पेरिस — दुई वर्षभन्दा लामो समयदेखि इरानी जेलमा रहेका फ्रान्सेली रिहा भएका छन् । रिहा भएका ३४ वर्षीय ओलिभर ग्रोन्डो अक्टोबर २०२२ देखि इरानी जेलका थिए ।
दक्षिणी इरानमा पक्राउ परेका ग्रोन्डोलाई ‘इस्लामिक गणतन्त्रविरुद्ध षड्यन्त्र’ गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । तर उनको परिवारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले गोन्डोको रिहाइ भएको पुस्टि गर्दै उनी स्वतन्त्र भएको बताएका छन् । ‘३४ वर्षीय ग्रोन्डोले आफ्ना प्रियजनसँग भेटघाट गरिसक्नुभएको छ,’ म्याक्रोंले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । इरानमा रहेका अन्य नागरिकको रिहाइका लागि पनि पहल भइरहेको म्याक्रोंको भनाइ छ । ‘इरानले हिरासतमा लिएका अन्य दुई फ्रान्सेली नागरिकको रिहाइ सुनिश्चित गर्न हाम्रो निरन्तर प्रयास रहनेछ,’ उनले भनेका छन् ।
फ्रान्सेली विदेशमन्त्री ज्याँ नोएल बारोटले ‘एक्स’ मा एक विज्ञप्ति जारी गर्दै ग्रोन्डोको विमानभित्रको तस्बिर पोस्ट गरेका छन् । ‘इरानमा ८ सय ८७ दिनसम्म बन्धक बनाइएका ग्रोन्डोको आफ्नो परिवार, प्रियजन र आफ्नो देशसँग पुनर्मिलन भएको छ । यो ठूलो राहत हो,’ उनले लेखेका छन् ।
जनवरीमा पक्राउ परेपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै, ग्रोन्डोले इरानी अधिकारीहरूले उनलाई ‘बन्धक’ बनाएको बताए । उनको परिवारले उनलाई फारसी कविताको प्रशंसक भएको र विश्व भ्रमणका क्रममा पर्यटक भिसामा इरान पुगेको जनाएको छ ।
अन्य दुई फ्रान्सेली नागरिक हाल इरानमा हिरासतमा छन् । शिक्षिका सेसिल कोहलर र उनका साथी ज्याक पेरिसलाई मे २०२२ मा पक्राउ गरिएको थियो । उनीहरूमाथि मजदुर आन्दोलन चर्काउन खोजेको आरोप लगाइएको छ । तर उनीहरूका परिवारले त्यसको खण्डन गरेका छन् ।
उनीहरूको स्वास्थ्यबारे बढ्दो चिन्ता छ र फ्रान्सले उनीहरूको रिहाइका लागि बारम्बार पैरवी गर्दै आएको छ । ‘सेसिल कोहलर र ज्याक पेरिसलाई इरानी जेलबाट मुक्त गर्नुपर्छ, फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बिहीबार आफ्नो पोस्टमा भने ।
मानवअधिकार समूहहरूले पर्यटक र दोहोरो नागरिकता भएकाहरूलाई प्रायः कूटनीतिक वार्तामा केही माग पूरा गर्नका लागि राख्ने गरिएको र बदलामा केही पाउने भएमात्र रिहा गर्ने गरिएको बताउँछन् ।
बेलायती विदेश मन्त्रालयले बेलायती जोडी क्रेग र लिन्डसे फोरम्यान इरानी हिरासतमा राखिएको गत महिना पुस्टि गरेको थियो । उनीहरूलाई जासुसीको आरोप लगाइएको छ । इरानी सरकारी सञ्चार माध्यमले उनीहरूलाई दक्षिण-पूर्वी सहर केरमानमा राखिएको जनाएका छन् ।
जनवरीमा २९ वर्षीया इटालियन पत्रकार सेसिलिया साला इरानी जेलमा केही साता बिताएपछि रोम फर्किएकी थिइन् । उनलाई तेहरानको कुख्यात एभिन जेलमा एकान्त कारावासमा राखिएको थियो ।
