दक्षिण कोरियाली अदालतद्वारा हानलाई कार्यबाहक राष्ट्रपतिमा पुनर्स्थापित 

चैत्र ११, २०८१

एजेन्सी

Han reinstated as acting president by South Korean court

सोल — दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार प्रधानमन्त्री हान डक-सुमाथिको महाभियोग उल्ट्याउँदै कार्यवाहक राष्ट्रपतिमा पुनर्स्थापित गरेको छ । तर अदालतले राष्ट्रपति युन सुक यओलमाथिको महाभियोगबारे भने अझै फैसला गरेको छैन ।

अदालतले सोमबार गरेको फैसलाले युनको महाभियोगका विषयमा आगामी दिनमा हुने निर्णयबारे भने कुनै संकेत नगर्ने देखिन्छ । हान मार्सल ल लागू गर्ने पूर्वराष्ट्रपति युनको सहयोगी नभएकाले उनको मुद्दामा भने फरक मत आउने अपेक्षा गरिएको छ । 

तर अदालतको सोमबारको फैसलाले भने युनका कट्टर समर्थकलाई अझै पनि उत्साहित बनाउने र विपक्षीमाथि उनीहरूको राजनीतिक आक्रमण बढ्न सक्छ । 

युनले ३ डिसेम्बरमा अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि संसद्‌ले महाभियोग पारित गरेको थियो । त्यसपछि हान कार्यवाहक राष्ट्रपति बनेका थिए । तर विपक्षी सांसदहरूसँगको राजनीतिक कलहपछि डिसेम्बरको अन्त्यमा उनीमाथि पनि महाभियोग लगाइएको थियो । 

देशका शीर्ष दुई अधिकारीहरूलाई निलम्बन गर्ने अभूतपूर्व घटनापछि दक्षिण कोरियाली राजनीतिमा चरम विभाजन पैदा गर्‍यो । त्यसका साथै देशको कूटनीतिक र आर्थिक गतिविधिबारे पनि चिन्ता बढाएको थियो ।  त्यसयता उपप्रधानमन्त्री तथा अर्थमन्त्री चोई साङ-मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा सेवा गर्दै आएका थिए ।

सोमबार संवैधानिक अदालतका ८ मध्ये ७ न्यायाधीशले हानमाथिको महाभियोग खारेज गरेका हुन् । उनीहरूले हानमाथि लगाइएका आरोप कानूनविरुद्ध नभएको, उनलाई पदबाट हटाउन आवश्यक नभएको तथा महाभियोग प्रस्ताव पारितका लागि आवश्यक गणपुरक संख्या नपुगेको जनाए । तर एक न्यायाधीशले भने हानमाथिको महाभियोगको समर्थन गरेका कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् । 

एजेन्सी

Link copied successfully