जेफर्सन सिटी, मिसौरी — अमेरिकाको दक्षिणी क्षेत्रका ६ राज्यमा आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । सीबीएस न्युजका अनुसार ज्यान गुमाउनेहरू मिसौरी, कान्सस, अर्कान्सस, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्यका हुन् ।
बीबीसीका अनुसार मिसौरी राज्यमा मात्रै १२ जनाले ज्यान गुमाएका हुन् । मिसौरीमा सयौं आवासीय घर तथा व्यवसायिक स्थलहरु ध्वस्त भएका छन् । टेक्सास र कान्ससमा शक्तिशाली हावाले धुलोको आँधी चलाएका कारण सवारी साधनहरू ठोक्किएर कम्तीमा १२ जनाको ज्यान गएको छ ।
ओक्लाहोमामा लगभग १ सय ५० घातक डढेलो निम्ताएको छ । अर्कान्सस, अलाबामा र मिसिसिपीमा पनि मृत्यु भएको रेकर्ड गरिएको छ । टेक्सास, लुजियाना, अलाबामा, अर्कान्सास, टेनेसी, मिसिसिपी, जर्जिया, केन्टकी र उत्तरी क्यारोलाइनाको केही भागमा बाढीको चेतावनी जारी गरिएको थियो ।
आँधीका कारण ३ लाख २० हजार भन्दा बढी मानिसहरू बिजुलीविहीन भएका जनाइएको छ । अर्कान्सास, जर्जिया र ओक्लाहोमामा आपतकालीन अवस्था घोषणा गरिएको छ । मिसौरीका गभर्नर माइक केहोले ‘राज्यभर विनाशको अवस्था अचम्मलाग्दो भएको’ बताएका छन् । ‘सयौं घर, विद्यालय र व्यवसायहरू या त नष्ट भएका छन् वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्,’ उनले भनेका छन् ।
ओक्लाहोमा राज्यमा १ सय ३३ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाका कारण लगभग १ सय ५० स्थानमा डढेलोले निम्त्याएको छ । हावाहुरीका कारण दर्जनौं लरीहरू पल्टिएका छन् । राज्यका प्रमुख मेडिकल परीक्षकले आगलागी वा तीव्र हावाका कारण कम्तिमा चार जनाको मृत्यु भएको बताएका छन् ।
१ लाख ७० हजार एकड क्षेत्रमा फैलिएको आगालागीका कारण राज्यका गभर्नर केभिन स्टिटको स्वामित्वमा रहेको फार्महाउससहित लगभग ३ सय संरचना नष्ट पारेको छ । कान्ससमा धुलोको आँधीका कारण ५५ भन्दा बढी सवारी साधनहरू ठोक्किएपछि कम्तिमा ८ जनाको मृत्यु भयो ।
टेक्सासमा धुलोको आँधीले लगभग ३८ कारहरूलाई एकै स्थानमा थुप्राइदिएको छ । उक्त घटनामा कम्तिमा चार जनाको मृत्यु भयो । मिसिसिपीमा आँधीबेहरीका कारण ६ जनाको मृत्यु भएको छ । अलाबामामा ८२ वर्षीया महिला सहित अन्य ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अर्कान्सासमा अधिकारीहरूले तीन जनाको मृत्यु र २९ जना घाइते भएको जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीको प्रतिक्रियामा सहयोग गर्न राष्ट्रिय गार्डलाई अर्कान्सासमा खटाइएको बताएका छन् । ‘कृपया यी भयानक आँधीबेहरीबाट प्रभावित सबैका लागि प्रार्थना गर्न मेलानिया र मसँग सामेल हुनुहोस्,’ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन् ।
