वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् । ‘सप्ताहन्तमा धेरै काम भइसकेको छ । हामी युद्ध अन्त्य गर्न सक्छौं कि सक्दैनौं भनेर हेर्न चाहन्छौं,’ ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग भने, ‘सायद सक्छौं, सायद सक्दैनौं । तर मलाई लाग्छ कि हामीसँग धेरै राम्रो मौका छ ।’
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि दुई नेताबीच मंगलबार कुराकानी हुने योजनाको पुस्टि गरेका छन् । तर उनले यसबारे विस्तृत विवरण नदिएका सीबीएस न्युजले जनाएको छ ।
अमेरिका र युक्रेनका प्रतिनिधिहरूले साउदी अरबमा भेटेर ३० दिने युद्धविरामको प्रस्ताव घोषणा गरेको एक सातापछि दुई नेताबीच कुराकानी हुन लागेको हो । पुटिनले सिद्धान्ततः युद्धविरामको अवधारणा स्वीकार गरेको बताए पनि त्यसमा थप छलफल गर्न आवश्यक रहेको बताइसकेका छन् ।
‘विचार आफैंमा सही छ, र हामी निश्चित रूपमा यसलाई समर्थन गर्छौं,’ पुटिनले गत साता मस्कोमा एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘तर त्यहाँ केही मुद्दाहरू छन्, जुन हामीले छलफल गर्न आवश्यक छ र मलाई लाग्छ कि हामीले हाम्रा अमेरिकी सहकर्मीहरू र साझेदारहरूसँग यसबारे छलफल गर्न आवश्यक छ ।‘
मध्यपूर्वका लागि राष्ट्रपति ट्रम्पका विशेषदूत स्टिभ विटकफले गत साता रुसी राजधानी मस्कोमा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए । ‘हामीले त्यो बैठकमा धेरै प्रगति गर्यौं,’ विटकफले आइतबार भनेका थिए, ‘हामीले धेरै विशिष्ट विषयमा कुरा गर्यौं । हामीले रुस र युक्रेनबीचका मुद्दाहरूलाई कम गरेका छौं, मेरो विचारमा धेरै प्रगति गरेका छौं ।’
ट्रम्पले पुटिनसँगको कुराकानीमा केही विशिष्ट सम्पत्तिहरूबारे छलफल हुने बताएका छन् । ‘हामी जग्गाको बारेमा कुरा गर्नेछौं । हामी पावर प्लान्टहरूबारे कुरा गर्नेछौं । त्यो एउटा ठूलो प्रश्न हो, ट्रम्पले भने, ‘तर मलाई लाग्छ कि हामीबीच पहिले नै धेरै छलफल भइसकेको छ ।’
रुसले २४ फेब्रुअरी २०२२ मा पूर्ण-स्तरीय आक्रमण सुरू गरेपछि युक्रेनका दोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिजा गरी चार क्षेत्र नियन्त्रणमा लिएको छ । रुसले नियन्त्रणमा लिएको जापोरिजामा युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट अवस्थित छ ।
