फ्लोरिडा — अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ९ महिनादेखि अड्केका अन्तरीक्षयात्री सुनिता विलियम्स ‘सुनी’ र ब्यारी विलमोर ‘बुच’ मंगलबार पृथ्वीमा फर्कने भएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘सुनी’ र ‘बुच’लाई स्पेसएक्स यानमा मंगलबार साँझ फर्काउन लागिएको जनाएको छ ।
उनीहरु आइतबार बिहान अन्तरिक्षमा पुगेका अमेरिका र रुसका अन्तरिक्ष यात्रीसँगै स्पेसएक्स यानमा पृथ्वीमा फर्कने भएका हुन् । उक्त यान अमेरिकाको फ्लोरिडास्थित तटमा मंगलबार साँझ ५ बजेर ५७ मिनेटमा अवतरण गर्ने अनुमान गरिएको छ ।
आठ दिनका लागि भनेर पृथ्वीको सतहबाट ५ जुन २०२४ मा ४ सय ८ किमी माथि रहेको आईएसएससम्म पुगेका उनीहरू यानको पर्पल्सन प्रणालीमा समस्या आएपछि केन्द्रमा बसेका थिए भने यानलाई रित्तै फर्काइएको थियो ।
त्यहाँ रहुन्जेल उनीहरूले नासाका अन्य ४ जना र रुसी अन्तरिक्ष कार्यक्रमका ३ जना अन्तरिक्ष यात्रीसँगै खोज र अनुसन्धानका काम गरेका छन् । यसबीचमा उनीहरूले संयुक्त रूपमा 'स्पेस वाक' अर्थात् यानबाट बाहिर निस्केर अन्तरिक्षमा हिँड्ने काम गरेका छन् ।
सुनिताले अन्तरिक्षमा आफूहरू सुरक्षित, स्वस्थ र खुसी रहेको बताउने गरेकी छन् । लामो समय त्यहाँ बसेकाले शारीरिक परिवर्तन भने आएको उनको भनाइ छ । एनबीसीसँगको अन्तर्वार्तामा सुनिताले अन्तरिक्षबाट बोल्दै दिनको दुई घण्टा नियमित काम गर्ने र धेरै बेर शारीरिक अभ्यास गरिरहेको बताएकी थिइन् ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्नसाथ पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा अलपत्र पारेको आरोप लगाएका थिए । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलको पोस्टमा ट्रम्पले ‘बहादुर अन्तरिक्ष यात्रीहरूलाई बाइडेन प्रशासनले अन्तरिक्षमा अलपत्र पारेको र उनीहरूलाई इलन मस्कले ल्याउने’ बताएका थिए ।
सुनिता र बुच अन्तरिक्ष केन्द्रमा पुगेदेखि चार पटक अत्यावश्यक वस्तु पुर्याएको छ । अन्तरिक्ष केन्द्रले सामान्यतया ७ जनालाई आश्रय दिने गरेको भए पनि त्यहाँ १० जना बस्न पुग्ने क्षमता छ । सन् २००९ मा केन्द्रमा १३ जनासम्म बसेका थिए ।
