कोरियाली राष्ट्रपतिलाई महाभियोग लागेपछि कार्यवाहक राष्ट्रपति बनेका प्रधानमन्त्री हानलाई पनि डिसेम्बरको अन्त्यमा महाभियोग लगाइएको थियो
सोल — दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार प्रधानमन्त्री हान डक–सुमाथिको महाभियोग उल्ट्याउँदै कार्यवाहक राष्ट्रपतिमा पुनःस्थापित गरेको छ । तर अदालतले राष्ट्रपति युन सुक यओलमाथिकोमहाभियोगबारे भने अझै फैसला गरेको छैन ।
युनले डिसेम्बर ३ मा अप्रत्याशित रूपमा मार्सल ल लागू गरेपछि संसद्ले उनीविरुद्ध महाभियोग पारित गरेको थियो । त्यसपछि हान कार्यवाहक राष्ट्रपति बनेका थिए । तर विपक्षी सांसदसँगको राजनीतिक कलहपछि डिसेम्बरको अन्त्यमा उनीमाथि पनि महाभियोग लगाइएको थियो ।
अदालतले सोमबार गरेको फैसलाले युनको महाभियोगका विषयमा आगामी दिनमा हुने निर्णयबारे भने कुनै संकेत नगर्ने देखिन्छ । हान ‘मार्सल ल’ लागू गर्ने पूर्वराष्ट्रपति युनको सहयोगी नभएकाले उनको मुद्दामा भने फरक मत आउने अपेक्षा गरिएको छ । तर अदालतको सोमबारको फैसलाले भने युनका कट्टर समर्थकलाई अझै पनि उत्साहित बनाउने र विपक्षीमाथि उनीहरूको राजनीतिक आक्रमण बढ्न सक्छ ।
देशका शीर्ष दुई अधिकारीहरूलाई निलम्बन गर्ने अभूतपूर्व घटनापछि दक्षिण कोरियाली राजनीतिमा चरम विभाजन पैदा गर्यो । त्यसका साथै देशको कूटनीतिक र आर्थिक गतिविधिबारे पनि चिन्ता बढाएको थियो । त्यसयता उपप्रधानमन्त्री तथा अर्थमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिका रूपमा सेवा गर्दै आएका थिए । सोमबार संवैधानिक अदालतका ८ मध्ये ७ न्यायाधीशले हानमाथिको महाभियोग खारेज गरेका हुन् । उनीहरूले हानमाथि लगाइएका आरोप कानुनविरुद्ध नभएको, उनलाई पदबाट हटाउन आवश्यक नभएको तथा महाभियोग प्रस्ताव पारितका लागि आवश्यक गणपूरक संख्या नपुगेको जनाएका थिए । तर एक न्यायाधीशले भने हानमाथिको महाभियोगको समर्थन गरेका कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
हानलाई पदबाट बर्खास्त गर्न भने कम्तीमा ६ न्यायाधीशको समर्थन आवश्यक पर्ने थियो । अदालतले आफ्नो पुनःस्थापना गरेसँगै हानले राष्ट्रिय एकताका लागि आह्वान गरेका छन् । ‘अरू कुनै दायाँबायाँ छैन । हाम्रो राष्ट्रको प्रगति महत्त्वपूर्ण छ,’ उनले भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आक्रामक व्यापार नीति लागू गरेको सन्दर्भमा द्रुत गतिमा परिवर्तनशील विश्वव्यापी व्यापार वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।
युनको महाभियोगबारे अदालतले अझै फैसला गरेको छैन । यदि अदालतले युनको महाभियोगलाई समर्थन गरेको खण्डमा दक्षिण कोरियाले नयाँ राष्ट्रपतिका लागि चुनाव गर्नुपर्छ । तर अदालतले युनका पक्षमा निर्णय दिएको खण्डमा उनी राष्ट्रपति पदमा पुनःस्थापित हुन्छन् । युनलाई हानभन्दा करिब दुई साताअघि महाभियोग लगाइएको थियो । उनको महाभियोगबारे संवैधानिक अदालतले मार्च मध्यमा फैसला गर्ने अनुमान गरिएको छ ।
युनलाई विद्रोह गरेको आरोपमा पनि छुट्टै मुद्दा चलाइएको छ । उक्त आरोपमा दोषी ठहरिए उनले मृत्युदण्ड वा आजीवन कारावासको सामना गर्नुपर्नेछ । सोलस्थित जिल्ला अदालतले युनलाई हिरासतमा नबसी फौजदारी मुद्दाको सामना गर्न अनुमति दिएपछि मार्च ८ मा जेलबाट रिहा गरिएको थियो । युनको पक्राउसँगै उनको समर्थन वा विरोधमा गरिएका जुलुसहरूले राजधानी सोलसँगै दक्षिण कोरियाका अन्य प्रमुख सहरहरू विभाजित देखिएका छन् । यसअघि विभिन्न सर्वेक्षणमा अधिकांश दक्षिण कोरियाली युनको मार्सल ल लागू गर्ने निर्णयको विपक्षमा थिए । तर पछिल्लो समय युनलाई समर्थन गर्ने वा सहानुभूति राख्नेको संख्या बढी रहेको देखिएको छ ।
युनले मार्सल ल घोषणा गरेपछि सयौं सेना र प्रहरी अधिकारीलाई संसद्मा पठाइएको थियो । युनले शान्ति सुव्यवस्था कायम राख्ने लक्ष्य राखेको बताएका थिए । तर त्यहाँ खटाइएका वरिष्ठ सैन्य र प्रहरी अधिकारीहरूले युनले मार्सल लविरुद्धको मतदान रोक्न सांसदहरूलाई बाहिर निकाल्न आदेश दिएको बताएका थिए । तर आवश्यक सांसद संसद् हलमा प्रवेश गर्न सफल भए र सर्वसम्मतिले युनको निर्णय खारेज गरिदिएका थिए । युनद्वारा नियुक्त हानले कार्यवाहक राष्ट्रपतिका रूपमा काम गर्दा कूटनीतिक साझेदारलाई आश्वस्त पार्ने र बजार स्थिर बनाउने प्रयास गरेका थिए । तर ९ सदस्यीय संवैधानिक अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेपछि उनीविरुद्ध पनि महाभियोग लगाइएको थियो ।
युनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा फैसला गर्न कम्तीमा ६ न्यायाधीशको समर्थन आवश्यक पर्ने भएकाले अदालतमा रिक्त पदमा नियुक्ति गर्नु संवेदनशील थियो । तर हानका उत्तराधिकारी चोई साङ–मोकले दुई नयाँ न्यायाधीश नियुक्त गरे पनि एक सिट खाली छोडे । हान र चोई दुवैले अदालतमा न्यायाधीश थप्न दुई दलीय सहमति आवश्यक पर्ने उल्लेख गरेका थिए । तर आलोचकहरूले दुवै जना युनको पिपुल पावर पार्टीको पक्षमा रहेको र यसले युन सत्तामा फर्कने सम्भावना बढ्ने बताएका थिए । जसका कारण मुख्य उदारवादी विपक्षी डेमोक्रेटिकसँगै अन्य साना विपक्षी दलले चोईमाथि महाभियोग प्रस्ताव पेस गरेका छन् ।
