हमासले बन्धक मुक्त नगरे गाजा क्षेत्र पूर्णरूपमा ध्वस्त पार्ने इजरायलको चेतावनी 

चैत्र ७, २०८१

एजेन्सी

जेरुसलेम — इजरायलले प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकहरू मुक्त नगरे गाजा क्षेत्रलाई पूर्णरूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल कात्जले गाजाका स्थानीयलाई क्षति पुर्‍याउने कुनै नियत नभएको तर बन्धकहरूको रिहाइमा कुनै सम्झौता नगर्ने चेतावनी दिएका सीबीएस न्युजले जनाएको छ । 

'गाजाका बासिन्दाहरू, यो अन्तिम चेतावनी हो,' उनले एक भिडियोमा भनेका छन्, 'यदि सबै इजरायली बन्धकहरूलाई रिहा गरिएन र गाजाबाट हमासलाई हटाइएन भने इजरायलले तपाईंले पहिले कहिल्यै नगरेको शक्ति प्रयोग गर्नेछ। अमेरिकी राष्ट्रपतिको सल्लाह लिनुहोस् । बन्धकहरूलाई फिर्ता गर्नुहोस् र हमासलाई हटाउनुहोस् ।' त्यसो गरेको खण्डमा गाजाबासीका लागि अन्य विकल्पहरू खुला हुने उनको भनाइ छ । 

यसै साताको सुरूमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण शक्तिका साथ लडाईं गर्ने’बताएका थिए । पछिल्ला आक्रमण ‘सुरुवात मात्र’ भएको उनको भनाइ छ । उनको चेतावनीसँगै इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा आक्रमण तीव्र पारेको छ । 

विगत तीन दिनमा आईडीएफले गरेका आक्रमणमा कम्तिमा ५ सय १५ प्यालेस्टीनको ज्यान गइसकेको छ । करिब ७ सय घाइते भएका छन् । 

बीबीसीका अनुसार आईडीएफले बुधबार राति र बिहीबार बिहान दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियामा आक्रमण तीव्र पारेको छ । ती आक्रमणमा कम्तीमा ८५ जना मारिएका छन् । आईएफडीले गत सोमबार र मंगलबार गरेका आक्रमणमा ४ सय ३० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका थिए । मारिनेमध्ये सयभन्दा बढी बालबालिका तथा महिला छन् । 

तीन दिनयता गरिएका आक्रमण १९ जनवरीमा दुई पक्षबीचको युद्धविराम सम्झौता लागू भएयताकै भीषण हो ।  उक्त सम्झौतामा युद्धविराम तीन चरणमा लागू हुने उल्लेख छ । युद्धविरामको पहिलो चरणमा नै दोस्रो चरणबारे वार्ता हुने भनिएको थियो । तर उक्त वार्ता हुन नसक्दा युद्ध पुन: चर्केको हो । 

इजरायल र अमेरिकाले पहिलो चरणको अवधि बढाउन जोड दिएका थिए । उक्त अवधिमा थप प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धक रिहा गर्ने उनीहरूको प्रस्ताव थियो । तर त्यसमा हमास सहमत नभएपछि युद्ध पुन: चर्केको हो । 

नेतान्याहुले बाँकी बन्धकहरूको फिर्तीका लागि लडाइँ पुनः सुरू गर्नुपरेको बताएका छन् । तर बन्धकहरूका परिवारहरूले नेतान्याहुको निर्णयको आलोचना गरेका छन् । सरकारले आफ्ना प्रियजनहरूको वेवास्था गरेको उनीहरूको भनाइ छ । 

एजेन्सी

Link copied successfully