अमेरिकी आक्रमणमा कम्तीमा ५३ जनाको मृत्यु
वासिङ्टन — अमेरिकाले लाल सागरमा पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको यमनस्थित हुथीविरुद्धको कारबाही तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमान्डले सोमबार आफ्ना सेनाले हुथी विद्रोही समूहका अल जौफ र हुदैदाह क्षेत्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।
अमेरिकाले आइतबार र सोमबार गरेका आक्रमणमा ५३ जनाको ज्यान गएको छ । हुथीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिश अल–अस्बाहीले सामाजिक सञ्जाल एक्समा ‘पाँच बालबालिका र दुई महिलासहित ५३ जनाको ज्यान गएको’ बताएका छन् । उनका अनुसार ९८ जना घाइते भएका छन् ।
अमेरिकाले आक्रमणमा केही प्रमुख हुथी नेताहरू मारिएको दाबी गरेको छ । तर यसबारे हुथी समूहले कुनै पुष्टि गरेको छैन । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबीसी न्युजसँग अमेरिकी आक्रमणमा ‘धेरै हुथी नेतालाई लक्षित गरिएको’ जनाएका छन् । ‘हामीले उनीहरूलाई अत्यधिक बल प्रयोग गरेर प्रहार गर्यौं र इरानलाई अब अति भयो भनेर कडा चेतावनी दियौं,’ उनले भने । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हुथी आक्रमणहरू बन्द नभएसम्म अमेरिकाले कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।
लाल सागरमा पानीजहाजमाथि आक्रमण गरेका कारण हुथीविरुद्ध कारबाही सुरु गर्नुपरेको ट्रम्पको भनाइ छ । ‘हुथीले इरानको आर्थिक सहयोगमा अमेरिकी विमानमा क्षेप्यास्त्र प्रहार गरेका छन् । हाम्रा सेना र सहयोगीलाई लक्षित गरेका छन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् । हुथीको ‘डकैती, हिंसा र आतंकवादका कारण अर्बौं डलर खर्च भएको र जीवनलाई जोखिममा पारेको’ ट्रम्पको भनाइ छ ।
गाजामा इजरायल र हमासबीचको युद्धको प्रतिक्रियामा लाल सागरबाट हुने ढुवानीलाई लक्षित गर्न थालेको हुथी समूहले अमेरिकी आक्रमणको जवाफ दिने बताएको छ । हुथी विद्रोहीको गढ रहेको साना र उत्तरी प्रान्त सादामा शनिबार साँझ शृंखलाबद्ध विस्फोट भएको हुथीले जनाएका छन् । उनीहरूको गढ रहेको सादा साउदी अरबको सीमा क्षेत्रमा पर्छ ।
इरान समर्थित हुथीले साना र यमनको उत्तर–पश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ । तर यो यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार भने होइन । हुथी समूहले जारी गरेको विज्ञप्तिमा यमनको राजधानी सानामा आवासीय क्षेत्रलाई लक्ष्य गर्दै आक्रमण भएको र त्यसका लागि अमेरिका र बेलायतलाई दोष लगाइएको छ ।
शनिबार हुथीलक्षित आक्रमणमा संलग्न नभएको बेलायतले अमेरिकालाई नियमित रूपमा इन्धन भर्न सहयोग गरेको थियो । हुथी विद्रोहीले लाल सागरमा आफ्नो आतंक नरोके विनाश गर्ने ट्रम्पले चेतावनीसमेत दिएका छन् । त्यस्तै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले हुथीलाई आर्थिक सहयोग नदिन इरानलाई चेतावनी दिएका छन् ।
हुथी समूहले अमेरिकी आक्रमणले प्यालेस्टिनीप्रतिको समर्थन कम नहुने जवाफ दिएको छ । ‘यसको जवाफ अवश्य दिइनेछ । यमनमा रहेका हाम्रा सशस्त्र बल यो आक्रामकताविरुद्ध जवाफ दिनका लागि तयार छन्,’ हुथीले भनेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी सरकारलाई इरानी विदेश नीतिलाई निर्देशन दिने कुनै अधिकार नभएको चेतावनी दिएका छन् । ‘इजरायली नरसंहार र आतंकवादलाई समर्थन गर्न बन्द गर,’ उनले आइतबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यमनी जनताको हत्या बन्द गर ।’
गाजामा इजरायल र हमासबीचको युद्धमा प्यालेस्टिनीको समर्थनमा काम गरिरहेको हुथीको भनाइ छ । आफूहरूले इजरायल, अमेरिका वा बेलायतसँग सम्बन्धित जहाजलाई मात्र लक्षित गरिरहेको आरोप झूटो
भएको हुथीको भनाइ छ । नोभेम्बर २०२३ यता हुथीले लाल सागर र एडेनको खाडीमा क्षेप्यास्त्र र ड्रोनको सहयोगमा दर्जनौं व्यापारिक जहाज तथा र साना डुंगामा आक्रमण गरेका छन् । यस अवधिमा हुथीले दुई जहाज डुबाइदिएका छन् भने अर्को जहाजलाई कब्जामा लिएर चालक दलका चार सदस्यको हत्या गरेका छन् ।
हुथी आतंकका कारण प्रमुख ढुवानी कम्पनी लाल सागरको वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् । विश्वव्यापी रूपमा समुद्री मार्गबाट हुने व्यापारको करिब १५ प्रतिशत लाल सागरको बाटोबाट हुन्छ । तर हुथीको आक्रमणपछि ढुवानी कम्पनीले दक्षिणी अफ्रिका वरिपरिको लामो मार्ग प्रयोग गर्न थालेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी झन्डावाहक जहाज लाल सागर जाने स्वेज नहरबाट सुरक्षित रूपमा यात्रा गरेको एक वर्षभन्दा बढी भइसकेको बताएका छन् । त्यस्तै, अमेरिकी युद्धपोत पूर्वी अफ्रिका र अरब प्रायद्वीपबीचबाट चल्न थालेको पनि चार महिना भइसकेको उनको भनाइ छ । स्वेज नहर एसिया र युरोपबीचको सबैभन्दा छोटो समुद्री मार्ग हो । यो मार्ग तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानीका लागि महत्त्वपूर्ण छ ।
हुथीलाई सिधै सम्बोधन गर्दै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिमीहरूले हालसम्म कहिल्यै नदेखेको जस्तो नर्क तिमीहरूमाथि वर्षा हुनेछ ।’ तर हुथीले भने अमेरिकी चेतावनीले प्यालेस्टिनीप्रतिको समर्थनमा कुनै कमी नआउने प्रतिक्रिया दिएको छ । ‘यो आक्रामकता प्रतिक्रियाबिना जाने छैन र हाम्रा यमनी सशस्त्र सेनाहरू प्रतिक्रिया दिन तयार छन्,’ समूहले भनेको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुराकानी गरेका थिए । त्यसक्रममा रुबियोले हुथीविरुद्ध सैन्य कारबाहीका विषयमा पनि छलफल गरेका थिए । ‘लाल सागरमा अमेरिकी सैन्य र व्यावसायिक ढुवानी जहाजमा हुथीको निरन्तर आक्रमण सहन सकिँदैन,’ रुबियोले भनेका छन् । रुसी विदेशमन्त्री लाभरोभले भने ‘बल प्रयोग तत्काल बन्द गर्न र थप रक्तपात रोक्ने समाधान खोज्न सबै पक्षले राजनीतिक संवादमा संलग्न हुनुपर्ने’ बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी कंग्रेसका अनुसार नोभेम्बर २०२३ देखि अक्टोबर २०२४ सम्ममा हुथीले लाल सागरमा १ सय ९० वटा आक्रमण गरेका थिए । यसअघि, बेलायत र अमेरिकाले हुथीविरुद्ध संयुक्त नौसेना र हवाई आक्रमण गरेका थिए । इजरायलले छुट्टाछुट्टै आक्रमणमा हुथीसँग सम्बन्धित अखडालाई पनि लक्षित गरेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले हुथीका लागि गर्दै आएको समर्थन बन्द गर्न इरानलाई चेतावनी दिएका थिए । ‘त्यसो नगरे वासिङ्टनले तेहरानलाई पूर्ण रूपमा जवाफदेही बनाउनेछ र त्यसप्रति हामी राम्रो हुने छैनौं,’ उनले भनेका थिए । ट्रम्पले जो बाइडेनको नेतृत्वमा रहेको अघिल्लो ह्वाइट हाउस प्रशासन ‘दयनीय रूपमा कमजोर’ भएको र ‘अनियन्त्रित हुथीलाई’ आतंक जारी राख्न अनुमति दिएको आरोप पनि लगाएका छन् ।
यमनको उत्तर–पश्चिमी भेगको अल्पसंख्यक जैदी (सिया मुस्लिमअन्तर्गत) को सम्प्रदायका हुसैन अल–हुथीले सन् १९९० को दशकमा ‘अन्सर अल्लाह’ स्थापना गरेका थिए । यमनको सशस्त्र राजनीतिक तथा विद्रोही समूह अन्सर अल्लाहले हुसैनको नेतृत्वमा उत्तरी यमनस्थित आफ्नो क्षेत्रको स्वतन्त्रताका लागि युद्ध लडेको थियो । तर सन् २००४ मा युद्धका क्रममा हुसैन मारिएपछि अन्सर अल्लाहको नाम ‘हुथी’ राखिएको हो । हाल यो समूहको नेता हुसैनका भाइ अब्दुल मलिक अल–हुथी हुन् ।
हुथी समूहले आफूलाई इरान नेतृत्वको ‘एक्सिस अफ रेसिस्टेन्स’ को महत्त्वपूर्ण अंग बताउँछ । एक्सिस अफ रेसिस्टेन्समा सिरिया, लेबनानी सिया विद्रोही समूह हेजबोल्लाह र विभिन्न प्यालेस्टिनी विद्रोही समूह आबद्ध छन् । हुथीले हाल यमनी राजधानी साना र उत्तर–पश्चिमी भूभागमा नियन्त्रण कायम गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकार भने दक्षिणी बन्दरगाह सहर अदेनमा सीमित छ ।
अक्टोबर २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि नै यमनका हुथी विद्रोही इजरायल र उसका निकट सहयोगी अमेरिका, यूकेलगायतका पश्चिमा मुलुकप्रति आक्रामक देखिएका थिए । त्यसयता हुथीले स्वेज नहर कटेर आउने कार्गो जहाजमाथि फाट्टफुट्ट क्षेप्यास्त्र आक्रमण गर्दै आएको थियो । तर १४ नोभेम्बरमा पहिलो पटक हुथी समूहका नेता अब्दुलले लाल सागर भएर जाने इजरायली जहाजलाई रोक्ने घोषणा गरेका थिए । त्यसलगत्तै १९ नोभेम्बरमा हुथीले इजरायलको स्वामित्वमा रहेको ग्यालेक्सी लिडर नामक कार्गो जहाजलाई लाल सागरमै सैन्य आक्रमण गरेर कब्जामा लिए । त्यो बेला २२ जनालाई बन्धकसमेत बनाएका थिए ।
त्यसपछि हुथीले विशेषतः अमेरिकी र इजरायली ठेगानामा हिँडेका जहाजमा निरन्तर ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्न सुरु गरे । इजरायलले गाजामा खाद्यान्न र औषधिजस्ता मानवीय आपूर्ति रोक्ने हो भने आफूहरूले पनि लाल सागर हुँदै जाने सबै इजरायल, अमेरिका तथा बेलायती जहाज रोक्ने हुथीको भनाइ छ ।
