रुसद्वारा युक्रेनका दुई अस्पतालमा आक्रमण 

चैत्र ६, २०८१

एजेन्सी

Russia attacks two hospitals in Ukraine

किभ — रुसी सेनाले बुधबार युक्रेनका दुई अस्पतालमा आक्रमण गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महिना लामो युद्धविराम प्रस्ताव अस्वीकार गरेसँगै रुसी सेनाले युक्रेनको सुमी क्षेत्रका अस्पतालमा आक्रमण गरेको हो । 

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको केही घण्टामा सुमी सहरको एक अस्पतालमा ड्रोन आक्रमण भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । बीबीसीका अनुसार आक्रमणको समयमा उक्त अस्पतालमा १ सय ४७ बिरामी र २२  कर्मचारीहरू थिए । 

त्यसको केही घण्टामा रुसले क्षेत्रीय सहर क्रास्नोपिल्याको अस्पतालमा ६ ड्रोन प्रहार गरेको हो ।युक्रेनी अधिकारीका अनुसार आक्रमणका बेला अस्पतालमा ४९ बिरामी र ११ कर्मचारी थिए । युक्रेनी अधिकारीहरूले आक्रमणका कारण अस्पतालमा भवनमा ठूलो क्षति पुगेको जनाएका छन् । तर मानवीय क्षति भने नभएको उनीहरूको भनाइ छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबारको टेलिफोन वार्तामा पुटिनले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएका थिए । तर उनले अमेरिकाले राखेको ३० दिने युद्धविराम भने अस्वीकार गरेका थिए । 

तर पुटिनले ३० दिनको अविधमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने बताएका छन् । त्यस्तै, ट्रम्प र पुटिनबीच 'ब्ल्याक सी'मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

दुई राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा बुधबारदेखि रुस र युक्रेनले १ सय ७५ युद्धबन्दीहरू साटासाट गर्ने सहमति भएको छ । त्यसमा रुसले आफ्नो देशमा उपचार भइरहेका गम्भीर घाइते २३ युक्रेनी सैनिकहरू हस्तान्तरण गर्नेछ ।

दुवै राष्ट्रपतिले मध्यपूर्वमा भविष्यमा हुनसक्ने द्वन्द्वहरू रोक्न सम्भावित सहयोगबारे पनि छलफल गरेका सीएनएनले जनाएको छ । वार्ताका क्रममा 'रणनीतिक हतियारको प्रसार रोक्नु आवश्यक भएको' विषयमा कुराकानी भएको छ । त्यस्तै, ट्रम्प र पुटिनबीच इरानले इजरायललाई ध्वस्त पार्ने उद्देश्य राख्न नहुनेमा पनि सहमति भएको छ ।

दुई नेताहरूबीचको फोन वार्तापछि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले रुसी राष्ट्रपति पुटिनले राखेको अमेरिका-रूस हक्की खेल आयोजना गर्ने प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले समर्थन गरेको जनाएको छ । 'डोनाल्ड ट्रम्पले एनएचएल र केएचएलमा खेल्ने रुसी र अमेरिकी खेलाडीबीच अमेरिका र रूसमा हक्की खेल आयोजना गर्ने भ्लादिमिर पुटिनको विचारलाई समर्थन गर्नुभएको छ,' क्रेमलिनले भनेको छ ।

एजेन्सी

Link copied successfully