जेरुसेलम — इजरायली सेनाले गाजा पट्टीमा भीषण हवाई आक्रमण सुरु गरेको छ ।
इजरायल रक्षा बल (आईडीएफ)ले विज्ञप्ति जारी गर्दै हमाससँग सम्बन्धित 'आतंककारीलाई लक्षित गर्दै' आक्रमण पुन: सुरु गरेको जनाएको छ ।
बीबीसीका अनुसार मध्य गाजाको देर अल-बलाहमा तीनवटा घर, गाजा सिटीमा एक भवन तथा खान युनिस र राफाहमा हवाई आक्रमण गरिएको जनाएको छ ।
यो गाजामा जनवरी १९ मा भएको युद्धविरामपछि सबैभन्दा ठूलो हवाई आक्रमण हो । गाजा युद्ध विरामको अवधि विस्तार गर्नका लागि भएका वार्ता असफल भएका छन् ।
इजरायली प्रधानमन्त्रीको कार्यालयको एक विज्ञप्तिमा 'प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल कात्जले मंगलबार बिहान हवाई आक्रमणका लागि आदेश दिएको' उल्लेख छ ।
'हमासले हाम्रा बन्धकहरू मुक्त गर्न निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेषदूत स्टीभ विटकफ र मध्यस्तकर्ताहरूले राखेको प्रस्तावको अस्वीकृति पछिको प्रतिक्रिया हो,' विज्ञप्तिमा भनिएको छ, 'अबदेखि इजरायलले हमासविरुद्ध बढ्दो सैन्य शक्तिको प्रयोग गर्नेछ ।'
आक्रमणको योजना 'आईडीएफले सप्ताहन्तमा प्रस्तुत गरेको र राजनीतिक नेतृत्वले स्वीकृत गरेको' भनिएको छ ।
पहिलो चरणको अस्थायी युद्धविरामको अवधि १ मार्चमा समाप्त भएपछि, वार्ताकारहरूले अर्को कदमको खोजी गर्दै थिए । अमेरिकाले युद्धविरामको पहिलो चरणलाई मध्य-अप्रिलसम्म विस्तार गर्ने प्रस्ताव गरेको थियो, जसमा हमासद्वारा बन्धकहरूको मुक्ति र इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको थप रिहाइ समावेश थियो ।
तर, वार्तामा संलग्न एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार इजरायल र हमासबीच उक्त सम्झौतामा केही महत्त्वपूर्ण बुँदामा असहमत भएका छन् ।
