजेन्डाले मतदाता आकर्षित हुनसक्ने अनुमान छ ।
तर पोलिएभको लोकप्रिय शैलीबारे भने आलोचना हुने गरेको छ । जसका कारण क्यानाडेलीहरूले उनलाई अमेरिकी राष्ट्रपति ट्रम्पसँग तुलना गरेका छन् । उनले आफूलाई ट्रम्पबाट टाढा राख्दै क्यानडा पहिलो नीति अख्तियार गर्ने बताएका छन् । ट्रम्प आफैंले पनि पोलिएभको आलोचना गरेका छन् । तर ट्रम्पका सहयोगी तथा प्रविधि अर्बपति इलन मस्कले भने उनको प्रशंसा गरेका छन् ।
इभ फ्रान्सिस ब्लान्चेट, ब्लक क्वेबेकोइस 
ब्लक क्वेबेकोइस क्यानडाको क्युबेक प्रान्तको राष्ट्रवादी पार्टी हो । फ्रान्सेली भाषा बोलिने प्रान्तमा मात्र उम्मेदवारी दिने भएकाले यो पार्टीका नेता प्रधानमन्त्री बन्ने सम्भावना भने छैन । यद्यपि क्युबेकमा लोकप्रिय भएकाले सरकार बनाउन खोज्ने अन्य प्रमुख दलको भाग्य निर्धारणमा भने यसले भूमिका निर्वाह गर्न सक्छ ।
ब्लान्चेटले सन् २०१९ देखि पार्टीको नेतृत्व गर्दै आएका छन् । उनले ट्रम्पको ५१ औं राज्यको आह्वान बकवास भएको बताउँछन् । ‘यो निकै बकवास हो,’ ब्लान्चेटले मार्च सुरूमा मोन्ट्रियलमा भनेका थिए, ‘हामी जे चाहन्छौं त्यो भन्न सक्छौं । तर यसको मतलब यो होइन कि हामी जे चाहन्छौं त्यो गर्न सक्छौं ।’
घरेलु मुद्दामा ब्ल्यान्चेटले आफ्ना व्यापार साझेदारलाई विविधताका लागि क्युबेकलाई जोड दिन आग्रह गर्दै आएका छन् । क्युबेकमा देशकै ठूलो आल्मुनियम खानी भएकाले क्यानडाको आर्थिक योजनामा प्रमुख स्थान दिनुपर्ने उनको माग छ । चुनावी सर्वेक्षणका अनुसार क्युबेकमा यसले लिबरल पार्टीलाई पछि पारेको छ ।
न्यु डेमोक्रेटिक वामपन्थी झुकाव भएको पार्टी हो । यो पार्टी परम्परागत रूपमा कामदार र श्रम मुद्दाहरूमा केन्द्रित छ । ४६ वर्षीय सिंह पार्टीका नेता हुन् । उनले २०१७ मा इतिहास रच्दै जातीय अल्पसंख्यक सिख समुदायबाट पहिलोपटक क्यानडामा प्रमुख राजनीतिक दलको नेतृत्व सम्हालेका हुन् ।
पूर्वफौजदारी वकिल सन् २०१९ मा ब्रिटिश कोलम्बियाबाट सांसद बनेका हुन् । त्यसबेलादेखि उनले सार्वजनिक पदमा सेवा गर्दै आएका छन् ।
एनडीपीले सन् २०२१ देखि ट्रुडो नेतृत्वको सरकारलाई सत्तामा आफ्नो पकड कायम राख्न मद्दत गरेको थियो । तर २०२४ को अन्त्यमा ट्रुडोको मन्त्रिपरिषद्ले आफ्नो औद्योगिक सम्बन्ध बोर्डलाई क्यानडाका दुई ठूला रेलमार्गमा काम रोक्न बाध्यकारी मध्यस्थता लागू गर्न निर्देशन दिएपछि सिंहले एनडीपीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
तर उनको पार्टीले मतदाताको समर्थन जुटाउन भने संघर्ष गरिरहेको छ । सर्वेक्षणहरूले मार्च मध्यसम्ममा केवल ९ प्रतिशत क्यानाडेलीले मात्र एनडीपीलाई भोट दिने बताएका छन् । त्यसमाथि लिबरलप्रति समर्थन बढ्दै जाँदा एनडीपीले हाउस अफ कमन्समा सिट संख्या बढाउन र आधिकारिक पार्टी बन्न सक्षम हुनेमा शंका उत्पन्न भएको छ ।
एनडीपी नेता सिंहले कार्नी वा पोलिएभ दुवै क्यानडाका लागि सही विकल्प नभएको बताएका छन् । दुवै नेताले साधारण क्यानाडेलीलाई वेवास्था गरेको र धनीलाई जोगाएको उनको आरोप छ । ‘तपाईं आफ्नो सर्वोत्तम हितमा निर्णय लिन्छ भन्ने विश्वास गर्न सक्ने प्रधानमन्त्रीको हकदार हुनुहुन्छ,’ उनले भने ।
