विरोधीलाई तह लगाउँदै तुर्किएका राष्ट्रपति इर्दोगान

प्रमुख प्रतिद्वन्द्वी तथा इस्तानबुलका मेयर भ्रष्टाचारको आरोपमा पक्राउ

चैत्र ११, २०८१

एजेन्सी

President Erdoğan, the Turkish president, has defeated the opposition

इस्तानबुल — तुर्किएका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख प्रतिद्वन्द्वी तथा इस्तानबुल सहरका मेयर एकरेम इमामोग्लुलाई औपचारिक रूपमा पक्राउ गरी भ्रष्टाचारको आरोप लगाइएको छ । तुर्किएको एक अदालतले आइतबार इमामोग्लुलाई पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धी मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिएको छ । उनलाई गत बुधबार हिरासतमा लिइएको थियो ।

इमामोग्लुलाई सन् २०२८ को राष्ट्रपतीय चुनावमा विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले आधिकारिक उम्मेदवारमा चयन गर्ने अपेक्षा गरिएको छ । इमामोग्लुले आफूमाथिका आरोप अस्वीकार गरेका छन् । ‘म कहिल्यै झुक्ने छैन,’ हिरासतमा लिइएपछि उनले भनेका थिए । अभियोजनकर्ताले इमामोग्लुमाथि ‘आपराधिक संगठन स्थापना र व्यवस्थापन गरेको, घूस लिएको, जबर्जस्ती रकम असुलेको, गैरकानुनी रूपमा व्यक्तिगत तथ्यांक रेकर्ड गरेको र टेन्डर प्रक्रियामा धाँधली गरेको’ आरोप लगाइएको छ । 

यसअघि इमामोग्लुलाई ‘सशस्त्र आतंकवादी संगठनलाई सहयोग गरेको’ आरोप पनि लगाइएको थियो । तर अदालतले भ्रष्टाचारको आरोपमा पहिले नै पक्राउ परेका इमामोग्लुलाई ‘उक्त मुद्दामा पक्राउ गर्नु आवश्यक नठानिएको’ जनाएको थियो । गत वर्षको स्थानीय चुनावमा सीएचपीको कुर्दिश समर्थक पिपुल्स इक्वालिटी एन्ड डेमोक्रेसी पार्टी (डीईएम) सँग गठबन्धन गरेको थियो । डीईएमलाई कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) सँग सम्बद्ध भएको आरोप लगाइएको छ । तर सीएचपी त्यसलाई अस्वीकार गरेको छ । 

सन् १९८४ देखि तुर्किएविरुद्ध विद्रोह गरेको पीकेकेले युद्धविराम घोषणा गरेको छ । यसलाई तुर्किए, युरोपेली संघ, बेलायत र अमेरिकाले आतंकवादी समूह घोषित गरेका छन् । इमामोग्लुको पक्राउपछि समर्थकले चार रातसम्म गरेको विरोध प्रदर्शन एक दशकयता तुर्किएमा देखिएको सबैभन्दा ठूलो प्रदर्शन हो । शनिबार इस्तानबुलमा मेयरको कार्यालयबाहिर विरोध प्रदर्शन सुरु हुनुअघि नै अश्रुग्यास प्रहार गरिएको थियो । साँझ पर्दै गएसँगै भीड बढेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएपछि सास फेर्न गाह्रो भएको थियो ।

सबै उमेरका मानिसले ‘अधिकार, कानुन र न्याय’ को नारा लगाउँदै गैरकानुनी थुनाको विरोध गर्न सरकारले लगाएको प्रतिबन्ध अस्वीकार गरेका थिए । प्रदर्शनमा सहभागीले आफूहरूले राजनीतिक कारण वा विपक्षीको समर्थक भएकाले नभई लोकतन्त्रको रक्षाका लागि प्रदर्शनमा सहभागी भएको बताएका बीबीसीले जनाएको छ । ‘म यहाँ न्यायका लागि आएकी हुँ । स्वतन्त्रताका लागि आएकी छु । हामी स्वतन्त्र हौं र तुर्किएका मानिसहरूले यो स्वीकार गर्न सक्दैनन् । यो हाम्रो व्यवहार र संस्कृतिविरुद्ध हो,’ प्रदर्शनमा सहभागी एक महिलाले भनेकी छन् । 

अर्की महिलाले छोराको भविष्यबारे चिन्तित भएर आफ्नो ११ वर्षीय छोरालाई विरोध प्रदर्शनमा ल्याएको बताएकी छन् । ‘तुर्किएमा दिन प्रतिदिन बाँच्न गाह्रो हुँदै गइरहेको छ । हामी आफ्नो जीवन नियन्त्रण गर्न सक्दैनौं, हामी कसलाई चाहन्छौं भनेर छनोट गर्न सक्दैनौं र यहाँ वास्तविक न्याय छैन,’ ती महिलालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर ती महिलाले आफ्नो परिचय भने सार्वजनिक गर्न नचाहेको खबरमा बताइएको छ । 

शनिबार राति सडकमा निस्केका धेरैजसोले विश्वास गर्न सकिने भविष्यका लागि लडिरहेको र त्यसका लागि गिरफ्तारी दिन तयार रहेको बताएका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अंकारा र इज्मिरमा पनि व्यापक प्रदर्शनहरू भएका छन् । ती प्रदर्शनमा प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । सरकारले इस्तानबुलमा चार दिनसम्म भएका प्रदर्शनमाथि प्रतिबन्ध लगाएर दबाउन खोजेपछि देशभरि विरोध फैलिएको हो । बिहीबारयता दंगा प्रहरी र प्रदर्शनकारीबीच बारम्बार झडप भएका छन् । तुर्किएका अधिकारीहरूले प्रदर्शनको तेस्रो दिन अर्थात् शुक्रबार राति ३ सय ४३ जनालाई पक्राउ गरिएको जनाएका छन् । 

तुर्किएमा इमामोग्लुलाई इर्दोगानको सबैभन्दा शक्तिशाली राजनीतिक प्रतिद्वन्द्वीमध्ये एक मानिन्छ । उनी अनुसन्धानका लागि पक्राउ परेका अन्य राजनीतिज्ञ, पत्रकार र व्यवसायी सहित सयभन्दा बढी व्यक्तिमध्ये एक हुन् । 

गिरफ्तारी हुनुभन्दा एक दिनअघि इस्तानबुल विश्वविद्यालयले कथित अनियमितताका कारण इमामोग्लुको डिग्री रद्द गर्ने घोषणा गरेको थियो । उक्त कार्य उनलाई राष्ट्रपतिको उम्मेदवार हुन नदिन चालिएको अनुमान गरिएको छ । तुर्किएको संविधानअनुसार राष्ट्रपतिहरूले पद धारण गर्न उच्च शिक्षा पूरा गरेको हुनुपर्छ । इर्दोगानले विगत २२ वर्षदेखि टर्कीको प्रधानमन्त्री र राष्ट्रपति दुवैको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । तर कार्यकालको सीमाका कारण संविधान परिवर्तन नगरेसम्म उनी २०२८ मा फेरि उम्मेदवार हुन सक्दैनन् ।

विपक्षीहरूले बुधबारका गिरफ्तारी राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । तर न्याय मन्त्रालयले न्यायिक स्वतन्त्रतामा जोड दिँदै इर्दोगानलाई गिरफ्तारीसँग जोड्नेहरूको आलोचना गरेको छ ।

एजेन्सी

Link copied successfully